उहाँलाई सम्झँदा -जीत गुरुङ

उहाँलाई सम्झँदा -जीत गुरुङ


हामी जहाँ जन्मियौं हुर्कियौं, जसको छातीमाथि खुट्टा टेकी शिर ठाडो पार्दै अगाडि बढ्न सिक्यौं, जहाँको अन्न पानीले आज हाम्रा हात पाखुरा बलिया भएका छन् त्यो हाम्रो मातृभूमि हो। अनि जहाँ हामी जस्तै जीवनशैली पछ्याउदै आएका वरपर मानिसको जमात, जसले आत्मियताको डोरीले बांधेर आफ्नोपनको आभास दिन्छ, त्यो हाम्रो समाज हो। यही समाजको क्रियाकलाप, संस्कार र मार्गदर्शनबाट हामी आफ्नो भविष्य सुनिश्चित गर्छौं। यही मातृभूमि र समाजबिनाको आफ्नो परिचय हामी कल्पना गर्न पनि सक्दैनौं। तर जब हाम्रो जमात वा समाज नै बिभिन्न बिसंगति र बिक्रितिले भरिपुर्ण छ भने निश्चय नै हामीले अनावश्यक समस्याहरु झेल्नु पर्ने हुन्छ अनि हाम्रो प्रगति सीमित हुन जान्छ। त्यसका लागि हाम्रा केही अग्रजहरुले हाम्रा मार्ग प्रशस्त गर्नका लागि आफ्नो ज्ञान बिवेक र सामर्थ्यले भ्याएसम्म समाजमा ब्याप्त बिसंगति र कुरितीहरु छिमल्न धेरै योगदान दिएका छन् जसले गर्दा आज हाम्रो समाज धेरै हदसम्म सुधारिंदै र जीवन सरल हुम्दै आएको छ। तिनै अग्रजहरुमध्य तमु आदिकवि श्री हर्क बहादुर गुरुङज्युको सम्झनाले केही दिनदेखि मलाई तड्पाइरहेको छ, एउटा नजानिँदो शून्यताले सताइरहेको छ। यो सम्झनालाई म तपाई श्रदय पाठकसमक्ष ब्यक्त गर्न चाहन्छु।

आजभन्दा ७७ बर्षअगाडि बिक्रम सम्बत १९९३ साल माघ ११ गते स्याङ्जा जिल्ला, फेदीखोला गाबिस वार्ड नं ६ साल्मी गाउँ सामान्य परिवारमा बुवा वेद बहादुर गुरुङ र आमा बुद्धिश्री गुरुङका माइला छोराका रुपमा जन्मनु भएका हर्क बहादुर गुरुङ सानै उमेरदेखि गीत-संगीतमा खुब रुची राख्नुहुन्थ्यो। घर नजिकैको दामगाडे स्कुलबाट उहाँले आफ्नो प्रारम्भिक शिक्षा शुरु गर्नु भयो। अलि ठूलो भएपछि उहाँले दौंतरी साथीभाइहरुसँग मिली गाउँ-घरमा चल्ने सुनिमाया र यानिमाया भाकाका गीतहरुमा आफ्नो मीठो स्वर मिलाउन शुरु गर्नु भयो। गीत गायन प्रतिको उहाँको अत्त्यधिक लगावको कारणले गर्दा शैक्षिक क्षेत्रमा उहाँले चाहे जति प्रगति गर्न सक्नु भएन। दामगाडेबाट शुरु भएको उहाँको शैक्षिक यात्रा पोखराको मल्टिपल हाइस्कुल हुँदै काठमाण्डौको जुद्दोदय हाइस्कुलबाट उहाँले प्रवेशिका पास गर्नु भयो। त्यसपछि उहाँ सम्पूर्णरुपमा आफ्नो रुचीको बिषय गायन क्षेत्रमा लाग्नु भयो। त्यति बेलाको अनपढ अनि कुरिती र बिसंगतिले भरिएको आफ्नो समाजको अवस्था देख्दा उहाँको मन छियाछिया हुन्थ्यो। बाहिरी विश्व चन्द्रमामा मानिस उतार्न होडबाजी गरिरहेका बेला हाम्रो समाज त्यसलाई दैवी शक्तिपिठ मानेर पुज्दै अध्यारोमा रुमलिँदै थियो। यसको कारक तत्व सामजिक कुसंस्कार र बिक्रितिले पुरिएर रहेको ज्ञान र शिक्षाको अभाव नै हो भन्ने उहाँको ठहर थियो। त्यसैले उहाँले सामाजिक जागरण ल्याउनका लागि विशेष गरी आफ्नो स्थानीय गुरुङ भाषा र नेपाली भाषामा थुप्रै गीत कविताहरु रचना गरी गाउँ-टोल, मेला-पात सबैतिर सुनाउँदै हिँड्नु भयो। उहाँका गीतहरु यति कर्णप्रिय हृदयस्पर्शी थिए कि, ती गीतहरु सुनेर दर्शक श्रोताहरु भक्कानो हालेर रुन्थे। उहाँले विशेष गरी समाजमा ब्याप्त कुसंस्कारहरु, छोरी चेलीहरुको जबर्जस्ती बिवाह, बहु-बिवाह, छोरी चेलीहरुलाई शिक्षाको बदला गरगहनाले सजाउने होडबाजी, संस्कृतिको नाममा फजुल खर्च, जुवातास जाँड रक्सी सेवन र बिदेशी सेनामा भर्ती हुने चलनका बिरुद्द जन चेतना जगाउन त्यसका मर्महरुलाई सरल शब्द, मीठो स्वर र लयमा ब्यक्त गर्दै जानु भयो। उहाँका ती गीत रचनाबाट प्रभावित भएर तत्कालीन केही समाजसेवीहरुले त्यसलाई लिपिबद्द गरी एउटा गीती पुस्तक प्रकाशन गर्न सघाउनु भयो। प्रकाशित पुस्तक गाउँ-टोल, शहर-बजार जताततै फैलियो। उहाँका ती गीतहरु हरेक मेला-पात्, जात्रा जमघट्, चाडवाडमा जताततै गुन्जन थाल्यो। उहाँ आफैं पनि ती समाजमा विद्यमान कुसंस्कार र कुरितीहरुबिरुद्द जनचेतना जगाउने मीठा गीतहरुलाई स्याङ्जा, कास्की, पर्बत, तनहुं, लमजुंग जिल्लाका बिभिन्न गाउँघर, मेला-जात्रामा गएर घन्काउनु भयो। यस क्रममा कुनै ठाउँमा उहाँलाई ‘पढेलेखेको जवान मान्छे, बिदेशी सेनामा भर्ती नभैकन गाइने जसरी गाउँघर चाहार्दै गीत गाउँदै हिँड्ने’ भनी अपहेलना गर्ने प्रयास पनि भयो। तर जब उहाँका मीठो स्वर र लयमा स्थानीय बेदना र त्यसको उन्मुक्तिका शब्दहरु गुन्जन थाल्दथे, तब सबै दर्शक श्रोता मन्त्र मुग्ध हुन्थे। उहाँले आफ्नो बलबुताले भ्याएसम्म आफ्नो जन चेतना बिस्तारको अभियानलाई कायम राखनुभयो। उहाँको लोकप्रियता आफ्नो जन्मस्थान फेदिखोलाभन्दा बाहिर धेरै टाढा-टाढासम्म फैलिँदै गयो। उहाँको सर्बाधिक चर्चित गुरुङ गीत ‘क्युदी थुँलेन् दुःख मुन वर्ष मुलरी खैले ह्याबा खैले टीबा आगुइ ह्युलरी’ (वर्षाको याममा समेत पिउने पानीको समस्या भएको, कसरी जाने कसरी बस्ने त्यो पराइ ठाउँमा) आजपर्यन्त सर्वप्रिय तमु गीतको रुपमा रहेको छ।

बि सं २०१७-१८ सालतिर एक पटक उहाँले तत्कालीन अक्राङ गाउँका मुखिया९माइला सुब्दार० स्वर्गीय श्री पदम बहादुर गुरुङको घरमा बिशेष कार्यक्रम गरी वरपर सबैलाई बोलाएर आफ्ना गीतहरु सबैलाई सुनाउनु भएको थियो। त्यस कार्यक्रममा उपस्थित स्थानीय श्री दुर्गा बहादुर गुरुङ र बाबुलाल गुरुङ उक्त कार्यक्रमको रौनक अझै पनि झल्झली सम्झनु हुन्छ जुनबेला उहाँहरु धेरै सानो हुनु हुन्थ्यो। त्यसैगरी कास्की जिल्लाअन्तर्गत निर्मल पोखरीको एउटा कार्यक्रममा उहाँको गीत सुनेर स्थानीय महिला दिदी बहिनीहरु डाँको छाडेर रुँदा कार्यक्रम नै केहीबेर रोक्नु परेको थियो। यसरी दर्शक श्रोताको मनभित्र पसेर उनीहरुको दुस्ख पीडालाई शब्दमा उनेर मीठो स्वरमा लयबद्द गर्न सिपालु श्री हर्क बहादुर गुरुङका धेरैजसो गीत रचनाहरु संकलन र प्रकाशनको अभावमा त्यसै हराएर गए, त्यति मात्र हैन प्रकाशित गीतहरुलाई संगीतबद्द गरी संग्रह गर्न नसक्दा हाम्रो पुस्ताले त्यसलाई हुबहु श्रवण गर्न पाएनौं। यो हाम्रा लागि ठूलो दुर्भाग्य हो। आज उहाँका केही गीतहरु बिभिन्न गायक-गायिकाको स्वरमा संगीतबद्द भै बजारमा उपलब्ध छ तर त्यहाँ उहाँको नामसम्म हुँदैन, यसबाट उहाँको आधिकारिकतामा समेत आँच आएको हामीले अनुभव गरेका छौं।

आजभन्दा आधा शताब्दीअगाडि हाम्रो समाजलाई समुन्नत बनाउन त्यसलाई जेलेर रहेको बिक्रिति र बिसंगतिको काँडा पन्छाउँदै अगाडि बढ्न हामीलाई गीत र कवितामार्फत मार्ग दर्शन गराउनु हुने हाम्रा अग्रज श्रश्टा श्री हर्क बहादुर गुरुङ विशेष गरी गुरुङ समाजको एउटा नक्षत्र हुनुहुन्छ। उहाँले गण्डक क्षेत्रमा प्रसस्त बोलिने गुरुङ्९तमु० भाषामा सर्वप्रथम गीत-कविताहरु रचना गरी गुरुङ समुदायमा जनचेतना फैलाउने अभियान शुरु गर्नुभएको थियो। देशभित्रका सबै जाति, वर्ग र समुदाय समुन्नत भएर नै त देशको बिकास हुन्छ। तर राज्यको एक देश एक भाषाको नीतिअन्तर्गत खुम्चिएर रहेको उहाँको योगदान प्रजातन्त्रको उदयपछि बल्ल सर्बसाधारणको जानकारीमा आयो अनि उहाँलाई गुरुङ अथवा तमु भाषाका आदिकवि घोषणा गरियो। सामजिक संघ संस्थाहरु पनि थुप्रै खुले, त्यसपछि त उहाँलाई मान सम्मानको ओइरोनै लाग्यो तर त्यति बेला उहाँका ती सिर्जनात्मक कोषहरु जोशहरु सबै थाकिसकेका थिए, जनचेतनाको अभियानले विश्राम लिइसकेको थियो। सामान्य जीवनशैली मन पराउने अनि परिवारभित्रै रमाउन चाहने तमु आदिकवि श्री हर्क बहादुर गुरुङको जीवनमा, आदिकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनमा सधैं लक्ष्मीको अभाव भए झै उहाँको जीवनमा पनि हर्षको अभाव खड्किरह्यो। उहाँ साह्रै सरल र अन्तर्मुखी स्वभावको हुनु हुन्थ्यो। यही कारणले गर्दा उहाँ प्रतिभा र योग्यता भैकन पनि धेरै पछाडि पर्नु भयो। उहाँ आफूले प्रारम्भिक शिक्षा पाएको दामगाडे स्कुलमा पहिले अध्यापक र पछि प्रधान अध्यापक भै केही काल सेवा गर्नुभयो। त्यसपछि सरकारी जागिरको क्रममा स्याङ्जा र कास्की जिल्लाका माल्पोत कार्यलय र सहकारी कार्यलयमा खरदार पदमा रही सेवा गर्नु भयो। त्यसैले उहाँलाई नजिकबाट चिन्नेहरु खर्दार हर्क बहादुर पनि भन्छन्। सरकारी जागिर पछि, उहाँ बसोबासगर्दै आउनु भएको फेदिखोला बजार नजिकैको स्कुलमा र प्रौड शिक्षा पढाउनु को साथै स्थानीय फेदिखोला समाजको जिम्मेवार पदमा रही विकास निर्माणमा सक्दो योगदान दिंदै जानुभयो। कुनै जमानामा उहाँ र नेपालकै चीरपरिचित विद्वान डा स्वर्गीय श्री हर्क गुरुङ घनिष्ट मित्र रही मितेरीसमेत लगाउनु भएको थियो। पढाइको सिलसिलामा उहाँहरु निकै लामो समय एउटै कोठामा सगै बस्नु भयो। ती गौरवका दिनहरु उहाँ जिवनको अन्त्यसम्म सम्झिरहनु हुन्थ्यो।

जीवनको अन्तिम अवस्थामा उहाँ मृगौलासम्बन्धी रोगबाट पीडित भई काठमाण्डौस्थित नर्भिक हस्पिटलमा भर्ना गराइनु भएको थियो। यही क्रममा गत साउन १ गते उहाँको स्वर्गबास भयो अनि भोलिपल्ट साउन २ गते पोखरा बौद्ध सदनमा बिशेष कार्यक्रम र सम्मानका साथ वहाँको दाह संस्कार गरियो। उहाँकी श्रीमती, एक छोरा अर्जुन गुरुङ र एक छोरी बन्दना गुरुङ हुनुहुन्छ। आज उहाँको पार्थीव शरीर हामीबीच छैन तर उहाँका बिचार र उहाँले देखाएका बाटाहरु हाम्राअगाडि लमतन्न पसारिएका छन्, हामीले यसलाई पछ्याउँदै एउटा समुन्नत समाजको निर्माण गर्नु छ।