कृतघ्नताको अर्को नाम…

कृतघ्नताको अर्को नाम…


– यादव शर्मा

जिन्दगीको भऱ्याङ चढेपछि कैयन मानिस फेरि तल ओर्लन चाहँदैनन् र तीमध्ये कैयनले ओर्लनुपर्ने भयले भऱ्याङ नै हटाइदिन्छन्, यही ‘भऱ्याङ’ हटाउने मनोवृत्तिलाई कृतघ्नता भनिन्छ । अप्ठ्यारोमा परेका बेला सहयोग गर्नेहरू र आफ्नो जीवनको सफलताका निम्ति साथ दिनेहरूप्रति विवेकशील तथा आत्मविश्वासी मानिसहरू सधैँ कृतज्ञ रहन्छन् । तर, ‘विवेक पलाउन बाँकी’ मानिस आफ्नो स्वार्थ पूरा गरेपछि सजिलै बदलिन्छन्, यस्ता मानिसले खास अवस्थामा आफ्नै मातापितालाई समेत नचिन्न सक्छन् । सन्त नेता कृष्णप्रसाद भट्टराईको ‘जन्मोत्सव समारोह’मा प्रधानमन्त्री पदमा रहेका शेरबहादुर देउवाले मुख्य अतिथि बन्न अस्वीकार गरेपछि एउटा मानिस कतिसम्म कृतघ्न हुन सक्छन् भन्ने प्रश्न उठेको छ । यहाँ यसै सम्बन्धमा सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ ।

नेपाली काङ्ग्रेसभन्दा बाहिरका मानिसले शेरबहादुर देउवालाई कसरी हेरेका छन् र हेर्नेहरूले उहाँलाई कस्तो देखेका छन्, त्यो बेग्लै सन्दर्भ हो । काङ्ग्रेसभित्र सयौँ यस्ता नेता–कार्यकर्ता छन् जसले शेरबहादुर देउवाको ‘कृतघ्न प्रवृत्ति’लाई नजिकबाट बुझेका छन् । ०५१ मा आरजु राणालाई दुलही बनाएर भित्र्याउनुअघिसम्म देउवाको ‘मतलबी’ चरित्र राम्रोसँग उजागर हुन सकेको थिएन । देउवाको जीवनमा आरजुको प्रवेशपछि उहाँले लगाउने दौराको लम्बाइ मात्र बढेको होइन, निकटवर्तीहरूसँगको सम्बन्ध र व्यवहारमा पनि परिवर्तन आएको छ, जीवनशैली तथा सोचसमेत बदलिएको पाइएको छ । कुन मानिसलाई कतिबेला कुन कामका लागि आफ्नो हितमा उपयोग गर्न सकिन्छ भन्ने क्षमता देउवामा यति सुदृढ देखिन्छ कि राजा ज्ञानेन्द्रले उहाँलाई ‘अक्षम’ ठान्नु पूरै गलत थियो भन्न कर लाग्छ । प्रस्तुतिमा देखिने भद्दापन र अक्षमता देउवाको सोचमा भएको महसुस उहाँसँग सहकार्य गर्नेहरूले गरेका छैनन् । यो अलग पक्ष हो कि देउवाको ‘क्षमता’ उहाँ आफैँबाहेक अरू कसैका निम्ति उपयोगी प्रमाणित हुन सकेकोचाहिँ छैन ।

०४३ मा राष्ट्रिय पञ्चायतको सदस्यका निम्ति दोस्रोपटक आमनिर्वाचन भएपछि पञ्चायतविरुद्धको मोर्चामा एकप्रकारको निराशा बढ्दै थियो । तात्कालिक नेकपा माले (हाल एमाले) ले ‘उपयोग गर्ने’ भन्दै पञ्चायती निर्वाचनमा भाग लिएपछि काङ्ग्रेसमा पनि गिरिजाप्रसाद कोइराला पञ्चायत प्रवेशका निम्ति ‘सम्मानजनक’ बाटो खोज्दै हुनुहुन्थ्यो । त्यसक्रममा गिरिजाप्रसाद र राजा वीरेन्द्रबीच अनेकौँ चरणमा वार्तालाप पनि भएका थिए । प्रधानमन्त्री पद लिएर पञ्चायत प्रवेश गर्न लागेका गिरिजाप्रसादलाई तात्कालिक राजाले मन्त्रीभन्दा माथिको हैसियत दिन किन खोजेनन्, यससम्बन्धी चर्चा पनि बेग्लै सन्दर्भमा गर्नु उपयुक्त होला ।

राजा वीरेन्द्रसँग ‘बार्गेनिङ’ चलिरहँदा गिरिजाप्रसाद कोइरालाले आफ्ना निकटस्थहरूलाई पञ्चायतमा सहभागी हुन इसारा गरे । विपिन कोइराला, शिवबहादुर खड्का र शेरबहादुर देउवालगायत केही तात्कालिक युवा नेता गिरिजाप्रसादको इसारा पाएपछि पञ्चायतमा पस्न तयार पनि भए । यसरी आफ्नो पार्टीका केही युवा नेताहरू पलायन हुन लागेको सूचना कृष्णप्रसाद भट्टराईसम्म पुग्यो । भट्टराईजीले विपिन र शिवबहादुरलाई रोक्न खोज्नुभएन या सक्नुभएन, देउवालाई रोक्न एउटा चाल चल्नुभयो । पञ्च बन्न खुट्टा उचालिसक्नुभएका देउवालाई किशुनजीले बेलायतमा ‘अब्जर्भर स्टुडेन्ट’का रूपमा पढ्न जाने व्यवस्था मिलाइदिनुभयो । यसरी देउवा पञ्च हुनबाट जोगिँदै बेलायततिर लागे, विपिन र शिवचाहिँ पञ्चायत पसे ।

०४६ को आन्दोलनताका देउवा बेलायततिर बरालिँदै थिए र पञ्च बन्न नपाएको झोक बोतल रित्याएर प्रकट गरिरहेको टीका–टिप्पणी त्यसताक बेलायत बस्ने नेपालीहरू गर्ने गर्दथे । त्यसबेला किशुनजीले पञ्च हुनबाट नजोगाउनुभएको भए देउवाको अवस्था हालका विपिन कोइराला र शिवबहादुर खड्काको भन्दा भिन्न नहुने स्वतः बुझ्न सकिन्छ । बीपी कोइरालाद्वारा भावी प्रधानमन्त्री घोषित पर्शुनारायण चौधरी पञ्चायत पसे र मन्त्री बने । ०४७ सालमा उनी पुनः काङ्ग्रेसमा त फर्किए, तर उनको हैसियत पुनर्वहाली हुन सकेन । पञ्चायत पसेका भए देउवा ‘पर्शुनारायण’ बन्न पनि सक्थे या उनले बढीमा अर्जुननरसिंह केसीसम्मको हैसियत बनाउँथे । पञ्चायतमा नपसेकै कारण देउवाले ०४८ सालको निर्वाचनमा सुदूरपश्चिमको ‘अधिपति’ बन्ने मौका पाएका हुन् र उनलाई त्यसरी ‘अधिपति’ बनाइदिनुभएको पनि तात्कालिक पार्टी सभापतिका हैसियतमा कृष्णप्रसाद भट्टराईले नै हो ।

आफ्नो पार्टीका केही युवा नेताहरू पलायन हुन लागेको सूचना कृष्णप्रसाद भट्टराईसम्म पुग्यो । भट्टराईजीले विपिन र शिवबहादुरलाई रोक्न खोज्नुभएन या सक्नुभएन, देउवालाई रोक्न एउटा चाल चल्नुभयो । पञ्च बन्न खुट्टा उचालिसक्नुभएका देउवालाई किशुनजीले बेलायतमा ‘अब्जर्भर स्टुडेन्ट’का रूपमा पढ्न जाने व्यवस्था मिलाइदिनुभयो । यसरी देउवा पञ्च हुनबाट जोगिँदै बेलायततिर लागे, विपिन र शिवचाहिँ पञ्चायत पसे ।

०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा काङ्ग्रेस पराजित भएपछि गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता बन्न लाज मान्नुभयो । संसद्मा पूर्ण बहुमत मात्र अपुग भएर दुईतिहाइ बहुमत हासिल गर्नका लागि रचिएको मध्यावधि निर्वाचन थियो त्यो । चुनावी परिणामले काङ्ग्रेसलाई दोस्रो ठूलो दलको हैसियतमा खसालिदिएपछि गिरिजाप्रसाद कोइराला हतप्रभझैँ भएर भावावेशमा दलको नेता नबन्ने घोषणा गर्न पुग्नुभएको थियो । कोइरालाले छोडेपछि शैलजा आचार्य, शेरबहादुर देउवा र खुमबहादुर खड्काले संसदीय दलको नेता बन्न उम्मेदवारी दिएका थिए । उक्त प्रतिस्पर्धामा पराजित हुन सक्ने सम्भावना देखिएको, शैलजा आचार्यले विशेष जोड दिनुभएको र शैलजा नेता बन्ने स्थितिमा खुमबहादुर खड्का पनि पछि हट्न तयार भएको बुझेपछि देउवाले उम्मेदवारी फिर्ता लिएको र फिर्ता लिएको सूचना पनि सार्वजनिक गरिएको थियो ।

त्यसरी देउवाले उम्मेदवारी फिर्ता लिएको जानकारी पाएपछि किशुनजीले तत्काल सूचनापाटीबाट ‘देउवाले उम्मेदवारी फिर्ता लिएको’ भन्ने सूचना हटाउन लगाई उम्मेदवारी कायम गराइदिनुभयो । त्यसपछि किशुनजीले के चाल चल्नुभयो कुन्नि, गिरिजाप्रसादले शैलजा आचार्यलाई पनि चर्को दबाब दिएर उम्मेदवारी फिर्ता लिन लगाउनुभयो । देउवाले उम्मेदवारी फिर्ता लिएपछि खुमबहादुर खड्का पनि शैलजा आचार्यलाई समर्थन गर्दै पछि हटेका थिए । तर, आफ्नी छोरी सुजातालाई उत्तराधिकारी बनाउने पक्षमा रहनुभएका गिरिजाले शैलजालाई रुचाउनुभएन र चर्को दबाब दिएर शैलजालाई पनि मैदानबाट फर्काउनुभएको थियो ।

गिरिजाप्रसादको मानसिकता राम्रोसँग बुझ्नुभएका कृष्णप्रसाद भट्टराईले शैलजा आचार्य दलको नेता बनेको अवस्थामा सुजाताको भविष्यलाई पर्ने असरबारे स्मरण गराइदिनुभएपछि गिरिजाले शैलजालाई मैदान छोड्न बाध्य पारेको अनुमान त्यसबेला धेरैले गरेका थिए । अन्तर्य जे भए पनि शेरबहादुर देउवालाई पहिलोपटक संसदीय दलको नेता बनाउन किशुनजीले नै योगदान पु¥याउनुभएकोमा द्विविधा राख्नुपर्दैन । त्यसबेला संसदीय दलको नेता बनेकै कारण ०५२ मा मनमोहन अधिकारी नेतृत्वको सरकार विस्थापित भएपछि प्रधानमन्त्री बन्ने अवसर देउवालाई प्राप्त भएको र एकपटक प्रधानमन्त्री बनेकै हुनाले उहाँलाई पटकपटक प्रधानमन्त्री बन्ने अवसर जुरेको हो ।

जतिबेला गणेशमानसिंह र कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइरालासँग लड्दै हुनुहुन्थ्यो त्यसबेला शेरबहादुर देउवा कोइरालाको साथमा हुनुहुन्थ्यो । ‘छत्तीसे’ र ‘चौहत्तरे’का रूपमा काङ्ग्रेस सांसदहरू विभाजित हुँदा देउवा ‘चौहत्तरे’मध्ये पर्नुहुन्थ्यो । प्रधानमन्त्री बनिसकेपछि मात्र गिरिजा र शेरबहादुरबीच अन्तरविरोध बढेको हो । त्यसरी गिरिजाप्रसादसँग देउवाको दूरी बढ्न थालेपछि पनि किशुनजीले देउवालाई साथ दिनुभयो र उहाँको साथका कारणले मात्र देउवा गिरिजाविरुद्ध उभिन सक्ने हैसियतमा रहनुभएको हो ।

तथ्यहरूले शेरबहादुर देउवाको राजनीतिक उत्थानमा किशुनजीको अपरिमेय साथ रहेको पुष्टि गर्दछ । त्यसैले किशुनजीप्रति शेरबहादुर देउवा सधैँ कृतज्ञ रहनुपर्ने अपेक्षा गरिन्छ । तर, देउवाको व्यवहार अपेक्षा गरिएअनुरूप ‘कृतज्ञ’ देखिएन । किशुनजीको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित समारोहमा आतिथ्य ग्रहण गर्न पनि देउवाले असमर्थता जनाउनुभयो । बाँडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित समारोहमा प्रमुख अतिथि बन्न देउवाले अस्वीकार गर्नुभएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउन प्रतिष्ठान बाध्य भयो ।

यस प्रकरणले शेरबहादुर देउवाको कृतघ्नता जाहेर गरेको छ । देउवालाई पञ्च बन्नबाट रोक्ने, सुदूरपश्चिमको ‘कमान्डर’ बनाइदिने, संसदीय दलको नेता र पटक–पटक प्रधानमन्त्री बन्न सहयोग पु¥याउनुहुने कृष्णप्रसाद भट्टराईको वर्षमा एकपटक आयोजना गरिने स्मृति दिवसमा एकैछिन सहभागिता जनाएर उहाँप्रति श्रद्धाका दुई शब्द प्रकट गर्न नसक्ने देउवाले किशुनजीप्रति कृतघ्नता मात्र जनाउनुभएको होइन, निष्ठा र मूल्यको राजनीतिप्रति आफ्नो वैरभाव प्रकट गर्नुभएको पनि भन्न सकिन्छ । आफ्नो श्रद्धेय नेताप्रति उहाँले दर्शाउनुभएको व्यवहारले निष्ठाको राजनीति गर्नेहरूलाई उपेक्षा गरेको सन्देश पनि प्रवाहित गरेको छ ।