नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी


कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन् ।

संस्थापन नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहको नेवि संघले शुल्क वृद्धि घटाउने, प्रयोगशाला, लाइब्रेरी, खेलकुद सामग्री, पर्खाल निर्माणको माग अघि सारेर तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख र प्रशासन कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

देउवा निकट नेपाल विद्यार्थी संघका महाधिवेशन प्रतिनिधि गोरखबहादुर रौलेले विद्यार्थीको ढाड सेक्ने गरी एकाएक शुल्क वृद्धि गरिएको विरुद्धमा तालाबन्दी गरिएको बताए । उनका अनुसार नेवि संघले विगतमा पटकपटक क्याम्पस सुधारका लागि अघि सारेका मागसमेत बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गरिएको छ । क्याम्पस प्रशासनलाई दबाब दिन मात्रै तालाबन्दी गरेको र मागप्रति क्याम्पस प्रशासन गम्भीर नभए कडा संघर्ष गर्ने उनले जानकारी दिए ।

विद्यार्थीले लाइब्रेरीमा समेत पर्याप्त पुस्तक, प्रयोगशालामा आवश्यक सामग्री, खेलकुद सामग्री तथा छात्रावासमा घेराबार लगाउन माग अघि सारेका राससले जनाएको छ ।