गाँजा तस्कर पक्राउ प्रकरण : प्रहरी नै शङ्काको घेरामा

गाँजा तस्कर पक्राउ प्रकरण : प्रहरी नै शङ्काको घेरामा


– अमित साह

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सन्टु जैसवालको मोवाइलमा रिङ बज्छ । प्रहरी अधिकुतले फोन रिसिभ गर्नेवित्तिकै सुराकी बोल्छ– ‘सर, ठुलो मात्रामा गाँजाको अवैध कारोबार भइरहेको छ… ।’

गत मंगलबार दिउँसो सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको बहुदरामाई नगरपालिका वार्ड न ९ विश्रामपुरस्थित जगबहादुर कलवारको घरमा छापामारी गर्दा ४८ किलो अवैध गाँजासहित तीनजनालाई प्रकाउ गर्न सफल हुन्छ ।

पर्सा प्रहरीले छापामारी गर्दा अवैध गाँजा उत्पादन गरी बिक्री वितरण गर्दै आएको प्रमाण फेला पारेपछि शर्माप्रसाद कलवार, प्रमोद कलवार र गम्भीर कलवारलाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अघिबढाएको छ ।

बुझिएअनुसार प्रकाउ परेका तीन दाजुभाइ गाँजाको अवैध कारोबारमा संलग्न रहेका छन् । तीनमध्ये एकले गाँजा उत्पादन गरेको स्थानबाट ल्याइदिने, अर्काेले लुकाएर राख्ने र तेस्रोचाहिँ बिक्रीवितरणमा संलग्न रहने गरेको बताइन्छ ।

तर, प्रहरीले प्रकाउ भएकामध्ये एकजना निर्दोष रहेको भन्दै रिहा गरी बाँकी दुई भाइलार्ई सार्वजनिक गरेको छ । पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले प्रमोद प्रसाद कलवार निर्दाेष रहेको भन्दै रिहा गरेको जानकारी दिए ।

प्रहरीसम्बद्ध एक सुत्रले जानकारी दिएअनुसार प्रमोद लाई रिहा गरिनुमा आर्थिक चलखेलले काम गरेको छ । आठ लाख रूपैयाँ दिएर अभियुक्त कलवार रिहा हुन सफल भएका हुन् । प्रहरीले निर्दोष बताएका पात्र नै गाँजाको मुख्य कारोबारी हुन् । यसरी अभियुक्त रिहा हुनुमा प्रहरी अधिकृत सन्टु जैसवालको अहम् भूमिका रहेको स्रोतको दाबी छ ।

प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ कुनैबेला पर्सामा रहँदा उनले पर्सालाई गाँजामुक्त तुल्याउने अभियान चलाएका थिए । सोही बेलादेखि नै सन्टु र प्रमोद बीच सम्बन्ध गहिरो बन्दै गएको बताइन्छ । सन्टु त्यहीबेला नै विवादमा तानिएका प्रहरी अधिकारी हुन् । बारा र पर्साका भूमिगत समुहका व्यक्तिहरूसँग उनको मधुर सम्बन्ध रहेको सुइँको पाएपछि मध्य प्रहरी क्षेत्रिय कार्यालय हेटौँडाका तत्कालीन डिआईजी नवराज ढकालले जैसवाललाई पर्सा जिल्लाबाट सरुवा गरेका थिए । तर पहुँच र प्रभाव भिडाएर हाल पर्सामै काजमा रहेका प्रहरी निरीक्षक जैसवाल एसपी रेग्मीका विश्वासपात्र रहेको भनी चर्चा चल्ने गरेको छ ।

दुई वर्षअघि रौतहट जिल्लामा प्रहरी उपरीक्षक गणेश रेग्मी र प्रहरी निरीक्षक जैसवाल सँगै कार्यरत थिए । यदि प्रमोद निर्दाेष थिए भने मंगलबार नै किन मुक्त गरेन भन्ने सवाल यहाँ उठाइएको छ । यस्तै, लागुऔषध मुद्धामा प्रकाउ परेका आरोपीलाई प्रहरीले केही घण्टाभित्रै पत्रकार सम्मेलन गरी सार्वजकि गर्ने गरेको प्रचलन तोड्दै कलवारहरूको हकमा ४८ धण्टा बितेपछि मात्र सार्वजनिक गरिएको छ । यसले पनि पर्सा प्रहरीको यो कार्य शङ्काष्पद बन्न पुगेको टिप्पणी गरिएको छ ।

(तस्बिर आफै बोल्छ : पहिले तीनजना पक्राउ परेको देखाइएकोमा पछि दुईजना मात्र सार्वजनिक गरिएको छ ।)