नर्भिक हस्पिटलमा अत्याधुनिक एमआरआई तथा सीटी स्क्यान सेवा आरम्भ

नर्भिक हस्पिटलमा अत्याधुनिक एमआरआई तथा सीटी स्क्यान सेवा आरम्भ


नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवामा अत्याधुनिक सुविधादायी एवम् प्रविधिसम्पन्न ३ टेस्ला एम.आर.आई. र विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन थप गरेको छ । अत्याधुनिक सी.टी. स्क्यान र अत्याधुनिक एम.आर.आई. सेवा थपिएपश्चात् नर्भिकले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न सफल भएको जनाएको छ ।

नवजडित सेवाहरूको समुद्घाटन बुधबार आयोजित एक विशेष समारोहबीच पूर्वयुवराज्ञी तथा समाजसेवी हिमानी राज्यलक्ष्मीदेवी शाहले गर्नुभयो । उदघाटन समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सदभावनादूत हरिवंश आचार्य पनि उपस्थित हुनुहुथ्यो । सदभावनादूतद्वयका तर्फबाट हरिवंश आचार्यले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

नर्भिक अस्पतालले जनाएअनुसार निदरल्याण्डमा निर्मित 3.0T इन्जेनिया एम.आर.आई.मा यसको (इन–बोर) सुरूङभित्र श्रब्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न/हेर्न सक्नेछन् । त्यसरी नै एम.आर.आई. प्रक्रियाको चित्र अति विशिष्ट र सुस्पष्ट त हुन्छ नै बिरामीको सेवा/आरामदायितामा पनि यो अतुलनीय रहेको हुँदा यसखाले एम.आर.आई. नेपालमै पहिलो हुनेछ ।

‘अप्रिय/डरलाग्दो आवाज र झन्झनाहट नै एम.आर.आई. गराउने तमाम बिरामीहरूले भोग्दै आएको समस्या हो । यसखाले एम.आर.आई.को सुरुङ्गभित्र झन्झनाहट र अप्रिय आवाजको सट्टा सुमधुर सङ्गीत र मनमोहक भिडियो (श्रब्य–दृश्य) प्रणाली हुनु र यसखाले समस्या रहित विश्वकै पहिलो एम.आर.आई. भएका कारण बिरामीले त्यस्ता समस्या भोग्नुपर्ने वा डराउनुपर्ने समस्या अब छैन । यसमा निरन्तर श्रब्य–दृश्य हुने भएको हुँदा एम.आर.आई. गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् । यो प्रणालीमा सामान्य एम.आर.आई.मा उत्पन्न अप्रिय ध्वनि भन्दा झण्डै ८०% कम (ध्वनि) आवाज उत्पन्न हुनेहुँदा बिरामीले डराउने प्रश्नै उठ्दैन’, नर्भिकले भनेको छ ।

यस एम.आर.आई. प्रणालीमा रहेको स्वचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वास–प्रश्वास रोक्ने, एम.आर.आई. टेबुलको चालबारे बताउने आदि गर्ने हुँदा स्क्यान गर्ने अवधि बदाईदिने र बिरामीको आरामदायिता तथा एम.आर.आई. प्रति तिनको सहयोग पनि बदाउने हुँदा यसलाई पूर्ण आरामदायी मानिएको छ ।

हिमानी शाहद्वारा समुद्घाटित नर्भिकको इमेजिङ सेवाअन्तर्गत विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक १२८ स्लाइसको सी.टी. स्क्यान सेवा पनि समावेश छ । यस सी.टी. स्क्यानमा अन्य सामान्य सी.टी. स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८० प्रतिशतले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेका छन् । यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी÷रोग पत्ता लागउन सर्वोत्कृष्ट भूमिका निभाउँदछ ।

समुद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक श्रीमती मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पार्नुभयो । त्यसरी नै नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पङ्कज जलानले अत्याधुनिक एम.आर.आई. तथा सी.टी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषताहरूबारे व्याख्या गर्नुभएको थियो ।

सो अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटल तथा लक्ष्मी बैंकद्वारा संयुक्तरुपमा सुरुवात गरिन लागिएको ‘नर्भिक–प्रिमिलेज डेविट कार्ड’को समेत शुभारम्भ गरियो । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ‘नर्भिक प्रिभिलेज डेबिट कार्ड’को आवश्यकता उपादेयता, उद्देश्य, सेवा, प्रयोग र सुविधा बारे विस्तृत खाका प्रस्तुत गरे । ‘नर्भिक प्रिभिलेज डेविट कार्ड’ प्राप्त गर्ने महानुभावलाई नर्भिकले विविध स्वास्थ्य परीक्षण प्याकेजहरू, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, शल्यक्रिया तथा अन्य प्रक्रियाहरू, नन्–इन्भेसिभ कार्डियोलोजी सेवा, सी.टी. ÷ एम.आर.आई. र म्यामोग्राम सेवा तथा शय्या शुल्कमा समेत छुट उपलब्ध गराउने छ ।

समारोहमा हस्पिटलका अध्यक्ष वसन्त चौधरीले प्रमुख अतिथि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहलाई प्रशंसा–पत्र अर्पण गर्नुभएको थियो ।