कठ्याङ्ग्रिने जाडोका कारण दलित बस्ती प्रभावित

कठ्याङ्ग्रिने जाडोका कारण दलित बस्ती प्रभावित


केही यता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरु प्रभावित भएका छन् ।

एकसय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभाव भएकाले अत्यधिक चिसोमा जनजीवन नै कष्टकर भएको ७० वर्षीय तनु माझीको गुनासो छ ।

लोकतन्त्र प्राप्तिपछि देशमा ठूलाठूला परिवर्तन भए पनि तेलकुवाका मुसहरहरुको जीवनमा परिवर्तन आउन नसकेकाले कठ्याङ्ग्रिने जाडो छल्न आगोको सहारा लिनुपर्ने बाध्यता रहेको बाबुलाल माझी पिडा सुनाउनुहुन्छ ।
सधैँभरि अभाव र पीडाबीच गुज्रिएका मुसहर छानाविहीन छाप्रोमा बस्नु पर्ने बाध्यताका कारण विभिन्न रोगबाट प्रभावित भएको सञ्चारकर्मी तथा मानवअधिकारकर्मी श्यामबाबु यादवको भनाइ छ ।

कलैयाको बरियारपुर सडकखण्डको भुतहीपुलदेखि करिब दुई किमीको दूरीमा रहेको सो बस्ती छेउबाट खोला बगेको छ । साउनको अन्तिम साता आएको वर्षाका कारण बाढीले बस्तीका लत्ताकपडा बगाएर लगेको पीडा ताजा नै छ भने अर्काेतिर जाडो र शीतलहरको कहर पनि हामीमाथि नै थपिएकाले हाम्रो जीवन कष्टकर बन्न थालेको भरछिया माझीे गुनासो गर्नुहुन्छ ।

जाडो बढ्दै गएपछि बाराको दलित बस्तीमात्र नभएर पर्सालगायत प्रदेश नं २ को जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोले निमोनिया, दम र डायरियाका बिरामी बढ्न थालेको स्वास्थ्य संस्थाको भनाइ छ ।

जाडो बढ्न गएकाले शीतलहर र हुस्सुका कारण यातायात क्षेत्र, दैनिक मजदुरी गर्ने मजदुर बालबालिका वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसोका कारण मानिस घरबाहिर निस्कन सकेका छैनन् । अधिकांश मानिस चिसोबाट बच्न आगोको साहारा लिन थालेका छन् । शीतलहरका कारण किसानले खेतबाट धान उठाउन र गहुँ खेती पनि गर्न सकेका छैनन् ।