निकिताले जगाइन् आशा

निकिताले जगाइन् आशा


चलचित्र विकास बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेलले कलाकारहरूको क्षमता विकासका लागि नयाँ कार्यक्रम अगाडि ल्याएकी छिन्। पौडेलले कलाकारको अभिनय क्षमता वृद्धिका लागि तालिमको व्यवस्था गर्ने भएकी छन् । भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भारतको पुणेमा नेपाली कलाकारका लागि बीस दिवसीय स्क्रिन अभिनयसम्बन्धी फाउन्डेसन कोर्स आयोजना हुने भएको हो ।

भारतीय फिल्म एवम् टेलिभिजन संस्थानमा हुने उक्त अभिनय कार्यशालामा सहभागी हुने कलाकारले भारतीय दुतावासबाट निर्धारण गरिएको दरखास्त फारम, एकप्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपि र अभिनयसम्बन्धी कागजपत्रहरु संकलन गरि विकास बोर्ड कार्यालयमा बुझाउनु पर्ने बताइएको छ । साथै, बोर्डको इमेलमार्फत पनि पठाउन सकिने छ । २०१८ जनवरी ३ सम्मलाई दरखास्तको लागि समय सीमा तोकिएको छ ।

२० दिने तालिम अंग्रेजी र हिन्दी भाषामा हुनेछ । दरखास्त बुझाउन चाहनेले कम्तिमा केहि नेपाली कथानक सिनेमा वा विज्ञापनमा अभिनय गरेको हुनैपर्ने क्राइटेरिया तोकिएको छ ।

बोर्डमा आएपछि निकिताको पहलमा हुन लागेको यस कार्यले चलचित्र क्षेत्रले नयाँ सोच तथा क्षमता भएका कलाकार तथा प्राविधिकहरू पाउने अपेक्षा जगाएको छ । ‘यो त शुरूवात मात्र हो । चलचित्र क्षेत्रको बिकासका लागि अन्य थुप्रै योजना छन्, म क्रमशः लाग्दै जाने छु,’ निकिताले भनिन् ।