पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा

पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा


सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले)का भगवती चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । नेपाली कांग्रेसका तर्फबाट विजयी प्रतिनिधि विजयकुमार गच्छदारविरुद्ध उनले मुद्दा हालेकी हुन् ।

गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको आरोप लगाउँदै भगवतीले पुनः मतगणना गर्नुपर्ने माग गरेकी हुन् ।

मंसिर २१ गतेको मतगणनाको १९ औं लटमा निर्वाचनको मतगणना क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको राससले जनाएको छ ।

त्यस्तै, पाँच वटा मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको सो मुद्दामा उल्लेख छ ।

सुनसरी ३ बाट गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी विजयी बनेका थिए भने चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन् ।