नेपाल औषधि लि.ले माघदेखि सिटामोल उत्पादन गर्ने

नेपाल औषधि लि.ले माघदेखि सिटामोल उत्पादन गर्ने


नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए १५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २४ गते जीवनजल उत्पादन सुरु गरेको थियो । महाप्रबन्धक सुवेदीलाई उद्धृत गर्दै राससले जनाएअनुसार आगामी माघ दोस्रो सातासम्म सिटामोल उत्पादन गरी बजारमा लैजाने लक्ष्य राखिएको छ, ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसम्बन्धी कार्य पनि सम्पन्न भइसकेको छ ।

गुणस्तर नियन्त्रण विभागको प्रयोगशालालाई कुशल प्रयोगशाला अभ्यास विधिमा तोकिएबमोजिम नवीकरण गरी सकिएको र प्रयोगशालाको भौतिक पूर्वाधार निर्माण कार्य पनि सकिएको लिमिटेडले जनाएको छ ।