बर्माको आणविक हतियार कार्यक्रम

बर्माको आणविक हतियार कार्यक्रम


लण्डन । एक जना बर्मेली सेनाको भगौडा मेजर, साइ थेइन विनले बर्माको गोप्य ाआणविक भट्टी र एउटा बटालियन आणविक कार्यक्रमको लागि तैनाथ गरेको कुरा प्रकाश पारेका छन् । आणविक हातियार निर्माणका लागि मन्डालेको उत्तरमा पर्ने गोप्य स्थानमा यो कार्यक्रम संचालन भइरहेको जानकारी दिएका छन् । उक्त सैनिक मेजर बर्माको डिफेन्स इन्जिनियर र प्रक्षेपास्त्रको विज्ञ रहेको बताउँछन् । गोप्य कागजातहरु र विभिन्न फोटोग्राफहरुको अधारमा लामो दूरीका मिसाइलहरु र आणविक हतियार बनाउने लक्ष्य लिएर कार्यक्रम गर्दै आएको पुष्टि गरेका छन् । उत्तर कोरियाबाट युद्ध सामग्री र हतियारको खरिद गरेको सन्दर्भलाई लिएर जासुसी गर्ने अनुगमन त्रि्र पारेकेा छ । अमेरिकाले भुउपग्रह र विधुतीय अनुगमन तथा विविध गोप्य सूचनाहरु एकत्रित गर्ने कार्य तीव्र गरेको छ । बर्मा अहिले उत्तर कोरिया पाकिस्तान, इरान तथा सिरियासँग मिलेर आणविक हतियार बनाउने नेटवर्कमा सामेल भएको आशंका गरिएको छ ।
जति विज्ञानले विकास गर्दै मानव समुदायलाई सहयोग पुर्‍याएको छ उति नै यसको अर्को पाटा प्रलयकारी र मानव संहार गर्नेजस्ता हतियार निर्माण गरेर विज्ञान मानवजातिका लागि अभिशाप बन्न पुगेको छ । अमेरिका द्वारा सन् १९४५, अगस्त ६ का दिन (लिटिल ब्वाय) र त्यसको ३ दिनपछि, अगस्त ९का दिन (फ्याटम्यान) नामक आणुबमको प्रहारबाट जापानका अति सुन्दर दुइटा शहरहरु तीन मिनटभित्र पूर्णतया ध्वस्त र स्मसानघाटमा परिणत भएको थियो । पृथ्विवासीले यो मानव संहारको घट्नालाई कहिल्यै पनि बिर्सन सकिन्न । त्यसबेलाका ती अणुबमहरुको तुलनामा अहिले बीसौ गुणा शक्तिशाली अणुबमहरु अनेकौं राष्ट्रहरुले भण्डार गरेर राखेका छन् । आज विश्व अणुबम जस्ता खतरनाक हतियारको भण्डारमाथि उभेको छ । कुनै पनि बेेला यसको प्रयोगबाट प्रलय हुनसक्छ । मुख्यतया अमेरिका, रुस, फ्रान्स, बेलायत र चीन, यी राष्ट्रहरु नन् प्रोलिफिरेशन ट्रिटीमा हस्ताक्षर गरेका आणविक हतियार सम्पन्न राष्ट्रहरु हुन् । सोभियत रुसको विलयपछि उदय भएका तत्कालीन सोभियत संघबाट छुटेका राष्ट्रहरुसँग पनि आणविक हतियार भण्डार रहेका छन् । त्यस्तै नेटोका कैयौं मित्रराष्ट्रहरुलाई पनि अमेरिका र नेटोका आणविक हतियार सम्पन्न राष्ट्रहरुले आणविक हतियारबाट सुसज्जित पारिएको प्रष्ट छ । पछिल्लो चरणमा पाकिस्तान, भारत, सिरिया र इजरायल पनि आणविक हतियारको क्षमताप्राप्त राष्ट्रहरुको लाइनमा उभिएका छन् । इरान र उत्तरकोरियाको महत्वकांक्षी आणविक हतियारको कार्यक्रमलाई रोक्नका लागि केही वर्षायतादेखि अमेरिका र मित्रराष्ट्रहरु लागि परेका छन् । तर, अनेकौं रोक्ने केाशिसको बावज्रद इरान र उत्तरकोरिया आणविक शक्ति सम्पन्न भएको विज्ञहरु स्वीकार्छन् । यस हिसाबले विश्वका २०-२२वटा राष्ट्रहरुमा आणविक हतियार भण्डार रहेको यथार्थतालाई हामी नकार्न सक्दैनौं । हालैको समाचारले बर्मेली सैनिक शासकहरुले आणविक हातियार बनाउने जस्ता कार्यक्रमले के सन्देश दिएको छ भने मानव अब संहारतर्फ उन्मुख भएको पाउछौं । अबको विश्वमा यदि प्रत्येक राष्ट्रले यस्ता होडबाजीमा लागेर आणविक हतियार बनाउनेतर्फ लाग्ने हो भने यो पृथ्वीको आयु निश्चित रुपमा घट्ने छ ।
बर्माको आणविक हतियार बनाउने नियतलाई वाशिंगटनले गहिरो रुपमा लिएको छ । पछिल्लो केही समय यतादेखिको उत्तर कोरियाबाटको राकेटहरुको खरिद र उत्तर कोरियाले १८६० माइल दूरीसम्मको प्रक्षेपण गर्नसक्ने मिसाइल निर्माण गर्ने सहमति तथा प्राप्त गोप्य दस्तावेज र फोटोग्राफहरुले भित्रभित्रै गोप्यरुपमा आणविक हतियार बनाउने कार्यक्रम रहेको पुष्टि गरेको छ । यी नै सूचनाहरुको अधारमा अमेरिकाले बर्मेली शासकहरुलाई आणविक उर्जा र प्रविधिसम्बन्धी जानकारी प्रष्ट्याउन माग गरेका छन् । श्रोत -नेट, सुमल, मेस ।