आज तर्साउने रात बन्नेछ अस्ट्रेलियामा

आज तर्साउने रात बन्नेछ अस्ट्रेलियामा


लण्डन । एउटा विशाल आँधीबेहरी प्रतिघण्टा ३०० किलोमिटरको रफ्तारमा हिजो कम्तीमा ३० फिट उँचाइको समुन्द्रिक ज्वारभाटाको उफान् ल्याउँदै अस्ट्रेलियाको पूर्वीतटतिर हान्निइँदै आएको छ । यासी नाम गरेको आँधीबेहरी क्वीन्सल्याण्डस्थित सानो पर्यटकीय शहर मिशन बिचमा हुर्रिएर तीनसय माइलको घेरा लिएर फैलिँदै आएको तुफानले दशौं हजार घरको छानाहरु उडाउँदै विद्युत् आपूर्ति ठप्प बनाएको समाचार प्रकाशमा आएको छ ।
क्वीन्सल्याण्डकी राज्य प्रमुख, अन्ना ब्लाईले अहिलेको आँधी बेहरीलाई हालसम्मको सबैभन्दा ठूलो प्रलयकारी तुफानको संज्ञा दिएकी छिन् । यासी नाम गरेको यो आँधीबेहरीलाई सबैभन्दा माथिल्लो तह, पाँचको वर्गीकरणमा राखिएको छ । अन्ना ब्लाईलगायत अस्ट्रेलियाकी प्रधानमन्त्री, जुलिया जिलार्डले यासी भयानक प्रलयकारी आँधीबेहरी भएको कारणले गर्दा यहाँका जनताहरुलाई अहिले यस बेला भययुक्त कष्टमय रातको सामना गर्नु परेका छन् भनेर उद्धृत गरेका छन् । गत महिनाको भीषण प्र्रलयकारी बाढीको प्रहारबाट मुक्त हुन नपाउँदै अहिलेको विध्वंशकारी आँधीबेहरीले फेरि कम्तीमा २८ इन्चसम्मको अविरल वर्षा त्यस क्षेत्रमा केही घण्टाभित्र पर्ने कुरा मौसमविद्हरुले जनाएका छन् जसबाट समुन्द्रको पानीको बाढी फेरि अकाशिँदै भित्री भूभागभित्र पस्दै घरहरुको छानाहरुसम्म डुबान हुने आशंका गरेका छन् । २ दिन पहिलेदेखि नै यस कुराको पूर्व सूचना दिएर त्यहाँका वासिन्दहरुलाई सावधान गरेको थियो । आँधीबेहरी र बाढीको भयका कारण मानिसहरु आ-आफ्ना घरबाट पलायन भएर २०वटा उद्वार शिविरहरुमा शरण लिन पुगेका छन् । आसपासका तटीय स्थानहरु छाडेर धेरैजसो मानिसहरु परिवारसहित भित्री भूभागहरुमा बसोबास गर्ने आफन्तहरुको सुरक्षित घरहरुमा गएका छन् । उद्वार शिविरमा गएकी एकजना काइरेन्स निवासी २३ वर्षीय कार्ला जेन्किन्सले ….मैले आज राति धेरै मानिसहरु भयका कारण नसुतेको देख्नेछु किनभने आजको रात भयानक तर्साउने रात साबित हुनेछ… भनेर आफ्नो भय पोखाएकी छिन् । श्रोत – मेट्रो, सुमल, मेस ।