धुर्कोटका विपन्नलाई निःशुल्क बिजुली-मिटर

धुर्कोटका विपन्नलाई निःशुल्क बिजुली-मिटर


रुपन्देहीको धुर्कोटमा ‘उज्यालो धुर्कोट कार्यक्रम’अन्तर्गत सो गाउँपालिकाभित्रका गरिव तथा असहाय परिवार पहिचान गरी समस्त गरिव परिवारलाई विद्युत् मिटर बक्स र त्यसमा लाग्ने कालोतार निःशुल्क उपलब्ध गराइने भएको छ । गत आइतबार सम्पन्न गाउँसभाले यस्तो विधि पास गरेसँगै धुर्कोटका गरिब परिवारले निःशुल्क मिटर बक्स पाउने बाटो खुल्ला भएको गाउँपालिकाकी प्रवक्ता कविता विकले बताइन् ।

यस्तै, गाउँपालिकाभित्रका सम्पूर्ण सहकारी संस्था पनि निःशुल्क दर्ता गरिने, शिक्षामा प्रभावकारी रूपमा गाउँपालिकाले अनुगमन गर्ने, बालशिक्षा कार्यक्रमलाई प्रभावकारी रूपले सञ्चालन गर्नेलगायतका विधेयक समेत गाउँसभाबाट सर्वसम्मत रूपले पास भएको गाउँपालिकाका उपप्रमुख शिवबहादुर खत्रीको भनाई छ ।
यसैगरी, धुर्कोट गाउँपालिकाभित्रका सबै विपन्न परिवारलाई परिवारका सदस्यको मृत्युपछि क्रियाखर्चस्वरुप १० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । गाउँपालिकाभित्र रहेका सबै किसिमका रोजगारीका सम्भावनाहरूको खोजी गर्दै रोजगारी सिर्जना गर्ने र गाउँवासीका समस्यासँग स्थानीय सरकारनजिक रही नमुना धुर्कोट गाउँपालिका निर्माण गर्ने उद्देश्यले गाउँकार्यपालिकाले यस्ता निर्णय गरेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाले अवलम्बन गरेको जनहितकारी यो निर्णयको अनुशरण मुलुकभरका गाउँपालिकाहरूले गरे आमनागरिकले स्थानीय सरकारको शासन अनुभूत गर्न पाउँथे कि ?

– चन्द्रकान्त खनाल