सात नम्बरमा घातैघात !

सात नम्बरमा घातैघात !


जनताले आफूलाई चित्त बुझ्ने पार्टीलाई भोट हाले पनि मुख्य दलका ठूला भनिएका नेताहरूले जताततै घात गरेको पाइएको छ । घात गर्ने ‘ठूला माछा’मा सुशील कोइराला प्रधानमन्त्री हुँदा भ्रष्टचारमा लिप्त हुन थालेपछि मन्त्रिमण्डलबाट हटाइएका एमालेका पोलिटब्युरो सदस्य कर्ण थापा मुख्य रहेको एमाले वृत्तमा चर्चा छ । उनले अछामको रामारोशन गएर एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावललाई हराउने प्रयास गरेका थिए । एक्लै चुनाव उठ्दा पनि धेरै भोट आउने रामारोशन क्षेत्रमा यसपालिको चुनावमा एमालेलाई अत्यन्त न्यून भोट आएको थियो । १५ हजार भोटले जित्ने भनिएका रावलको माओवादी नेता दीपक साउदसँग मिलेर थापाले चाल चलेपछि सात हजार भोट गायव भएको बताइन्छ ।

यद्यपि थापाको खेल नबुझेका काङ्ग्रेसका सामान्य कार्यकर्ताले मौन समयमा किन गाडी चलाएको भन्दै उनको गाडी जलाइदिएका थिए । उनले ज्यान पनि प्रहरी चौकी गएर मुस्किलले बचाएका थिए । अछाम पुगेको कुराबाट बेखबर भीम रावल थापाको गाडी जल्यो, कुटाइ खाए भन्दा आश्चर्यचकित बनेका थिए । धेरैको बुझाइ ‘सही नियतले अछाम गएको भए आफूभन्दा ठूलो नेतासँग सम्पर्क त गर्नुपर्ने हो’ भन्ने रह्यो भने झपट बोहरालाई सहयोग गर्नु भनेर अजय सुमार्गीले दिएको २० लाख रुपैयाँ उल्टै बोहरा र रावल हराउन दीपक साउदहरूलाई दिएको सन्दर्भ पनि एमालेजनलाई आश्चर्य पार्ने प्रकारकै रहेको बताइन्छ ।

थापाले आफ्नै जिल्ला बाजुरामा पनि समय नदिएर चुनावका बेला सुदूरपश्चिमका विभिन्न जिल्लामा दौड गरेका थिए । थापानजिकका केही नेता–कार्यकर्ता भने लालबहादुर थापा र प्रकाश शाह हराउने अभियानमा थिए । हुन त थापा बहुविवाहका अलावा मन्त्री हुँदा न्यायाधीशदेखि नरिवल बेच्ने व्यक्तिसँग समेत झगडा गरेर चर्चामा आएका व्यक्ति हुन् । यसपालि पनि अछामकाण्ड गराउनुका साथै मुख्यमन्त्री हुन्छु भन्दै हल्ला गरेर चर्चामा रहे । कानुन पढेको र संविधान बनाएको दाबी गर्ने थापाले समानुपातिकबाट आफू सांसद हुन सक्दिनँ भनी बुझ्न सकेनन् । महिला उम्मेदवार हुनै नदिएका थापाले एमालेले महिला उम्मेदवार नबनाएकै कारण समानुपातिकका सबै सिट महिलालाई दिनुपर्ने भएको छ । महिलालाई दिनुपर्ने भएपछि उनी समानुपातिकबाट सांसद हुन नसक्ने भएका हुन् । बाजुरामा एमालेका पूर्वसांसद हिक्मत शाही र जिविसका पूर्वसभापति रंगमान शाहीको अन्तर्घात पनि चर्चामै छ । काङ्ग्रेसका बद्री पाण्डे र देवराज जोशीले काङ्ग्रेसका पण्डित थरका उम्मेदवारलाई सहयोग नगरेको आरोप छ ।

डडेल्धुरामा एमालेका प्रदेश उम्मेदवार डा. तारा जोशी हराउन एमालेकै वैकल्पिक केन्द्रीय सदस्य विक्रम शाही, जिविसका पूर्वसभापति गजेन्द्र शाही र धनबहादुर शाही ज्यान फालेर लागे भने माओवादीका सचिवालय सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उठेका खगराज भट्टलाई हराउन खेल खेलेको आरोप छ । डडेल्धुरामै नेविसङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले प्रदेश सभामा असहयोग गरेको भन्दै सभापति कर्ण मल्लले स्पष्टीकरण सोधिसकेका छन् । दार्चुलामा एमाले केन्द्रीय सदस्य गणेश ठगुन्ना हराउन वीरबहादुर ठगुन्ना सक्रिय भए । उता बझाङमा भैरवबहादुर सिंह हराउन पूर्वमन्त्री भानुभक्त जोशी र जिल्ला अध्यक्ष दिलबहादुर सिंहले धेरैलाई भोट हाल्नै दिएनन् भने भोट हालेर रहर पूरा गर्नेलाई काङ्ग्रेसलाई भोट हाल्न लगाए । त्यसैले १५ हजारले जित्नुपर्ने भैरवले नौ हजारले मात्र चुनाव जितेको बताइन्छ ।

एमाले अध्यक्ष तथा प्रदेश सभाका उम्मेदवार चक्र मल्ल डोटीमा एमालेका प्रेम आलेमगर र काङ्ग्रेसका भरत खड्का मिलेर चुनाव लडेको आरोप लगाइरहेका छन् । मिलोमतोका कारण आलेमगर बहालवालामन्त्री वीरबहादुर बलायरलाई हराएर प्रतिनिधिसभा पुगे भने खड्काले प्रदेश सभामा जिते । यद्यपि आलेमगर समूहले मन्त्री बलायरलाई मल्लले सहयोग गरेको आरोप लगाएको छ ।

सबैभन्दा रोचक चुनाव त कैलाली–५ मा भयो । जित्ने पक्का अवस्थामा रहेकी भनिएकी प्रधानमन्त्रीपत्नी आरजु राणालाई काङ्ग्रेसबाटै सञ्चार राज्यमन्त्री र ०७० को उपचुनावमा सांसद भएका पुष्करनाथ ओझाले चलखेल गरेर हराएका छन् । आरजुका केही गतिविधि पनि हारका कारण बनेको भए पनि पुष्करको असहयोग मुख्य कारण रहेको चर्चा आरजुले गर्न थालेकी छन् । यद्यपि कृष्णबहादुर महराले पनि मेयरको टिकट नदिएको झोक फेर्न आरजुलाई उल्टो सल्लाह दिएको चर्चा छ ।

कैलाली क्षेत्र नम्बर १ मा जातीय मतका कारण रेशम चौधरीले जिते पनि एमालेका वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले कैलाली–२ मा आफू जित्न रेशम चौधरीसँग साँठगाँठ गरेका थिए । रावलले क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभामा रेशमका बुबा लालवीर चौधरीलाई एमालेबाट टिकट दिलाएका थिए भने रेशम र रावलको नियमित सम्पर्क हुने गरेको थियो । रावलले नै भीम रावललाई प्रयोग गरेर टीकापुर घटनाको लगत्तै रेशमलाई काठमाडौंबाट पक्राउ गर्न दिएका थिएनन् । रेशम जिताउन काङ्ग्रेसनेतृ ईश्वरी न्यौपानेसँग असन्तुष्ट समूह पनि लागेको थियो । प्रदेश ‘ख’मा माओवादीका नेप चौधरी सिंहराज हराउन पनि झपट रावल समूह र माओवादीको हरिप्रसाद ज्ञवाली अखण्ड समूहको एकता भएको थियो । ज्ञवाली माओवादीका पोलिटब्युरो सदस्य हुन् ।