नेपाली समाजलाई यूकेसापेक्ष बन्न जरुरी

नेपाली समाजलाई यूकेसापेक्ष बन्न जरुरी


यूकेमा स्थायी बसोबास गर्ने नेपालीहरुका राष्ट्रियता नेपाली हो कि ब्रिटिश ? यो प्रश्न वास्तवमा भन्ने भए यहाँ बस्ने नेपालीहरुले राम्ररी बुझ्न जरुरी छ । नेपाली राष्ट्रियताको हृयाङ प्रवासिएका कुनै पनि नेपालीको अन्तिम ढुक्ढुकीसम्म प्रत्यक श्वासप्रश्वासमा रहन्छ नै तर नेपाली नागरिकतालाई त्यागेर यहाँको रहनसहन, रितीथितिसहित कानूनको अक्षरशः पालन गर्दै रानीको छत्रछाहारीमा जीविकोपार्जन गर्दछु भनेर कसम खाइसकेका नेपालीमूलका यूकेबासीहरुको प्रायोरिटिको प्रमुख रुपमा यूके अनि यहाँको शुर तथा शैली रहनुपर्दछ ।
भर्खरै-भर्खरै हङकङ अनि नेपालबाट भित्रिएका नेपालीहरु ससाना हुँदै बिस्तारिएर विविध समूहहरुमा एकत्रित हुन थाल्दैछन् । एकत्रित हुनु वास्तवमा भन्ने भए नराम्रो पक्कै होइन, तर समाजमा, समस्टीमा यसले नजानिँदो किसिमले जातीय, क्षेत्रीय विभाजन बनाउँदछ । एक गुरुङको विपतमा चित्त दुखाउने गुरुङ मात्र भएजस्तै राई, लिम्बू, क्षेत्री मगर आदिको अवस्था पनि त्यस्तै हुन्छ । केही हप्ताअगाडि एक क्षेत्री विद्यार्थीको अकस्मात निधन भएको थियो, जसको दुःख क्षेत्रीहरुको मात्रै रहेको छ । भविष्यमा कतै राई, लिम्बू, मगर, गुरुङआदि जातिमाथिको पीडा त्यही जातिकै मात्र हुन्छ । यो शुरुवात मात्रै हो । यसको पराकाष्ठाको कल्पना पनि हृदयविदारक छ । हुनु यो पर्दथ्यो कि, एक नेपालीमूलका व्यक्तिको मृत्युको पीडा नेपालीमूलका सबैलाई होओस् । एक नेपाली मूल यूकेबासीको चिन्ता समस्त यूकेबासीको चिन्ता बनोस् । त्यसको लागि समर्पण चाहिन्छ, त्याग चाहिन्छ अनि वफादारी चाहिन्छ । यूकेमा बसी नेपाली राजनीतिक पार्टीहरुका भ्रातृसंस्थाको जस्तो ढोङले स्थानीय जनजीवनमा जीवनयापन मुश्किल पर्दछ पक्कै नै ।
अस्तित्वबिनाको बसाइ निरर्थक हुन्छ । युकेको मूलधारमा प्रवेश गर्नका लागि नेपालीहरुलाई धर्म, संस्कृति अनि परम्पराहरुलाई त्याग्न जरुरत छैन । मूलधारभित्र जातिविशेष, क्षेत्रविशेष अनि संस्कारविशेष परम्पराहरुलाई आफूसँगै गाभ्नुपर्दछ । हामीलाई लाग्दैन कि, त्यसको लागि स्थानीय सरकारले असजिलो प्रदान गरेको होस् ।
यूकेमा पसेकाहरु सायदै नेपाल सदाकै लागि भित्रेलान् । जब यो वास्तविकता हो भने, एकपटकको जीवनमा किन विधाअनुरुपका वहानाहरु, ढोङहरुलाई अँगालेर बाँच्ने ? फार्नबोरोह अनि अल्डरसट एरियालाई यूकेमा नेपालीहरुको राजधानीको रुपमा लिने गरिएको छ । त्यहाँ विशाल व्यवसायसहित नेपाली संस्कारसहित ९०००० जति नेपालीमूलका बासीहरुको बसोबास छ । सम्पूर्ण जनसख्याको १० प्रतिशत ओगटेको त्यो संख्या नगण्य पक्कै होइन । यो ठूलो संख्याको सहभागिता स्थानीय सामाजिक संरचनामा कस्तो छ त ? त्यही क्षेत्रको प्रतिनिधित्व गर्ने एक एम.पी.ले त्यो प्रतिशतलाई सामाजिक कोढको रुपमा सम्झँदै आफ्नै त्यही समझलाई प्रधानमन्त्रीको नजरमा लाने प्रयत्न सार्वजनिक रुपमा गरेका छन् । यसको मतलव, नेपालीमूलका रशमोर बोरोहबासीहरुको औकात कस्तो रहेछ त स्थानीय नजरमा भन्ने स्पष्ट हुन्छ । नेपालीहरुका विविध जातिहरुलाई आफ्नो आफ्नो समूह चाहिन्छ, आआफ्नो परिवेश चाहिन्छ, यो स्थानीय नजरमा ‘ओभर एस्सेसिभ कम्युनल एसेस्मेन्ट’ हो, जसको पराकाष्ठा भनेको समाजको टुक्रे संरचना हो । प्राकृतिक रुपमा यसको अर्को परिक्रम भनेको जातिगत घृणाको विदुषित परिवेशको सिर्जना हुनु हो, त्यो अवश्यम्भावी रहन्छ पक्कै नै । धर्म तथा जातिका आधारमा विभाजन हुने समाजमा रहनसहनलगायतका प्रकारहरुमा एकरुपता कहिल्यै हुँदैन र त्यो नै समाजलगायत देशको लागि घातक सावित हुन्छ ।
तर एउटै क्षेत्रको बासिन्दा भएको आधारलाई पनि नजरअन्दाज गरी समस्त मूललाई नै सामाजिक दृष्टिवोधमा नकारा सावित गर्ने एम.पी. हावार्थको प्रयास निन्दनीय हुनु जरुरी भने छ, त्यसमा सम्वन्धितहरुले आफ्नो असन्तोषको जाहेर औपचारिक रुपमा राख्नेछन् र यूकेको समाजसापेक्ष बन्दछन् भन्ने हामीले विश्वास भने गरेका छौं ।