काङ्ग्रेस महासमिति सदस्य लेख्छन्- ‘काङ्ग्रेस पार्टीलाई पुनर्गठन होइन विघटन गर्नु पर्दछ’

काङ्ग्रेस महासमिति सदस्य लेख्छन्- ‘काङ्ग्रेस पार्टीलाई पुनर्गठन होइन विघटन गर्नु पर्दछ’


– आरबी लामा

चुनावी नतिजाको सुनामीले बढारिएर काङ्ग्रेसी नेताहरू आफ्नो गुमेको साख र विश्वसनियता आर्जनका निम्ति आ–आफ्नो अनुकूलता र प्रतिकूलताको आधारमा हालत र हैसियतको ब्याख्या र पुनर्ब्याख्या गर्नमा जुटेको देखिन्छ । मृतप्रायः संगठन र आकर्षणविहीन आसनको रासमाथि उभिएर दोष र खोटको कर्कस लयमा एकअर्कालाई धारे हात लगाएर सत्तोसराप गर्नमै आफ्नो समय र सामर्थ्य खर्चिन लागेको भेटिन्छ ।

इतिहासमै काङ्ग्रेसले ब्योहोर्नुपरेको लज्जास्पद चुनावी हारको यो राजनीतिक क्षतिको पुर्ताल लरतरो प्रयास र अभ्यासले सम्भव छैन । बासी विचार र दासी ब्यवहारले हाम्रो मति र गतिको सुधार हुन सक्दैन । नाच्न जान्दैन आँगन टेढो भनेको जस्तो बाम गठबन्धनको आकर्षण र समर्पणमा जुरेको जनमतलाई अपमान र खिसिट्यूरी गर्नाले दोषमुक्त हँुदैन । सत्ता र शक्तिको निम्ति पतित र प्रदुषित छबि र छापको बलमा चुनावी संग्राम हाँक्ने हुति र गति परिणाममुखी हुनै सकेन । आफ्ना अन्धभक्त अनुयायीहरूको गलत सल्लाह र सनकको भरमा सत्ताप्राप्तिको रंगिन सपनामा पार्टी र पार्टीपंक्तिलाई डोहोर्याउन खोज्नु ब्वबहारिक समेत देखिएन ।

आलोचना र आक्रमणको निम्ति मर्यादा र मानसमेत बिर्सेर बीच सडकमा तमासा देखाउने सस्तो प्रचारशैलीको खेतीले समस्या समाधानको सूत्र प्राप्त हँदैन । राजनीतिक स्थिरता र विकासप्रति आमजनताको मोह र मायालाई केलाउने र बुझ्ने क्षमता नै देखिएन । खाली दोषारोपण र अधिनायकवादी आरोपको पाँडे गाली बोकेर गाउँ पसेका काङ्ग्रेसी नेताहरूलाई जनताले पत्याएनन्, स्वीकारेनन् । पार्टीको दोष र खोटको समिचिन समीक्षा र मिमांशाबिना ब्यक्तिगत दोषारोपण र घर्षणको गति र प्रवृत्तिलाई यही ढंगबाट फैलाइराख्ने हो भने थप क्षतिको बिस्तार बाहेक अरु हात लाग्दैन ।

एउटा आवधिक चुनावको नतिजाले प्रलय नै प्रारम्भ भएको जस्तो कोकोहोलोमा चोक चौराह र गल्लीहरूमा अरण्य रोदनको डाँको छोडी हिँड्नु उचित हुँदैन । एउटा तप्काले अर्को तप्काको हैसियत र हिस्सा नै खोसी खाने मेलो बनाउनु बुद्धिमानी ठहरिँदैन । आजको हाम्रो हाँक भनेको हामीले अवलम्बन गरेका नीति, प्रवृत्ति र पद्धतिको नै आमुल परिवर्तन हो, समयको बदलिँदो चुनौती र अवस्थितिलाई सम्बोधन गर्न सक्ने नवीन विचार, आचार र संस्कारको पुनर्उदय गराउनु हो । प्राप्त मतको रक्षा गर्दै जन विश्वास आर्जनका निम्ति जनोपयोगी चिन्तन र कार्य सञ्चालनको ढाँचा र तौरतरिकाको निर्माण गर्नु हो ।

हामी केमा चुक्यौँ ? हामीले के भूल्यौँ ? आफमाथिकै निर्मम समीक्षाबिना टालटुले रकमी शैलीले अबको नवीन यात्रा तय हुँदैन । टाउकोको दबाई नाईटोमा लगाई भनेजस्तो पात्र परिवर्तनको हुङ्कारले मात्र संकट समाधानको मार्ग प्रशस्त हँुदैन । हार्दिकताको जगमा उभिएको एकता र सहकार्यले मात्र हाम्रो क्षतिको पूर्ताल र नवीन यात्राको जोरजामका निम्ति हामीलाई शक्ति र सामथ्र्य उपलब्ध गराउँदछ । चुनावी नतिजाको हारमा रन्थनिएर सत्ता समीकरणको लोभी संख्या जुटाउने अभ्यासमा काङ्ग्रेसले जगहँसाई गर्नु हुँदैन । चुनावी हारलाई नेपाली काङ्ग्रेसको गौरव र गरिमा, उर्जा र उपलब्धिको हारको रुपमा लिनु हुँदैन । काङ्ग्रेसी सिद्धान्त र आदर्शको हार झनै होइन । हाम्रो विरासत र पूँजीको अन्त्यको रुपमा लिनु हुँदैन ।

हाम्रा बलिदानी अतीतको अवमूल्यनको रुपमा हेरिनु हुँदैन । आम निर्वाचन २०७४ मा काङ्ग्रेसले ब्योहोरेको हार भनेको २०४८ सालदेखि सत्ता, शक्ति र सम्पत्तिको निम्ति काङ्ग्रेसी नेताहरूले निर्मित तुल्याएका पथ र पराम्पराको हार हो । काङ्ग्रेसी कार्यकर्ताको कुर्वानी र जवानीमाथि खुलेआम खेलवाड गर्ने पाटीभित्र हुर्काएका कर्पोरेट इन्ट्रप्रिनियरहरूको हार हो । धनवाद र डनवाद भित्राएर आफ्नो अस्तित्व संरक्षणको लागि नेताहरूले खेलेका नाजायज खेलको हार हो । सारीको फेर समाउन लगाएर बिजारोपण गरिन खोजेको दासी हनुमानहरूको महँगो बाजीको हार हो । कमिशन र भ्रष्ट्राचारको भरमा सिङ्गो पार्टीपंक्ति किन्न खोज्ने ब्यापारिक दौडको हार हो । ल्यागत र ताकतबिना तक्दिरको भरमा उभ्याउन खोजिएका वंश र अंशवादीहरूको राजशी हर्कतको हार हो । नीतिभन्दा नेतृत्व महान मान्ने सोचको हार हो । बामहरूको खुलेआम पतनको भरमा आफ्नो पूनर्जीवन हुन्छ भनेर आँखा चिम्लेर कुद्ने भाग्यवादी परजीवीहरूको हार हो । विरासत र अतीत गानमा रमाउने प्रौढ काङ्ग्रेसहरूको म्याद गुज्रेको मतिको हार हो । गुट–उपगुटमा विभक्त काङ्ग्रेसीहरूको यदुवंशी चरित्रको हार हो । अझ खास गरेर ०६२–६३ को आन्दोलनपश्चात विचलित भएका हाम्रा मान्यता र यात्राको नाङ्गो हार हो । यसलाई केवल एक नेताको असफलता वा एक पुस्ताको असफलता भन्दा पनि काङ्ग्रेसले खास गरेर २०४८ सालपश्चात हुर्काएका गलत नीति र प्रवृत्तिको समुच्चा हारको रूपमा लिनु पर्छ ।

दोषारोपणको अगुल्टो एकअर्काको अनुहारमा झोसेर कसैले अब उन्मुक्ति पाउने स्थिति छैन । प्राप्त यो जनादेशलाई अवशरको रुपमा प्रयोग गर्ने हाम्रो कार्य कुशलताले नै हामीलाई जीवन्त तुल्याउँदछ । यसका निम्ति अङगिकार गर्नुपर्ने मूल कार्यभार भनेको विगतमा हामीले अवलम्बन गरेका नीति, पद्धति र प्रवृत्तिको विसर्जन र समयानुकूल सोच र खोजको खुल्ला आगमन नै सुधारको मूल प्रस्थानबिन्दु ठहरिने छ । टालटुले रकमी शैली र ढंगबाट गरिने समस्या समाधानको प्रयासले अब पार पाउन सकिँदैन । समयको बदलिँदो बेगको भेउ नपाउनेहरू किनारा साक्षीको दर्जामा उभिएर रमिते बन्नुबाहेक अर्को बाटो छैन । अब काङ्ग्रेस कि सुध्रिनु पर्यो कि सिध्यिन तयार हुनु पर्यो । इतिहासबाट पाठ नसिक्नेहरूलाई समयले जिउँदो राख्दैन ।

अतीतगानको जयजयकार र शर्मनाक हारको हाहाकारमा रमी बस्ने भूलभूलौयावादीहरूको लहड र हठमा अब कोही सती जाँदैन । समयको चक्र रोकिँदैन । बासी विचार र दासी वादको भर र भरोसामा मात्र नयाँ पुस्तालाई राजनीतिमा आकर्षण पैदा गर्न सक्दैन । रुण र रुग्ण अनुकरणले समृद्धिको नयाँ यात्रा थालनी हँदैन । नेपालको समकालीन राज्य सत्ताका पर्यायको रुपमा रहेका नेपाली काङ्ग्रेस अबको ५ वर्ष भूमिकाविहीन भएर बस्नुको नियति नियाल्दै छ । यसका अगुवा अनुहारहरूमा चिन्ता र पश्चातापको किञ्चित लेस मात्र पनि देखिँदैन । डुब्दो ज्यानको यो लखरतरान कदमप्रति कसैले भर र–भरोसा पनि छैन । त्यसकारण काङ्ग्रेस पार्टीलाई पुनर्निर्माण होइन विघटन गरिनु पर्दछ भन्ने मतलाई मैले यस लेखमा उजागर गरेको हुँ ।

संशोधन र परिमार्जनको भुत्ते उपायले मात्र धर पाउँदैन । सांगठानिक संरचनाहरूमा कुनै ब्यक्ति वा समूहको विस्थापन र आगमनको अर्थलाई मात्र विघटन ठानिनु हुँदैन । हालसम्म हामीले अवलम्बन गरेका सोच, शैली र संस्कृतिको समूल समाप्ति र नयाँ चिन्तन र यात्राको थालनीलाई विघटनको अर्थमा प्रयुक्त गरेको हुँ । क्रोनिक समस्याले थला परेको रोगीलाई मेजर अपरेशनबिना डाक्टरको सेक ताप र औषधी सेवनको भरमा तङ्र्याउन सकिँदैन । काङ्ग्रेस अहिले आईसियूमा भर्ना भएको बिरामीको हालतमा छ । यस्तो बेला रोगीको रोगको पहिचान र तदानुकूल उपचार सेवाको बन्दोबस्त गर्नुपर्नेमा अनुमानको भरमा कोही निमोनियाको, कोही जण्डिसको, कोही टिबीको, कोही ग्याष्टिकको दबाई बोकेर थरी–थरीका नामधारी गुटहरू डाक्टरको भेषमा उपचारमा जुटेको दम्भ पाल्नु र रोग निर्मूल पार्छु भनेर कुर्लनु आत्मघाती बिष्फोटन भन्दा भयानक हुन्छ । यस प्रकृतिको कार्यले रोगीलाई उपचारमा राखिने आइसियूको क्याबिन मात्र होइन सिङ्गो हस्पिटलनै ध्वस्त हुन्छ ।

आईसियूमा राखिएको बिरामीको जम्मा २ वटा मात्र बाटो हुन्छ– १) पूर्ण स्वास्थ्य लाभ गरी घर फिर्ता हुने । २) आर्यघाट पुग्ने । सजिव प्राणीको रुपमा रहेको ब्यक्तिको हकमा लागू हुने यो नियम पार्टीमा पनि लागू हुन्छ तर फरक ढंगबाट । रोगीको उपचारको लागि राखिने अन्तिम उपचार स्थल भनेको आईसियू भने झैँ थलापरेको कुनै राजनीतिक पार्टीको अन्तिम उपचार स्थल भनेको पार्टीको महाधिवेशन हो । महाधिवेशमा सहभागी प्रतिनिधिहरूद्धारा ब्यक्त मत र भावना बमोजिम पार्टीले भावी कदमको निर्माण र सम्पादित कार्यको समीक्षा गर्ने गरिन्छ । अहिले दृश्य–अदृश्य कोणबाट उरालिएको विशेष महाधिवेशनको माग समस्या समाधानको अचुक दिशा निर्धारणको लागिभन्दा पनि आफ्नो प्रभाव र दबाबलाई बलियो तुल्याउने अवशरको रुपमा प्रयोग गर्ने मनसायबाट बढ्ता प्रेरित देखिन्छ । चुनावी हारलाई पार्टी पंक्तिभित्र कसैको क्षय र विजयको रुपमा प्रयोग गर्न मिल्ने औजारको रुपमा प्रयुक्त गरिने प्रयासले दीगो समाधान दिँदैन । समयको यो कालखण्डमा नियतिले काङ्ग्रेसलाई मर या गरको स्थितिमा पुर्याएको छ । इतिहासले पटक–पटक प्रमाणित गरेको छ ।

जब–जब नेपालको राजनीतिमा काङ्ग्रेस कमजोर हुन्छ वा बनाइन्छ तब–तब नेपालको लोकतन्त्र कमजोर भएको दृष्टान्त पाइन्छ । राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको कमजोर भूमिकाले राष्ट्रसामु उपस्थित विकराल समस्याको दीगो समाधानको निदान भेटिँदैन । राष्ट्रियता, लोकतन्त्र र समृद्धको यात्रालाई सहज र सबल बनाउनको निम्ति पनि काङ्ग्रेसले थप जिम्मेवारी र कर्तब्यका साथ आफूलाई बलियो र दर्बिलो तुल्याउनु अत्याबश्यक ठहर्छ । आफ्नो सोच, शैली र संस्कृतिमै आमुल परिवर्तन ल्याई पार्टीलाई सशक्त रुपमा पुनर्जीवन दिनका लागि पनि नेतादेखि कार्यकर्तासम्म र केन्द्रिय समितिदेखि नगर गाउँ तहसम्मको संरचनात्मक संरचनाको सञ्चालन विधि र प्रविधिमै रुपान्तरणको खाँचो छ । २००७ सालदेखि ०६२–६३ को आन्दोलन हुँदै संविधानको घोषणा २०७२ र कार्यान्वयनको चरण २०७४ सम्म नेपाली काङ्ग्रेसले राष्ट्रिय राजनीतिमा निभाएको प्रभावकारी अगुवाई र भूमिकाको राप र ताप एउटा आवधिक चुनावको नतिजाको कारणले धूमिल हुनेछ र काङ्ग्रेसको भविष्य संकटमा पुग्छ भनेर मान्ने लघुताभाषबाट आज सारा काङ्ग्रेसीहरू मुक्त हुन जरुरी छ । बिग्रेका र भत्केका खण्डहरलाई जोडजाड र टालटुल गरेर होइन ती कुडाकर्कटलाई मिल्काएर बलिया र भरपर्दा सामग्रीहरूको बनोटमा हामीले नबिन आस्था र यात्राको तय गरी पार्टीरुपी भवन बनाउनु छ । जुन भवन सारा लोकतन्त्रवादी र नेपालको लोकतन्त्रकै मन्दिरको रुपमा सर्वत्र पूज्य रहने छ ।

आमनिर्वाचन २०७४ मा काङ्ग्रेसले ब्योहोरेको हार भनेको २०४८ सालदेखि सत्ता, शक्ति र सम्पत्तिको निम्ति काङ्ग्रेसी नेताहरूले निर्मित तुल्याएका पथ र पराम्पराको हार हो । काङ्ग्रेसी कार्यकर्ताको कुर्वानी र जवानीमाथि खुलेआम खेलबाड गर्ने पार्टीभित्र हुर्काएका कर्पोरेट इन्ट्रप्रिनियरहरूको हार हो । धनवाद र डनवाद भित्राएर आफ्नो अस्तित्व संरक्षणको लागि नेताहरूले खेलेका नाजायज खेलको हार हो । सारीको फेर समाउन लगाएर बिजारोपण गरिन खोजेको दासी हनुमानहरूको महँगो बाजीको हार हो । कमिशन र भ्रष्ट्राचारको भरमा सिङ्गो पार्टीपंक्ति किन्न खोज्ने ब्यापारिक दौडको हार हो । ल्याकत र ताकतबिना तक्दिरको भरमा उभ्याउन खोजिएका वंश र अंशवादीहरूको राजशी हर्कतको हार हो । नीतिभन्दा नेतृत्व महान मान्ने सोचको हार हो ।

बामगठबन्धनका उत्ताउला हर्कत र रुमानी सपनाको उडानले नेपाल र नेपालीको चाहना र भावना पूरा हुनै सक्दैन । जटिल भू–राजनीतिक र रणनीतिक शक्ति सन्तुलनको अवस्थिति, देशीय विविधताको सप्तरंगी बनोटलाई समन्वय र सन्तुलनमा ल्याउन पनि काङ्ग्रेसको अगुवाई अनिवार्य नै ठहर्दछ । यसका निम्ति पनि पार्टीले थप सुधारका साथ आफूलाई परिष्कृत, परिमार्जित तुल्याउँदै पुनर्जीवित तुल्याउन आवश्यक देखिन्छ । आलोचना र आक्रमणको झटारो हानेर बुद्धि विलासमा मिडियाको पानाहरू रंगाउनु भन्दा अब काङ्ग्रेसले के गर्ने भन्ने कुराको गृह तयारीले धेरै महत्व राख्दछ । नेता विशेषको मानमदद्धन र आफ्नो प्रभाव र प्रभूत्व बलिया तुल्याउनका निम्ति उरालिएका गर्जनले समस्या समाधानको लागि किमार्थ सहयोग पुरयाउँदैन । ब्यक्तिभन्दा पनि प्रवृत्ति परिवर्तनका निम्ति हाम्रो प्रयास घनिभूत हुन जरुरी छ । काङ्ग्रेसले सांगठानिक संरचनाको विघटन होइन आजसम्म अवलम्बन गरेका सोच, शैली र संस्कृतिको सैद्धान्तिक रचनाको विघटन गरिनु पर्दछ । यसका तयारीमा नेताहरू आत्मसमीक्षाका साथ एकतापूर्ण पहल र प्रयासका साथ जुट्न ढिलो गर्नु हुन्न । अब काङ्ग्रेसले के गर्ने भन्ने सवालमा केन्द्रित रही केही प्रस्तावहरू विचारार्थ यहा उल्लेख गरेको छु ।

सांगठनिक, नेतृत्च शैली र संरचनामा आमूल परिवर्तन :
– साधारण सदस्यताको विधि खारेज गरी क्रियाशील सदस्यतातामा आधारित नेतृत्व विकासको वैज्ञानिक मापदण्ड तय गर्ने ।
पार्टी सदस्यता ग्रहणसम्बन्धी पार्टीको दुई सदस्यता विधिमध्ये साधारण सदस्यताको प्रचलनलाई हटाई क्रियाशील सदस्यतालाई मात्र प्रचलनमा ल्याउने । यसले गर्दा वैधताको कारण सिर्जित लघुताभाष र बेमेल हट्न जान्छ । र पार्टीको सदस्यतामा एकरुपता आई संगठनको नियमित कार्यमा गतिशीलता प्राप्त हुन्छ । १८ बर्ष उमेर पूरा भएका नेपाली नागरिकले क्रियाशील सदस्यता प्राप्त गर्न सक्छ । तर यसमा पनि एउटा डरलाग्दो विसंगति रहेको पाईन्छ । पार्टी अधिवेशनको बेला आफैले सदस्यता शुल्क तिरी आफ्ना नाता गोता र नजिकका एसम्यानहरूलाई मुठोका मुठो सदस्यता फारम वितरण गरी नेतृत्व हत्याउने प्रचलन रही आएको छ । यसलाई चिर्न पार्टीको तल्लो तहको पदाधिकारी र क्षेत्रिय प्रतिनिधिको पदमा निर्वाचित हुन क्रियाशील सदस्यता लिएको निश्चित अवधि पूरा हुनु पर्ने मापदण्ड तोकिनु पर्दछ । जसले गर्दा एक महिनाअघि क्रियाशिल सदस्यता भिडाइदिने र अर्को महिना प्रतिनिधि बनाएर चलखेल गर्ने रोगबाट पार्टी मुक्त हुनेछ ।

यसैगरी क्षेत्रिय प्रतिनिधि भएको ५ वर्षपश्चात महाधिवेशन प्रतिनिधि वा क्षेत्रिय समितिको पदाधिकारीमा उम्मेदवार हुन पाउने मापदण्ड तोकिनु पर्दछ । एक कार्यकाल महाधिवेशन सदस्य भएको प्रतिनिधिले मात्र महासमितिको सदस्यमा प्रत्यासी हुन पाउने प्रावधान बनाउनु पर्दछ । यसले गर्दा पार्टीमा नेतृत्व विकासको एउटा प्राकृतिक चरणको विकास हुन्छ । र स्वच्छन्दता प्राप्त हुन्छ । यस प्रकृतिको नेतृत्व विकासको शैली जेसिस लगायत उध्योग बाणिज्य संघहरूमा समेत रहेको पाईन्छ । तस्कर, ठेगदार र नब आगन्तुकहरूरले पार्टीको पद कब्जा गर्ने प्रवृत्तिको अन्त्य हुन्छ । यसैगरी क्षेत्रिय प्रतिनिधिको एक कार्यकाल वा क्षेत्रिय पदाधिकारीमा रहेको ब्यक्तिले मात्र जिल्ला समितिको सदस्य र पदाधिकारीमा निर्बा्चित हुन पाउने ब्यबस्था गरिनु पर्दछ । केन्द्रमा एक कार्यकाल महासमिति सदस्य भएको प्रतिनिधिले मात्र केन्द्रिय सदस्यमा निर्वाचित हुन पाउने ब्यबस्था गरिनु पर्दछ । यो विधि र प्रविधिले संगठन कब्जा गर्ने राजनीतिक पेशेवरहरूको चलखेललाई पूर्णतः रोक्न बल पुर्याउँदछ ।

– नेताद्धयले अभिभाबकिय भूमिका लिई नयाँ पुस्ताको सामूहिक नेतृत्वको आधारमा पार्टी संचालन :
हाल अबलम्बन गरेका एकात्मक नेतृत्व शैलीले पार्टीभित्र हुर्किएको गुट–उपगुट र अराजकतालाई ब्यबस्थापन गर्न सकिँदैन । मुलुकको विविधतापूर्ण सामाजिक संरचना र जातीय बनोटको सम्बेदनशीलतालाई सम्बोधन गर्न र संग्रहित तुल्याउन भ्याउदैन । पार्टीभित्र समन्वय र सन्तुलन कायम गराउन सक्दैन । तसर्थ सामूहिक नेतृत्वमा पार्टी संचालनको विधितिर प्रवेश नगरी यो विकराल बेथितिलाई केबल एक नेताबाट वा एक गुटबाट चमत्कारिक सुधार र बिस्तार हुन्छ भन्ने फैलाएको आधारमा केहि दम छैन । यो केवल कार्यकर्तालाई उत्तेजित र तंरगित तुल्याउने मृगतृष्णा मात्र हुन् । तसर्थ पहिला किसुनजी, गणेशमानजी र गिरिजाबाबुको त्रय नताको सामूहिक नेतृत्वको शैलीमा पार्टीले पहिला पनि यस अभ्यासलाई पालना गरिसकेको छ ।

आम कार्यकर्ताहरूको विधिपूर्वक सहभागितामा (महाधिवेशनमार्फत) नयाँ नेतृत्व चयन गरिनु पर्दछ र हालका सम्मानित नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेलले अभिभावकीय भूमिकामा रहनु पर्दछ । ब्यक्तित्व टकराव र अस्वस्थ प्रतिष्पर्धाले पार्टीलाई कमजोर पार्ने प्रथा यस विधिबाट निर्मूल हुन मद्धत पुर्याउँदछ । र जातीय, भेगीय विधिवतालाई सम्मानपूर्वक प्रतिनिधित्व गराउन पाँच उपसभापतिको पद सिर्जना गरी क्रमशः जनजाति, महिला, मधेश, अल्पसंख्यक जातजाति र दलितबाट मात्र प्रतिनिधित्व हुने ब्यबस्था गरिनु पर्दछ । जसको कारण पार्टीप्रति ती जाति र वर्गको अपनत्वको भावना विकास भई पार्टी सबैको साझा हो भन्ने चित्र स्थापित हुन जान्छ । र, नेपालकै इतिहासमा यो एक ज्वलन्त क्रान्तिकारी दृष्टान्तको रुपमा रहने छ । यसै प्रकृतिमा पार्टीको पाँच सहायक महामन्त्रीको ब्य्वस्था गरी प्रत्येकलाई क्रमशः संगठन, प्रचार, भातृ संघ संस्था, प्रशिक्षण र प्रादेशिक मामिला हेर्ने फरक फरक केन्द्रिय बिभाग बनाई जिम्मा लगाउनु पर्दछ । हालकै विधिमा निर्वा्चित र मनोनित हुने दुई महामन्त्रीलाई क्रमशः संगठन र प्रचारको जिम्मा लगाइनु पर्दछ । र यस्तै शैली अब बनिने प्रादेशिक समितिहरूमा पनि लागू गरिनु पर्दछ ।

– महाधिवेशनलाई विचार र विमर्शको मञ्च बनाउने न कि नेतृत्व हत्याउने चुनावी प्रतियोगिता :

नेपाली काङ्ग्रेसको महाधिवेशन विचार र विमर्शको मञ्चभन्दा नेतृव हत्याउने चुनावी प्रतियोगिताको रुपमा मात्र प्रयुक्त भएको पाइन्छ । त्यहाँ बाचन गरिने महामन्त्रीको प्रतिवेदन, सांगठानिक प्रतिवेदन लगायत अन्य प्रतिवेदनहरू उपर छलफल र बहस नाम मात्रको हुन्छन् । र, करिब ८० प्रतिशत प्रतिनिधिहरूले ती प्रतिवेदनहरू पढ्ता पनि पढ्दैनन् । महाधिवेशमा बाँडिएका झोलाभित्र कोचेर राख्छन् । यसप्रकारको रुढीवादी शैलीले पार्टी जीबन्त र सशक्त हुन सक्दैन । राष्ट्रिय राजनीतिमा आएका जल्दा बल्दा मुद्धा र बिषय उपर सिङगो महाधिवेशन निःस्पृह रही कर्मकाण्डी भजनकिर्तन र जयजयकारमा रमाउने हो भने कुनै अर्थ छैन । सबै प्रतिनिधि र नेताको ध्यान आफ्नो मतदाता बनाउने ध्यान र ध्याउन्नामा जुटेको देखिन्छ । तसर्थ यस प्रकारको रोगलाई निर्मूल पार्न केन्द्रमा एक साता समयावधिको महाधिवेशन विचार र विमर्शको स्थलको रुपमा विकास गराउने र नेतृत्व चयनको लागि सम्बन्धित जिल्ला अझ क्षेत्रमा नै केन्द्रिय प्रतिनिधि खटाई त्यहीँबाट मतदान गर्ने प्रचलनको सुरुवात गर्न सकिन्छ । मुलुक संघीयताको चरणमा गई सकेको अबस्थामा यसले स्वाभाविक अर्थ पनि राख्छ । र, नेतृत्वमा होडबाजी गर्न चाहने प्रत्यासीहरू जिल्लाका प्रतिनिधिहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन्छन् अनि लोकप्रियताको निम्ति जिल्ला जिल्लामा खट्ने बानीको पनि विकास हुन्छ । अहिले जस्तो कुनै गुटको चिट र राजधानीको महङगा होटेलहरूमा दारुपानीको भरमा नेतृत्व हत्याउने रोगको अन्त्य हुन्छ ।

– संसदीय समिति प्रत्यक्ष निर्वाचनबाट निर्मित तुल्याइनु पर्दछ :
पार्टीको तर्फबाट संघीय र प्रान्तीय तहका निर्वाचनहरूमा उभिने प्रत्यासीहरूको छनौट गर्नका निम्ति तयार पारिएको शक्तिशाली संयन्त्र संसदिय समिति भागबन्डा र तदबिजि शैलीमा निर्मित गरिएको छ । र सो समितिमा आसिन हुने सदस्यहरूले आफूअनुकूलका ब्यक्तिहरूलाई चयन गर्ने मनोगत शैली हाबी छ । यस प्रकृतिको ब्यवधानबाट मुक्त हुन यसका सम्पूर्ण सदस्यहरू महाधिबेशनबाटै निर्वाचनको माध्यमबाट प्रत्यक्ष चुन्ने ब्यबस्था गर्नु पर्दछ । र नगर, गाउँ तहका जनप्रतिनिधिहरूको चयन सम्बन्धित जिल्लाले स्वतन्त्र रुपमा आफैले बनाएको विधिबाट छनौट गरिने ब्यबस्था गरिनु पर्दछ ।

– पार्टी पदाधिकारीमा २ कार्यकाल र सांसदमा ३ कार्यकाल भन्दा बढी बस्न नपाउने ब्यबस्था :
संगठन र संसदीय राजनीतिमा सबैको आकर्षण र अवसर सिर्जना गराउन पनि अब काङ्ग्रेसले पार्टी पदाधिकारीमा लगातार कुनै पनि ब्यक्तिले २ कार्यकाल र संसदीय पदमा ३ कार्यकालभन्दा बढी पदासिन हुन नपाउने ब्यवस्था गरिनु पर्दछ । मृत्यु नहुँदासम्म पद ओगटी बस्ने वृद्धकाय प्रचलन यसबाट अन्त्य हुन गई नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको स्बभाबिक शैलीको विकास हुन्छ ।

– नीति, प्रणाली, पद्धति र कार्यशैलीमा आमुल परिवर्तन :
मुलुक अब संघीय गणतान्त्रिक लोकतन्त्रमा रुपान्तरण भैसक्यो । काङ्ग्रेसले यसका निम्ति प्रमुख अगुवाई भूमिका निर्वाह गरयो । यतिले मात्रै बजारमा राजनीतिक मुद्धा र विषयहरूले बिराम पाएको मानिनु हुँदैन । समाज विकासको क्रममा हुने स्वभाविक द्वन्द्व र परिघटनाहरूले नयाँ–नयाँ विषय र मुद्धाहरूले स्थान लिन्छ । अझै पनि लैङ्गिक जातीय, क्षेत्रिय असमानता र अन्यायका विषयहरू हराई सकेका छैनन् । सिङगो राज्यसत्ताप्रति फरक दृष्टिकोण र सोच भएको मधेसी दाजुभाइहरूको असन्तुष्टिहरूको हल भैसकेका छैनन् । आर्थिक र सामाजिक असमानताका खाडलहरू दिनप्रतिदिन बढ्दो छ । सामाजिक न्याय र सुरक्षाका मुद्धाहरू ज्यूँकात्यूँ छन् । बेरोजगारीको कहालीलाग्दो कहरले आत्तिएर लाखौँ यूबाहरू विदेश भौतारिनुपर्ने बाध्यतामा रहेको छ । काङ्ग्रेसले अबलम्वन गरेका निजीकरणका कोरा अनुकरणले उपलब्धि दिएका छैनन् । सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजबादको स्वादले गरिब जनताको आङ सेक्न सकेको छैन, दूरदराज गाउँका गल्लीहरूमा खुसियाली भित्र्याउन सकेको छैन । रेमिट्यान्सको भर र भरोसमा मुलुकको अर्थतन्त्र चल्नुपरेको छ ।

यसकारण काङ्ग्रेस नीतिगत रुपमा कहीँ न कहीँ चुकेको र असफल भएको मान्नु पर्दछ । यसका निम्ति विषयगत प्राज्ञहरूको समेत सहभागितामा पार्टीले कमिटी बनाई गाउँ तहसम्म छलफल चलाउनु पर्दछ । र ती छलफलका निष्कर्षहरूलाई पार्टीको आधाकारिक फोरममा बिचार विमर्श गराई आवश्यक संशोधन र संयोजन गरी एकिकृत गर्नु पर्दछ । पार्टीको आर्थिक नीति, वैदेशिक नीति, घरेलु नीतिका सम्बन्धमा अब गम्भीर छलफल गर्नु आवश्यक रहेको छ । पार्टी संचालनका तौरतरिका, विधि र प्रविधिलाई समेत वैज्ञानिक र समयानुकूल बनाई अघि बढ्नु जरुरी छ । समय र बजार अनुसार चाल चल्न सकेन भने एकताका दुनियाँमा ८० प्रतिशत बजार हिस्सा ओगट्ने नोकिया फोन कम्पनीको नियति भोग्नु पर्नेछ । हिन्दुराज्य र धर्मनिरपेक्षताको विषयमा पार्टीभित्र बहसको खाँचो रहेको छ । यसका निम्ति पनि अग्रसरता चालिनु जरुरी छ ।

अन्त्यमा, नेपाली काङ्ग्रेस पार्टीको जीवनमा आइपरेको यो अकल्पनीय क्षतिको सोधभर्नाको लागि मनोगत र ब्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर बैज्ञानिक बिधि र प्रविधिसम्मत प्रक्रियाहरूबाट समाधानका मार्गहरू खोजिनु पर्दछ । यसको निम्ति प्रमुख आधार भनेको एकता र हार्दिकताको जगमा उभिएको पहलकदमी र अभ्यास हो । पार्टीसभापति शेरबहादुर देउवाले यी यावत पहलुहरूको दीगो उपचारको लागि पनि अबको एक वर्षभित्र ‘अर्ली–महाधिवेशन’ आह्वान गरेर समस्या समाधानको निम्ति मार्ग प्रशस्त गर्नु पर्दछ । र, अन्य नेताहरूले पनि यस चुनौतीलाई एकता र सहकार्यको भावनाबाट समाधान गर्ने प्रयास र अभ्यासमा जुट्न जरुरी देखिन्छ । किनकि, सबै बहस र विचारको अन्तिम ठेगान लगाउने थलो भनेको महाधिवेशन नै हो ।

(लेखक काङ्ग्रेसआवद्ध युवा नेता हुन् ।)