पुरुषलाई महिनावारीको पाठ सिकाउने ‘प्याडम्यान’

पुरुषलाई महिनावारीको पाठ सिकाउने ‘प्याडम्यान’


पछिल्लो वर्ष ‘ट्वाइलेट’ फिल्ममा काम गरेर अत्यधिक चर्चा कमाएका अक्षयकुमार यतिबेला पुनः चर्चामा आएका छन् । आगामी २६ जनवरी २०१८ मा रिलिज हुन गइरहेको निकै महत्वाकाङ्क्षी फिल्म ‘प्याडम्यान’का कारण अक्षय चर्चामा आएका हुन् । प्याडम्यानदेखि निकै उत्साहित अक्षयले यो फिल्मले सामाजिक सन्देश दिन सफल हुने विश्वास प्रकट गरेका छन् । उनले उक्त कुरा प्याडम्यानको हालै रिलिज भएको एउटा गीतको अवसरमा बताएका हुन् ।

महिनावारी हुँदा महिलालाई कति गाह्रो हुन्छ, त्यो कथामा ‘प्याडम्यान बनेको छ । महिनावारी हुँदा प्याड कसरी लगाइन्छ, किन लगाउनुपर्छ, यसको फेरबदल गर्दा कति अप्ठ्यारो हुन्छ ? त्यो कुरा महिलाले मात्र बुझेका हुन्छन्, यसबारेमा पुरुष अनविज्ञ हुन्छन् भन्ने कुरालाई यो फिल्ममा देखाइएको छ । सामाजिक मुद्दालाई गम्भीर रूपमा उठान गरिएको प्याडम्यानमा अक्षयकुमार, सोनम कपुर र राधिका आप्टे प्रमुख भूमिकामा देखिएका छन् । यो फिल्मको निर्देशन आर बाल्कीले गरेका छन् । यस फिल्मकी सहनिर्माता ट्विङ्कल खन्नाले प्याटम्यानको मुख्य भूमिकामा अक्षय उनको रोजाइ नभएको खुलासा गरेकी छिन् । पछि निर्देशक बाल्कीले अक्षय नै यो भूमिकामा सुहाउने भनेपछि ट्विङ्कल राजी भएकी थिइन् ।

निर्देशक बाल्कीले प्याडम्यान महिलाको नभई पुरुषहरूका लागि भएको बताएका छन् । मासिक धर्म निभाउँदा महिलाले कस्तो–कस्तो जटिल परिस्थितिको सामना गर्नुपर्छ त्यसबारे पुरुषलाई थाहा नहुने भएकाले यो फिल्म विशेष गरेर पुरुषका लागि भएको बताएका छन् । निर्देशक बाल्कीले यो फिल्मबाट आमजनतामा सकारात्मक सन्देश जाने बताउँदै प्याडम्यानले सबै तह र तप्काका दर्शकले माया गर्ने प्रस्ट पारेका छन् । प्याडम्यानको रिलिजपछि आमजनताले मासिक धर्मबारे खुलेर चर्चा गर्ने पनि खुलासा गरेका छन् ।

प्याडम्यानमा मुख्य भूमिका निर्वाह गरेका अक्षयले यो फिल्म पैसा कमाउनका लागि नभई समाजमा परिवर्तन ल्याउनका लागि निर्माण गरिएको बताएका छन् । निकै संवेदनशील मुद्दामा बनेको प्याडम्यानमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको अक्षयले बताएका छन् । यसका लागि अक्षयले बाल्कीलाई धन्यवादसमेत दिएका छन् । विगत केही वर्षदेखि अक्षय सामाजिक विषयवस्तुलाई आधार बनाएर बनेका फिल्ममा काम गर्दै आएका छन् । यही कारणले पनि प्याडम्यानमा बाल्कीको पहिलो रोजाइमा परेका थिए अक्षय ।

२६ जनवरी अर्थात् भारतको गणतन्त्र दिवसको दिनमा रिलिज हुन गइरहेको फिल्म प्याडम्यानमा काम गर्न पाउँदा नायिका राधिका आप्टेले खुसी प्रकट गरेकी छिन् । निकै संवेदनशील मुद्दामा बनेको प्याडम्यान आफँैमा उत्कृष्ट फिल्म भएको आप्टेको प्रतिक्रिया थियो ।

प्याडम्यान अरुणाञ्चलम मुरुगनाथमको जीवनकथामा बनेको फिल्म हो । उनले महिला महिनावारी हुँदाको समयमा भोग्ने असङ्ख्य बाधा–अड्चनलाई आत्मसात् गर्दै सेनिटरी प्याडको निर्माण गर्ने मेसिन बनाएका थिए । महिलाले त्यसबेला र अहिले पनि महिनावारी हुँदा मान्ने सङ्कोच र मानसिक रूपमा भोग्ने पीडाबाट मुक्त गराउन सामाजिक सन्देश दिन प्याडम्यानको निर्माण गरिएको निर्देशक बाल्कीले जानकारी गराएका छन् ।