पेरुको उत्तरी तट्मा मानव बलि दिने प्रमाण प्राप्त

पेरुको उत्तरी तट्मा मानव बलि दिने प्रमाण प्राप्त


लण्डन – मानव सभ्यताको एउटा कलंक मान्छेले मान्छेलाई आफ्नो स्वार्थको लागि देवीदेवतालाई बलि दिएर चढाउने परम्परा अथवा संस्कार आदिकालदेखि नै चलेको धेरै प्रमाणहरु इतिहासमा उल्लेख छन् । २१औं शताब्दिसम्म पनि यदाकदा मानव बलिका कुराहरु सुनिन्छ, तर, यो कानूनी हिसाबमा अपराध मानिन्छ र अपराधीलाई सजा दिइन्छ । नेपालका धेरै जातजाति र ठाउँहरुमा निर्दोष प्राणीहरुलाई भगवानलाई चढाउने निहुँमा अथवा आफ्नो चलिआएको धर्म तथा रितीरिवाजको पालना गर्ने प्रक्रियामा बलि दिने प्रथा यथावत छ र रोकिएको छैन ।
पेरुको एन्डिज पर्वतमालाको विकट स्थानमा अवस्थित सदा बादलभित्र रहने माचु पिक्चु पेरुको सुन्दर पर्यटकीय गण्तव्य हो । माचु पिक्चु विश्व सम्पदा सूचीको विश्वको सातौं अश्चर्य मध्येको एउटा अश्चर्य हो जो इंका सभ्यताको ठूलो विकासको द्योतक मानिन्छ । यसलाई विश्वले लस्ट सिटि हराएको नगरको रुपमा चिन्दछन् । इंका सभ्यता र वैभव स्पेनिसहरुको आक्रामण र प्राकृतिक प्रकोपको कारण एक शताब्दिभित्र नै लोप भएर गएको देखिन्छ । लाखौं-लाख मानिसहरु साथै पूरा नगर नै लोप हुनुको प्रष्ट कारण अझ भेटिएको छैन । इंकाको सभ्यताकालमा पनि बलिको प्रथा पाइन्छ । इंकाभन्दा पहिले यस क्षेत्रमा मोचे साम्राज्यको स्थापना भएको थियो । मोचे साम्रज्यकाल निकै लामो रहेको इतिहासकारहरु बताउँछन् । मोचेकालमा पनि मानव बलि दिने प्रचलन रहेको प्रमाण हालको उत्खननबाट प्राप्त भएको छ । यस सन्दर्भमा कतिपय इतिहासकारहरुले विभिन्न कालखण्डहरुमा यस क्षेत्रका बलिका कुराहरु उल्लेख गरेका छन् ।
दक्षिण अमेरिकाको प्राचीन प्राक कोलम्बिया सभ्यताको भग्नावशेषहरु पेरुको उत्तरी समुन्द्री तटमा हालै एउटा उत्खननबाट सामूहिक मानव अस्थिपञ्जर प्राप्त भएको समाचार प्रकाशमा आएको छ । यस क्षेत्रमा कृषि सभ्याताको प्रारम्भ इ.पू. १०० वर्षदेखि इ.खृ. आठौं शताब्दिसम्म विकास हुँदै आएको विवरण इतिहासविद्हरुले पुष्टि गरेका छन् । दक्षिण अमेरिकाको वर्तमान पेरु क्षेत्रमा सभ्यताको विकासको उचाइ धेरैमाथि पुगेको प्रमाणहरु पनि विभिन्न क्षेत्रहरुको उत्खननबाट प्राप्त अवशेषहरुले प्रमाणित गरेका छन् । हालै प्राप्त उत्खननबाट मोचे साम्राज्यकालमा मोचे समुदायमा रहेको बलि दिने परम्परालाई इंगित गरेको अड्कल भूगर्भविद्हरुले गरेका छन् । तत्कालीन् समयमा बलि दिने प्रथालाई कतिपय इतिहासकारहरुले “भेट चढाउने” सिद्धान्तको आधारमा लिएका छन् ।
ब्रुनिङ्ग संग्राहलय, पेरुका निर्देशक तथा उतखनन् प्रमुख कार्लोस वेस्टरका अनुसार त्यस ठाउँमा युद्धबन्दीहरुलाई पराम्परागत रितीअनुसार बलि चढाउने स्थान रहेको हुन सक्ने अड्कल गरेका छन् । उत्खननबाट प्राप्त विवरणबारे राइटर्सका संवाददाताहरुलाई वेस्टरले ठूलो कोरिडोर जस्तो फराकिलो हलको अघि मोचे साम्राज्यका शाही नेतृत्वका व्यक्तिहरु बस्ने आसन, बलि चढाउने छुट्टै ठाउँ भेट्टाएको जानकारी दिएका छन् । उत्खननबाट प्राप्त हालको चौखालभित्र आधा दर्जन जति बलि दिएका मानिसहरुको अस्थिपञ्जर प्राप्त गरेका छन् । उत्खननबाट वेस्टरका टोलीले मुख्य पीरामिड भएको ठाउँमा २०० फिटको कोरिडोर भएर त्यसको अघि बराबर दूरीमा तीनवटा पोर्टिको अघि बलि दिने स्थानलाई प्रत्यक्ष हेर्ने पाँचवटा सिंहासन फेला पारेका छन् । कोरिडोरमा तीनजना उच्च पदका पुजारीहरुका गहना पनि फेला पारेका छन् । उत्खननबाट प्राप्त प्रमाणबाट बलि चढाउने कार्यक्रममा नेतृत्ववर्ग, भारदारहरु, पुरोहित सहितको सहभागिताले राजनीतिक प्रभाव रहेको बुझिन्छ । मोचे साम्राज्यकालमा बलि दिने प्रचलन मात्र नभई बलि दिएको मानिसको रगत पनि पिउने प्रचलन रहेको कुरा इतिहासकारहरु बताउँछन् । श्रोत – नेट, सुमल, मेस