प्रधानमन्त्रीको तेस्रो मतदान अगस्त २ मा

प्रधानमन्त्रीको तेस्रो मतदान अगस्त २ मा


काठमान्डौ । आज पनि प्रधानमन्त्री निर्वाचित हुने सम्भावना नरहेपछि संसदको कार्यव्यवस्था परामर्श समितिले प्रधानमन्त्रीका लागि तेस्रो मतदान आगामी अगस्त २ तारिक ४ बजे गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक लक्ष्मण घिमिरेले बताएकाछन ।

नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री चयनका लागि हुने निर्वाचनमा भाग नलिने जनाएपछि मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना आज पनि क्षीण बनेको हो । एमालेले बुधबार नै निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको थियो भने मोर्चाले आज मात्रै निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

माओवादीले शुक्रबार हुने निर्वाचनमा ८२ सभासद रहेको मधेसी मोर्चाले साथ दिने अपेक्षा गरेको थियो । मधेसी मोर्चाले समर्थन गरेको खण्डमा २३७ सभासद रहेको माओवादीको पक्षमा बहुमत पुग्ने थियो र नयाँ प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड चुनिने सम्भावना बलियो थियो ।

अन्तिम समयमा आएर मधेसी मोर्चाले आजको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेपछि मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना न्यून बनेर गएको हो ।

कांग्रेससँग ११३, मधेसवादी चारदलसँग ८२ तथा स्वतन्त्रसहित अन्य साना दलसँग ५७ मत छ । नेपालको अन्तरिम संविधान अनुसार प्रधानमन्त्रीका प्रत्यासीले बहुमत हासिल नगरुन्जेल सम्म निर्वाचन भइरहने प्रावधान छ । -मेस, काठमान्डौ