चलचित्रमा ‘राजनीति’ घुसेपछि…

चलचित्रमा ‘राजनीति’ घुसेपछि…


अनुरागी फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘मधेशी पुत्र–२’ नामक फिल्म केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनका लागि पास नगरेको सन्दर्भ यतिबेला चर्चामा छ । उक्त फिल्म सेन्सरबाट पास नहुनुमा फिल्ममा प्रयोग भएका आपत्तिजनक र अश्लील शब्दहरू कारक रहेको बुझिन्छ । सेन्सर बोर्डका सदस्यहरूले ‘अपाङ्ग सरकार’, ‘छक्का’, ‘घन्टा’ जस्ता फिल्ममा प्रयुक्त शब्दहरूमाथि आपत्ति जनाएको बुझिन्छ ।

पछिल्लो चरणमा नेपाली फिल्ममेकरहरूले गति छाडेरै डायलगहरू घुसाउने, आपत्तिजनक दृश्य खिचेर असान्दर्भिक रूपमा फिट गर्ने प्रवृत्ति अलिक बढेरै गएको फिल्म समीक्षकहरू टिप्पणी गर्छन् । ‘मधेशी पुत्र–२’ पनि यस्तै प्रवृत्तिको सिकार भएको सरोकारवाला निकायको दाबी छ । यता आफूलाई पीडित ठान्दै निर्माण पक्षले चाहिँ मधेसीले बनाएको सिनेमा हुनाले विभेदको सिकार बनाइएको आरोप लगाएको छ । उक्त फिल्म हलमा चलाउने नै हो भने माथि उल्लिखित अशिष्ट शब्दहरू म्युट (आवाजविहीन) गर्नुपर्ने, टाउकोमा गोली हानेको दृश्य ब्लर गर्न लगाउने र ‘सीके राउत’ भन्ने पात्रको भूमिका र प्रसङ्ग पूर्ण रूपमा हटाउनुपर्ने निर्णय जाँच समितिले गरेको छ ।

मधेशी पुत्र–२ का लेखक नीराजन मेहताले चाहिँ तराई–मधेसको वास्तविक राजनीतिक घटनामा सिनेमा आधारित भएकाले समितिले भनेअनुसारका दृश्य हटाउन नमिल्ने तर्क गरेका छन् । ‘यस्ता दृश्य र संवादहरू अन्य नेपाली चलचित्रमा हुँदा केही फरक नपर्ने, तर मधेसको राजनीतिक घटनाका बारे निर्माण भएको चलचित्रमाथि रोक लगाउनु मधेसीसँगको विभेदको निरन्तरताकै क्रम हो,’ सिनेमाका लेखक मेहताको दाबी छ । के चलचित्रमा पनि मूलधारको राजनीति नै घुसेको हो त ?