क्षेत्री समाज यूकेको भेटघाट

क्षेत्री समाज यूकेको भेटघाट


फार्नवरो यूके । यूके भरिका क्षेत्रीहरुको वार्षीक जमघट कार्यक्रम ओकफाम कम्युनिटि हलमा संपन्न भयो । फार्नवोरो एयर सो को अति सवारी चापका कारण क्षेत्री वन्धुहरु र पाहुनाहरुलाई २ देखि ३ घण्टासम्म यातायात जाममा परेका कारण निर्धारित समयभन्दा २ घण्टा ढिलो औपचारिक कार्यक्रम शुरु भएको थियो ।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा सुरेश कुमार चालिसेको उपस्थितमा संपन्न यसकार्यक्रको सभापतित्व समाजका नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर अधिकारी क्षेत्रीले गरेका थिए भने कार्यक्रम संचालन समाजका महासचिव महेन्द्र गौतमले गरेका थिए । महामहिम राजदूतको छोटो तर सारगर्भित मन्तव्यले अब नेपालमा आउने प्रजातन्त्र कसैले खोसेर नखोसिने र अब लेखिने संविधानमा सबैको हक अधिकार सुनिश्चित हुने हुनाले नेपालको भविष्य उज्जवल छ भन्ने कुरामा विश्वस्त हुन सकिने आधार दिएको थियो । साथै चिन र भारत नेपालका छिमेकी राष्ट्रको द्रूत आर्थिक विकासको प्रभाव नेपालमा पनि परिरहेकाले अबको गन्तव्य एसिया हुने उनको भनाई थियो ।

समाजका अध्यक्षबाट उपस्थित सबैलाई स्वागत गरेपछि समाजका संरक्षक ध्रुव के सी र सल्लाहाकार डा भेष वहादुर थापाद्वारा बेलायतमा क्षेत्री समाजको आवश्यकता र औचित्य वारे प्रष्ट पार्नु भएको थियो । बेलायतमा बसोवास गरी यहांको समाजमा व्यवसाय, शिक्षा उपार्जन, समाजसेवा र योगदान गरी फूलाई नेपाली समाजमा चिनाउन सफल क्षेत्रीहरुमा व्यवसायी राजेन्द्र क्षेत्री, योगेन बहादुर क्षेत्री, ध्रुव के सी, विद्यार्थी अरुण जंग खड्का र समाजसेवी बुध्दि वहादुर थापालाई समाजलाई सम्मान गरेको छ ।

अन्तमा औपचारिक कार्यक्रमको विट मार्दै समाजका उपाध्यक्ष भीम बानियाले उपस्थित महानुभाव र कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुलाई समाज र व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमलाई मनोरंजनात्मक गराउन सांस्कृतिक सचिव राजन कुमार क्षेत्रीले औपचारिक कार्यक्रम शुरु हुनुअगावै देखि विभिन्न किसिमका नृत्य प्रस्तुत गराएका थिए । जसवाट बेलायतवासी क्षेत्रीहरुका सन्तती पनि आफ्नो नेपाली भाषा र संस्कृतिप्रति सजग रहेछन् भन्ने भान रहेको थियो । पछिल्लो समयमा आएर स्थापना भएको यो समाज विस्तारै संगठित हुने क्रममा गत वर्षभन्दा यस वर्ष अझ वढी संख्या र बेलायतका प्रत्येक कुनाबाट उपस्थित भएका थिए । – भीम मेस, फोटो: नरेन्द्र र क्षेत्री समाज यूके