परिवर्तनका भोका युवा-अजम्बर राई काङमाङ

परिवर्तनका भोका युवा-अजम्बर राई काङमाङ


तेस्रो पुस्तालाई पहिलो पुस्तासँग सीधै संवादमा जानबाट रोक्न दोस्रो पुस्ता तापका कुचालकझैँ उभिन्छन् ।
‘दाँवा र दिल्पा गाउँ ठूलो,
खानु त के छ नाउँ ठूलो !’

दाँवा दिल्पा भोजपुर जिल्लाका चर्चित गाउँहरू हुन् । सिद्धेश्वर र गुप्तेश्वर गाविसलाई दाँवा तथा नागी र अन्नपूर्ण गाविसलाई दिल्पा भनेर चिनिन्छ । सिदेश्वर, गुप्तेश्वर, नागी र अन्नपूर्णजस्ता गाविसहरू सरकारी श्रेस्ता तथा अभिलेखमा भए पनि दाँवा र दिल्पाजस्ता शब्द जनबोलीमा मात्रै बाँचेका छन् । घरमूली दिल्पालीले पाहुनालाई खानपिन गराएपछि शिष्टाचारवश व्यक्त गरेको भावनामाथि उद्धृत लोकभाकामा बाँचिरहेको छ । पाहुनाले कस्तो जवाफ दिए, त्यसको अन्तरा त दिल्पामा सुनिँदैन, तर घरमूलीको यो सोधाइ राजनीतिमा लागेका युवा पुस्तामा भने हुबहु मिलेको देखिन्छ, ‘खानु त के छ नाउँ ठूलो !’

नेपाली राजनीतिमा सक्रिय युवाहरूको कुरो चल्नासाथ ट्युनिसिया र इजिप्टजस्ता देशहरूमा चलिरहेको जनआन्दोलनको कुरो चल्छ । युवाहरू नै त्यहाँको राजनीतिक परिवर्तनका पनि संवाहक भएका छन् । युवा मोहम्मद बोबाजीजी ट्युनिसियाको राजनीतिक परिवर्तनको विम्ब भए । उनको आत्मदाहले तीन दशक लामो बेन अलिको शासन मात्र ढालेन, ट्युनिसिया आफैँ ठूलो राजनीतिक परिवर्तनको संघारमा उभिएको छ । कलेज स्नातक बोबाजीजी शैक्षिक बेरोजगार थिए । पारिवारिक लालनपालनका लागि ठेलागाडामा तरकारी बेच्ने पेसा अपनाएका उनलाई भ्रष्ट प्रहरीले ठेलागाडा भत्काएर थानामा थुने । अनि उनको पकेटको पैसा लिएर उनलाई छाडियो । स्वाभिमानमा लागेको चोट मेट्न उनले आत्मदाहको कठोर बाटो रोजे ।

बोबाजीजीको आत्मदाहरूपी आगोको लप्का ट्युनिसियाभरि जनआन्दोलनको आँधी भएर उठ्यो र त्यसले छिटै सीमा पार गरेर अहिले इजिप्टमा सल्किँदैछ । इजिप्टका युवाहरू सडकमा ओइरिएका छन् । दुई दशकभन्दा बढी सत्तामा मोज गरेका होस्नी मुबारक ठूलो राजनीतिक संकटमा परेका छन् । बर्दीधारी सैनिक नारा लगाइरहेका युवालाई आफ्नो काँधमा उचालेर बोकिरहेका मात्र छैनन्, राष्ट्रपति मुबारकको तस्वीर पनि घृणापूर्वक च्यात्दैछन् । आगोको यो लप्का यमन हुँदै मध्यपूर्वतिर फैलँदैछ ।

नेपालमा पनि ठूल्ठूला राजनीतिक परिवर्तनका लागि युवाहरूकै अतुलनीय योगदान छ । सफल जनआन्दोलन २०६२ र ६३ मा त २१ शहीदमध्ये ४० वर्षमुनिका १७ जना त युवा नै थिए । एनेकपा माओवादी, नेकपा एमाले र नेकाको केन्द्रीय कमिटीमा धेरैजना युवा निर्वाचित पनि भएका छन् । भावुक, अपरिपक्व, अविश्वसनीय भनी बेवास्ता गरिएका युवाका मुद्दाहरू विस्तारै शासकीय तहमै सम्बोधन हुँदैछन् । तैपनि किन राजनीतिक बजारमा युवाहरूको निर्णायक हस्तक्षेप देखिँदैन ?

एमाले र कांग्रेसको केन्द्रीय महाधिवेशनमा घोषित अघोषित रूपमा दुई-दुईवटा प्यानल बने । युवाहरू विचारको होइन नेताका शिष्य भए । भूपि शेरचनको एक कवितामा उल्लेख भएजस्तै क्यारेमबोर्डका रङ खुइलिसकेका गोटी भए जसलाई गतिशील बनाउन नेतारूपी स्ट्राइकरले हिर्काउनै पर्ने भयो । केन्द्रीय कमिटीमा निर्वाचित हुन त के उम्मेदवार हुनै पनि प्यानलको लिस्टमा पर्नुपर्ने सिन्डिकेट प्रणाली अपनाइयो । निर्वाचनको बेला जाज्वल्यमान भनिएका युवा स्वयंले समेत कुन प्यानलमा पर्ने भनेर बिक्री मूल्यको ट्याग झुन्ड्याए । अपवादबाहेक स्वतन्त्र उम्मेदवारले जित्न सकेनन् ।

निर्वाचित भइसकेपछि पनि स्थायी प्यानल बन्यो । प्यानलमा परेर जितेपछि युवाहरूले आफ्नो सम्पूर्ण ऊर्जा, शक्ति, विचार र स्वत्त्व प्यानलका नेतालाई बुझाएको ठाने । नेताहरूले पनि युवालाई राजनीतिक बँधुवा मजदुरभन्दा बढी ठानेनन् । नीतिभन्दा नेता प्रधान हुनथाल्यो । मुद्दाभन्दा गुटको दृष्टिकोण बलशाली हुनथाल्यो । स्वतन्त्र, सत्य र आलोचनात्मक दृष्टिकोण एक्लिने अवस्था बन्न थाल्यो । नेताहरूले पनि युवाका दृष्टिकोणका आधारमा होइन तिनका टाउको गन्तीका आधारमा आफूलाई सबल र निर्बल तुलना गर्न थाले । यसले वस्तुनिष्ठ निर्णय असम्भवप्रायः तुल्याइदियो । गुण, दोषको आधारमा समर्थन वा विरोध गर्ने परिपाटी कमजोर भयो । के-के न गर्छौँ भनेर निर्वाचित युवाहरू पहिलो प्रहरमै निकम्मा हुन थाले ।

पालुङटारको विस्तारित बैठकपछि माओवादी युवाहरू पनि विभिन्न नेता समूहमा प्रत्यक्षतः विभाजित हुँदैछन् र अन्ततः यो विभाजनले एमाले र कांग्रेसको पथ पछ्याउने निश्चित छ । फुटबलमा गोल हान्ने खेलाडी चम्किएजस्तै राजनीतिमा पनि शक्ति र पद प्राप्त व्यक्तिलाई सफल मान्ने प्रवृत्ति नै यसका निम्ति जिम्मेवार छ । २०४६ सालपछि उदाएका पहिलो पुस्ताका नेताहरू प्रायः सबैले शक्ति र पदबाट व्यक्तिगत समृद्धि हासिल गरिसकेका छन् । यो अवसरबाट वञ्चित दोस्रो पुस्ता आफ्नो पालो नआउने र दलगत रूपमा समेत कमजोर होइने मानसिकताबाट भयभीत छ । अघिल्लो पुस्ताको समृद्धिबाट आहत यो पुस्ता तेस्रो पुस्ताबाट पनि आफ्नो भाग खोसिनेमा सतर्क छ । ‘मौका आउँछ, पर्खिंदैन’ भन्नेमा विश्वस्त यो पुस्ता अराजनीतिक, अवैधानिक एवं असंवैधानिक बाटो अपनाएर भए पनि जिन्दगीमा एकपटक मन्त्री हुनुमा मरिहत्ते गरेर लागिरहेका छन् ।

दलहरू सनैःसनैः स्वार्थ समूहका अस्थायी मोर्चाजस्ता बन्दैछन् । युवा नेताहरू पहिलो पुस्तासँग पनि कुरा मिलाउने र तेस्रो पुस्तासँग पनि मैत्री हुनखोज्ने अवसरवादबाट ग्रसित छन् । तेस्रो पुस्तालाई पहिलो पुस्तासँग सीधै संवादमा जानबाट रोक्न दोस्रो पुस्ता तापका कुचालकझैँ उभिन्छन् । यो पुस्ताको पेन्डुलम कार्यशैलीलाई चिर्न असमर्थ भएर पनि विभिन्न दलमा उल्लेख्य संख्यामा क्रियाशील युवापंक्ति किंकर्तव्यविमुढ अवस्थामा छ ।

समाजको उपभोक्तावादी चिन्तन र प्रवृत्तिबाट सबैभन्दा बढी युवा पुस्ता, वस्तुतः राजनीतिक रूपमा तेस्रो पुस्ता बढी संक्रमित छ । उत्पादनको काममा सहभागी नहुने, राम्रो लाउने, मीठो खाने र साधन, स्रोतको दृष्टिकोणबाट समेत अब्बल हुनुपर्ने मोहले गाँजेको छ । नवयुवाहरू कलेजको स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित हुँदै भ्रष्टाचारको आहालमा डुबिसकेका मात्रै होइन भ्रष्टाचार कसरी गर्ने भन्नेमा सानै उमेरमा विद्यावारिधि गरिसकेका हुन्छन् । अघिल्लो पुस्ताका अगुवाले सिंहदरबारमा फलामे छड र सिमेन्टमा गरेका घोटाला यस पुस्ताले स्थानीय तहमा उपभोक्ता समितिहरूमा बसेर बाँसका भाटा र माटोको हिलोमा घोटाला गरेर भ्रष्टाचारलाई विकेन्द्रीकरण गर्नमा ऐतिहासिक योगदान पुर्‍याइरहेका हुन्छन् । आशालाग्दा यस पुस्ताका युवाहरूको यस्तो क्रियाकलापले आमजनतामा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने मानसिकता प्रबल हुँदै छ ।

राजनीतिक दल, विचार, सिद्धान्त र कार्यक्रमबाट निर्देशित हुन्छन् र दल जहिलेसुकै वर्गसापेक्ष हुन्छ भन्ने तथ्य बुझ्न नसक्दा युवा पुस्ता असैद्धान्तिक, अवसरवादी र भौतिक सुखको पछि दगुर्ने प्राणीमा बदलिँदै छ । सैद्धान्तिक प्रस्तावना भौतिक सुखसँग साटफेर गर्ने विनिमयको वस्तुका रूपमा बुझ्ने वा जस्तोसुकै असैद्धान्तिक कुराहरूसँग पनि लाचार सम्झौता गर्ने प्रवृत्तिले प्रश्रय पाउँदै छ । आफूले गरेका असैद्धान्तिक वा जनहितविरोधी कामलाई सिद्धान्तको रंगीन जामा वा जलप लगाउने चेष्टा गरिन्छ । यस्तो प्रवृत्तिले अन्ततः दललाई विचारशून्य, सिद्धान्तहीन र कार्यक्रमविहीन बनाइदिन्छ र भीडबाट निर्देशित दलका रूपमा पतीत गराउँछ ।

अर्को कुरा, एकै पुस्ताका पछिल्ला युवाहरूबीच कसले नेतृत्व गर्ने भन्ने अप्रत्यक्ष उछिनपाछिन छ । एकै छिमलका युवाहरू एकले अर्कोलाई विश्वास नगर्ने, अरूको सक्रियता वा सफलता मन नपराउने र कतिपय सन्दर्भमा त समकालीन दौँतरीको राजनीतिक अधोपतनमा आफ्नो उज्ज्वल भविष्य सुरक्षित भएको ठान्ने घोर आह्रिसे प्रवृत्ति छ । समान दृष्टिकोणवाहक युवाका बीच गरिने अनौपचारिक छलफल पनि दललाई ठीक बाटोमा लान र अगुवालाई उचित निर्णय गर्न दबाब दिनेभन्दा सञ्चारमाध्यमका खपतका लागि प्रायोजित हुन्छन् ।

यसैगरी सामाजिक परिवर्तनका लागि अपनाइने राजनीतिका साधनको पवित्रताबारे अहिलेको युवा नकारात्मक छन् । साध्यको पवित्रता भए जस्तोसुकै साधन अपनाए पनि हुन्छ भन्ने मानसिकतामा छन् । अब त साध्यको पवित्रता पनि गौण हुँदै जाँदैछ । गलत साधन अपनाएर साध्यलाई समेत अपवित्र नबनाउन युवा पुस्तालाई रोक्नुपर्ने अवस्था आइसकेको छ ।

राजनीतिको केन्द्रमा आउन लागेको युवा पुस्ताले पनि अगुवा पुस्तालाई दोष र असफलताको भारी बोकाएर उम्किन पाउँदैन । बरु अगुवा पुस्ताले आफ्नो यौवनकालमा गरेको त्याग, बलिदान र निष्ठालाई अपनाउने कोशिस गर्नुपर्छ । पुस्तान्तर, प्रविधि र प्रवृत्तिले अबका पुस्ताको चरम आकांक्षा र सपनालाई सम्बोधन गर्न अहिलेका तेस्रो पुस्तालाई सापेक्षतः पहिलो पुस्ताको तुलनामा बढी कठिन र महँगो छ । त्यस्तो कठिनाइलाई बढी सहज बनाउन पनि तेस्रो पुस्ता बढी सैद्धान्तिक, योग्य र निष्कलंक हुनु अनिवार्य छ ।

दलभित्र हुर्किरहेको स्थायी प्यानलबादलाई मुद्दा र विचारका आधारमा पराजित गर्न युवाले नै कसिनुपर्ने अवस्था छ । दलभित्रका नेताका होइन नेताले उठाउने मुद्दा र विचारको आधारमा समर्थन वा विरोध गर्ने प्रवृत्तिलाई स्थापित गर्नुपर्छ । सुविधाको पद प्राप्ति र आफ्नो पदोन्नतिका लागि मरिमेट्ने दोस्रो पुस्ताका नेताहरूलाई हावी हुन नदिन युवा पुस्ताहरूकै बलियो एकता सम्बन्धित दलहरूमा प्रदर्शन गर्नुपर्दछ । जिम्मेवार पहिलो पुस्ताको अनुभव, भोगाइ र नेतृत्वलाई सार्थक बनाउन तेस्रो पुस्ताको ऊर्जा, क्रियाशीलता र सिकाइलाई मिसाउनु अनिवार्य छ । समाजमा व्याप्त उपभोक्तावादी चिन्तन र प्रवृत्तिलाई राजनीतिमा युवा पुस्तामार्फत नै भित्र्याएर राजनीतिलाई दुषित बनाउनबाट रोक्नुपर्दछ । विचार, सिद्धान्त, संगठनको मेलबाट भीमकाय भौतिक उपलब्धिहरू हासिल गर्न सकिन्छ र त्यस्ता उपलब्धिहरू सदैव दिगो र जनपक्षीय हुन्छन् भन्ने सत्य स्थापित गर्न युवा पुस्ताले नै बढी मिहिनेत गर्नुपर्दछ ।

नेतृत्व निर्माण एकै दिनमा बन्दैन । सामूहिक हितका लागि सामूहिक प्रयत्नले नै नेतृत्व निर्माण हुन्छ । यसका लागि समकालीन दौँतरीको खुट्टा तानेर होइन उसको हात समातेर मात्रै आफ्नो नेतृत्व स्थापित हुन्छ भन्ने व्यावहारिक अभ्यास नयाँ छिमलका युवाबीच स्थापित गर्नुपर्दछ । साध्यको पवित्रतालाई अपवित्र साधनको प्रयोगबाट नबिटुल्याउन सामूहिक दलगत र व्यक्तिगत व्यावहारिक प्रतिबद्धता आवश्यक छ ।

‘तिमी युवाहरूले पनि केन्द्रीय कमिटीमा पठाएर पनि केही गर्न सकेनौँ !’ भन्ने आमजनगुनासा हामी युवासम्म बाराम्बार आइरहन्छन् । यस्ता गुनासा र प्रश्नहरूको समयोचित र उपयुक्त जवाफ नदिए युवा भनाउँदा हाम्रा अनुहार पनि सग्लिँदैनन् । दिल्पामा पाहुनालाई गच्छेअनुसारको आतिथ्यता प्रदान गरेपछि लोकभाकामा घुमाउरो पाराले सोधिने ‘खानु त के छ नाउँ ठूलो’ भन्ने औपचारिकताको जवाफ दिन त कति सजिलो र सुरक्षित छ, छ । आखिर ट्युनिसियाका बोबाजीजी, इजिप्टका सैनिक सबै परिवर्तनका भोका युवाहरू नै हुन् नि ।

-Aurtour can be reached at [email protected]