नेपाल र नेपालीको हित सबैभन्दा ठूलो

नेपाल र नेपालीको हित सबैभन्दा ठूलो


– स्वयम्भूनाथ कार्की

कुनै राष्ट्र केवल भूगोल मात्र होइन, भूगोल त केवल ढाँचा हो । त्यसमा संस्कृति तथा परम्परा अनि त्यसले जोडिएका जनता नै त्यो ढाँचाका प्राण हुन् । यो कसैले आधुनिक युगमा परेको परिभाषा होइन, सनातन परम्पराको आधारभूत कुरा हो । यस कुरालाई प्रमुखता दिइएका अनेकाँै प्रसङ्गहरू धार्मिक ग्रन्थहरूमा मात्र होइन, इतिहासमा पनि प्रसस्त पाइने गर्दछन् । पाण्डवले इन्द्रप्रस्थ बसाउँदा उनीहरूसँग भूगोल थिएन, तर परम्परा अनि जनता थिए । त्यसैले खाण्डव वनमा डढेलो लगाएर प्राप्त स्थानलाई इन्द्रप्रस्थ बनाएर हस्तिनापुर नै लोभिने राष्ट्र निर्माण भयो ।

राष्ट्रको हितभन्दा महत्वपूर्ण अरू कुनै कुरा हुुन सक्दैन । राजकाजको जटिलता हल गर्न सर्वसाधारणको सम्मती र सल्लाह लिएका शासकहरूले नै इतिहासमा सफल शासकको रूपमा स्थान बनाएका छन् । सनातन शास्त्र भन्छ जनता जनार्दन अर्थात् विष्णु हुन् र राजा त्यही जनार्दनको अंश । जनता जनार्दन भनेर भन्ने चलन आज पनि कायम छ । शासनमा बस्ने जोकोहीले पनि जनता जनार्दन हुन् भन्ने तथ्य बिर्सियो त्यसको पतन निश्चित छ । मगध सम्राट बिम्बसारलाई पराजित गरेर पनि वैशाली र अन्य करिब १८ गणतन्त्र पतन हुने थिएनन् । यो पतन गणतन्त्र सञ्चालकहरूले राष्ट्रको एकता होइन, कुल (जातजाति) प्रधान गरेर गरिएका सकारात्मक विभेदले समाप्त पारेको थियो ।

नेपालको एकीकरण गर्ने शाहवंशका पृथ्वीनारायण शाह यदि आफ्नो राज्य गोर्खाका बाह्र हजार घरधुरीका जनताको सम्मती र सहयोगमा नचलेका भए आधुनिक नेपाल सम्भव नै थिएन । अझ गोर्खाका घले राजाहरूले जनताको कुरा सुनेका भए द्रव्यशाह गोर्खाका राजा नै हुन सक्ने थिएनन् । जनतालाई सर्वसुलभ र छिटो न्याय दिएर रामशाहले ‘न्याय नपाए गोरखा जानू’ भन्ने उखान नै चलाएका थिए । शाहवंशमा जो समर्थ राजा देखिए सबैले लोकसम्मतीलाई शासनको आधार बनाए । राजा राजेन्द्रले यही कुरा छोड्दा राजा र प्रजाबीचको सम्पर्क सूत्र कमजोर भयो । उनको यो कमजोरीले नेपाल १०४ वर्षसम्म अस्वाभाविक उत्तराधिकार नियम भएको जहानियाँ शासनको सुरुङमा फस्न बाध्य भयो ।

सन्तानमा उत्तराधिकार जाने परम्परा तोडेर भाइमा उत्तराधिकार जाने व्यवस्था जंगबहादुरले गरेका थिए । यो त्यसबेला क्रमभङ्ग नै थियो । एक ठूलो परिवर्तन थियो र अग्रगमन नै थियो । राजालाई दायरामा बाँधेर केवल भनेको ठाउँमा लालमोहर लगाउनैपर्ने गरिएको थियो । यो नै आलङ्कारिक राजाको प्रयोग थियो जो बेलायतपछि सम्भवतः नेपालमै भएको थियो । यो अवस्थाको कारक रणबहादुर शाहले शिशुराजा बन्नुपरेको बाध्यताले थियो भन्न सकिन्छ । यसरी नेपालले सक्षम, संवैधानिक आलङ्कारिक र शिशुराजाको अवस्थाको अनुभव गरिसकेको छ । वर्तमानमा गणतन्त्र चाख्दै छ ।

यी सबै अवस्थामा कुन बेलामा एक्लो र निरीह भएको नागरिकले पनि आफू राज्यको निमित्त महत्वपूर्ण भएको ठानेको छ । अनि राज्यले आफ्नो ध्यान राखेको अनुभूति गरेको छ, उत्तर दिन आवश्यक नै छैन । कथनी र करनीमा भएको अन्तर जनताले भोगेर जानेको छ । त्यसैले वर्तमानमा नेपाली जनता असन्तुष्ट भएको छ । जब कोही असन्तुष्ट हुन्छ तब मनको भडास निकाल्ने कुनै पनि मौकाको उपयोग गर्दछ । चाहे त्यो मौका नैतिक होस् वा नहोस् । संविधान पारित गर्ने प्रक्रियासँगै वर्तमानसम्ममा देखिएका अनेकौँ असहिष्णु र कुनै–कुनै त अमानवीय आक्रोशको प्रदर्शन हो ।

नेपालमा अनेकौँपटक सत्ता र व्यवस्था परिवर्तन भए । हरेक श्री ३ ले लिखित नियम अत्यन्त कम र हुकुमी नियम ज्यादा चलाए । यसैले ती हरेक व्यक्ति परिवर्तन व्यवस्था परिवर्तनसरह थिए । जंगबहादुर, चन्द्रशमशेर र जुद्धशमशेरबाहेक अरू राणा श्री ३ वर्तमानमा इतिहासकारबाहेक अरूले सम्झेको छैन । वीर अस्पताल अनि वीरगञ्जले पनि वीरशमशेर सम्झाउन्न । चन्द्रनिगाहपुरले त अझ आफूलाई चपुर नै बनायो । न अमलेखगञ्जले आफ्नो इतिहास सम्झन्छ । किनभने उनहरूका यी कीर्तिहरू जनताको हितको भन्दा जनतालाई गुन लगाउने प्रयोजनले भएका थिए । जंगबहादुरलगायतकाले केही मात्रामा भए पनि आफूलाई जनतासँग जोडेका थिए ।

हरेक परिवर्तनसँगै नेपालीले पुरानो व्यवस्था चटक्कै त्यागिदिए । केवल राजसंस्था मात्र एक यस्तो कुरा रहेको छ जसलाई नेपालीले आफ्नो मनमा राखेका छन् । यो अनुभूति गणतन्त्रका अभियन्ताहरूलाई पनि भइसकेको छ । त्यसैले बेलाबेलामा राजाले शुरुदेखि नै भन्ने गरेको जनताले चाहे भने राजसंस्थाको पुनस्र्थापना सम्भव छ भन्ने कुरा भन्दै छन् । पुगनपुग दश वर्ष राजा शब्दसमेत उच्चारण गर्न बन्देजजस्तै लगाएकाहरू अहिले गणतन्त्र संस्थागत (?) गरिसकेपछि फेरि त्यसको रक्षा गर्ने जे पनि गर्ने अभिव्यक्ति दिन विवश छन् ।

संस्कृति तथा परम्परालाई जनता जोडनेभन्दा तोड्ने औजार बनाएकाले गणतन्त्र थाम्न कठिन भइरहेको छ । जनताको मनमा राजसंस्था झन् गहिरो गरेर बस्दै छ चाहे राजसंस्थाका उत्तराधिकारीले अरुचि नै देखाउन । कुनै पनि बेला राजसंस्थाको पुनस्र्थापना हुने डर बलवान हुँदै छ । त्यसैले विदेशीले स्थापना गरिदिन लागेको हल्ला चलाउन परेको छ । नेपालका भुइँचालो प्रभावित क्षेत्रमा सहयोग गर्न रोक लगाएको राज्य बेलायतका राजकुमारलाई त्यहाँ निर्वाध गतिविधि गर्न दिन्छ । बाढीपीडितलाई दार्चुलामा सहयोग गर्न जाँदा राजालाई जेल हाल्ने धम्की दिनेहरू विदेशी राजकुमारलाई रातो तुल बिछ्याउँछन् ।

अनेकौँ नयाँ सङ्गठनहरू गठन गरिएका छन् । तर, जनता र राष्ट्रको हितको निमित्त काम गर्ने कार्यक्रम दिने हविगत र ल्याकत कसैमा छैन । त्यसैले कहिले कुचो बोकेर सडक बढार्न लाग्छन् कहिले बागमतीबाट प्लास्टिक बटुल्न लाग्छन् । जनताको दैनिकीमा असर गर्ने वस्तुहरूको अभाव हटाउनुभन्दा भाषण गर्नु, कुचो लगाउनु अनि प्लास्टिक टिप्नु महत्वपूर्ण काम भएको छ । स्वदेशमा रोजगारी सिर्जना गर्ने कुरा भाषणमा मात्र सीमित छ । त्यसैले राजा महेन्द्रको कार्यकाल र त्यसमा भएका जनकल्याणका कुराहरूको चर्चा जनताले गर्दै छन् । गणतन्त्र बचाउने हो भने नेपाल र नेपालीको हित सबैभन्दा ठूलो मानेर काम गरे हुन्छ । तर, बिनाभागबन्डा गणतन्त्र चल्न सकेको देखिन्न, त्यसैले यो असम्भव छ ।