जीवन कल्पना, आशा ईच्छाहरुभित्र

जीवन कल्पना, आशा ईच्छाहरुभित्र


-सुमल कुमार गुरुङ,
जीवन मापने आधार समय हो । यो छोटो पनि हुन सक्छ लामो पनि हुन सक्छ । भौतिक रुपमा जीवन कति बाँचिन्छ भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । जन्मेदेखि मृत्यु सम्मको समय यात्रा नै जीवन हो । जीवनभरिको अनवरत् यात्रामा हामीले सफलता असफलताहरुको ओह्राली उकाली नाघ्दै अघि बढ्छौं । विलियम शेक्सपियरले आफ्नो कविताहरुमा जीवनको अर्थ, सुन्दरता र वास्तविकताबारे वर्णन गरेका छन् । १६ औ शताब्दिताकाको अंग्रेजी भाषाको शैसवकालमा रचिएका रचनाहरुमा उनले रचेका धेरै जसो रचनाहरु ऐतिहासिक तथ्य र जीवनको यथार्थतालाई समेटेर लेखिएका छन् । यसर्थ शेक्सपियरको कृतिहरुमा मानवीय संवेदनालाई समेटिएको हुनाले कल्पना, आशा, ईच्छाहरुभित्र प्रतिबिम्बित पात्रहरुले भरिएका कविता र नाटकहरु वर्तमान विश्व साहित्यको धरोहरस्वरुप अमर रहेको पाउँछौं । प्राय जस्तो शेक्सपियरका रचनाहरु विश्वका प्रमुख भाषाहरुमा उल्था भइसकेका छन् । मान्छेको जुनीमा विभिन्न चरणमा उमेरअनुसार बौद्धिक परिपक्वता, चाहनाहरु आउने र अन्त्यमा जीवनको इहलिला समाप्त हुने यथार्थलाई बडो सजिव ढंगबाट प्रस्तुत गरेका छन् । साधारणतया मान्छेको जीवनको आधा वैंश ढल्केपछि स्वभाव र विचारहरुमा गम्भीरता आउन थाल्छन् । तर, कतिपय अवस्थामा मान्छेको उमेर कलिलै भए तापनि जीवनबारे पनि गम्भीर हुन थाल्छन् । विभिन्न जीवनमा भोगेका कठिनाइहरु, वेदनाहरु, खुशीहरु र जीवनका तीतामीठा अनुभूतिहरु सबै मान्छे भित्रको कल्पना, आशा ईच्छाहरुबाट जन्मेका हुन् भन्ने मलाई लाग्छ । भौगोलिक अथवा प्राकृतिक वातावरण, पारिवारिक पृष्ठभूमि, शैक्षिक वातावरण र समाजिक माहौलले हाम्रो जीवनलाई प्रभावित पारेको हुन्छ । आ-आफ्नो कालमा महान् विद्वान दार्शनिकहरु, धर्म प्रचारकहरु, समाज र देशबारे चिन्तन राख्नेहरुले कल्पना, आशा इच्छाहरुबाट उब्जेका खोजहरुलाई आफ्नो बौद्धिक क्षमताको परिधिभित्र समेटेर संसारलाई बाटो देखाउने काम गरेका छन् । हजारौं वर्ष पहिलेका सभ्यतालाई खोजी गर्दै, निर्क्यौल र अभिलेख राख्दै २१औं शताब्दिसम्म आइपुग्दा वैज्ञानिकहरुमा खोजका चाहानाहरु बढ्दै रहस्यहरुको गहिराइतर्फ कल्पना र आशामा केन्द्रित हुँदै नौलो आयाम थप्ने हिसाबले निरन्तर अघि बढिरहेका छन् । वैज्ञानिक जगतमा आबद्ध पृथ्वीबासीहरुमा सौर्यमण्डल चाहार्ने महत्वकांक्षी इच्छाहरु प्रवल हुँदै गएको पनि हामीले देखेकाछौं ।

चेतनशील मान्छे, सबैलाई जीवनको यथार्थ थाहा हुन्छ । हामी एक्लै आउँछौं र एक्लै जान्छौं । मानव स्वाभावैले सबैभन्दा चेतनशील प्राणी रहेको पुष्ट्याउँछ किनभने हामीले जीवनको ओह्राली उकालीहरु बेला बखतपछि फर्केर पनि हेर्ने गर्छौं । बितेका बाल्यकाल र यौवनकालको संस्मरणहरु मानसपटलमा आउदा फिल्मी फ्लैसबैकझैं रुपहली पर्दामा हामीले तरंगित आफ्नो अतीतलाई देख्छौं । म अहिले पचास नाघिसकेँ । मलाई कति रमाइलो अनुभूति हुन्छ ती बितेका दिनहरु सम्झँदा । म यदि फेरि त्यही २२ वर्षको लक्का जवान भइदिएको भए मेरो स्फुर्ति र जाँगर, आँखाको वैंशालु हेराइ र संसारलाई चौतर्फी बसन्तमयी देख्थेँ । तर, यथार्थको धरातललाई टेकेर मैले आफ्नो रुप र वैंशलाई शेक्सपियरले व्यक्त गरेझै आफ्नै २२ वर्षे छोरामा पाएको छु । मलाई थाहा छ ऊ विस्तारै जिम्मेवारीको पहाडलाई काँधमा बोकेर कल्पना, आशा, ईच्छाहरुको परिधिभित्र रहेर मैले जस्तै जीवन ज्ञापन गर्ने छ । फरक केवल समय र परिस्थितिको रहने छ । ऊ पनि जीवनको होडबाजीमा विवाह, सन्तान र बुवाआमाको बुढ्यौलीको वैशाखी बन्नुपर्ने बाध्यताको दायराभित्र आउनुपर्ने छ भन्ने मेरो आशा, इच्छा हो । मलाई लाग्छ जीवनको सुन्दरतालाई व्याख्य गर्ने होभने पछि फर्केर हेर्नुपर्दो रहेछ । वर्तमान अथवा भइरहेको अवस्थाको क्रियालापको फिडबैक भइसकेपछि मात्र थाहा हुन्छ । जस्तो सुकै परिस्थितिलाई हामीले मौलिक सत्यता सम्झेर सन्तुष्टी मान्नु नै जीवन आधार हो जस्तो मलाई लाग्छ । विख्यात गायिका आनी छोइंङ्गले गाएर व्यक्त गरेकी …..फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार…. अभिव्यक्तिले जीवन दर्शनलाई हेर्ने दृष्टिकोण छर्लंग पारेको छ । आफ्नो दृष्टिकोण सकारात्मक राख्यौं भने जस्तो सुकै दुःख परे पनि हामी जीवन जिउने प्रेरणामा उत्प्रेरित भएर अघि बढ्न सक्छौं ।

हेर्ने र कल्पना गर्ने संदर्भमा जहिले पनि आशावादी पनि हुनुपर्छ । मलाई ८ कक्षा पढ्दा विलियम वाड्र्सवार्थको एउटा कविताले निकै प्रभावित पारेको थियो । उनी प्रकृति प्रेमी थिए भन्ने कुरा उनकै कविताहरुबाट हामीलाई थाहा हुन्छ । उनको एउटा कविताको शीर्षक छ ….यारो अनभिजिटेड” [Yarrow unvisited] अर्थात् यारो भ्रमणमा गईनन् । यारो एउटा सानो नदी हो जुन स्कटल्याण्डको सिमानामा प्रवाहित भएर एट्रिक नदीमा विलय हुन्छ । त्यसबेला यारोको किनारा र यसको कुमारी सुन्दरताबारे कविज्यु र उहाँको बहिनी डोरोथीले सुनेका थिए । एक पटक यारो नदी र यसको आसपासको सौन्दर्य निहार्ने लालसा कविज्युको मनमा पलायो र बहिनीलाई पनि भन्यो । बहिनी खुशीले फुरुंग भइन् । कल्पनामा देखेको यारोको सौन्दर्य अति सुन्दर होला भनेर कल्पनामा रमाउँदै एक दिन अवश्य जानुपर्ला भन्ने ईच्छा मनमा साँचेर राखेकी डोरोथीको आशा एकदिन अवश्य दाइले भ्रमणमा लानु हुन्छ होला भन्ने थियो । अनि त्यो दिन पनि आयो, विलियमले डोरोथीलाई संगै लिएर यारो नदी हेर्न प्रस्थान गरे । विलियमले बहिनी डोरोथीलाई यारोको वरिपरिको सबै ठाउँको भ्रमण गरायो तर यारोको भ्रमण चांहि गराएनन् । डोरोथीको आशा अब हामी केही बेरमा यारो पुग्छौं भन्ने थियो, तर, डोरोथीलाई अब हामी घर फर्कनु पर्छ भनेर विलियमले एक्कासी भन्दा डोराथी छक्क परेर दाइलाई प्रश्न गरिन् – “यारो हेर्न कहिले जाने दाइ ?, हामी यारो नजिकै छौं र हामी यारो हेर्न भनी आएका होइनौं र ?” डोरोथीलाई मुसुक्क हाँसेर जवाफ दिएका थिए – “बहिनी जुन यारो नदीको सुन्दरताको बारेमा कल्पना गरेर हृदयमा राखेकोछु त्यो अति नै सुन्दर छ भन्ने हाम्रो कल्पनाको यारो छ, कल्पनामा देख्ने सबै वस्तु अन्यन्त सुन्दर हुन्छ, यदि आज म गएर यारोलाई हेरेँ भने मेरो सुन्दर कल्पनाको यारोको नास हुन्छ । मेरो कल्पनाको सुन्दर यारो नदीलाई नष्ट हुन दिन्नँ बरु अर्को पटक हेर्न आउँला, आजलाई भई गो, घर जाऊँ” भनेर फर्केर आएका थिए । दाइको कुरा सुनेर बहिनी दंग भईन् । त्यसपटक यारो भ्रमण गरिएन ती दुबैले तर पछि दुई पटकसम्म यारो गएको तथ्यचाहि पछिका कविताहरुको वर्णनमा पाइन्छ । यारोसम्बन्धी कविताहरुको रचना कविज्युले १८औं शताब्दिमा लेख्नु भएको हो जसलाई हामी अंग्रेजी साहित्य जगतमा गौरवशाली समयको रुपमा पाउँछौ । जीवनको उत्कृष्ट कृतिहरु कल्पनाको अधारबिना साहित्य र्सजकहरुले रचना सक्दैनन् । विलियम वाड्र्सवार्थ अंग्रेजी साहित्य अकाशको एकदमै गहकिला नक्षत्र हुन् । त्यस्तै नेपाली साहित्यका अद्वित्तीय र्सजक महाकवि लक्ष्मीप्रसाद देवकोटाज्युको उद्गार -कल्पनाशील व्यक्ति नै धनवान् हुन् भन्ने अभिव्यक्तिलाई म सही ठान्दछु । कवि विलियमज्युको भावनाअनुरुप कल्पना सुन्दर हुन्छ जब यथार्थमा परिवर्तन हुन्छ त्यो सुन्दरता रहेको चाहाना विलिन भएर जान्छ । हाम्रो मनमा अर्कै कल्पनाको सुन्दर परिदृष्य फेरि तैरिन थाल्दछ र हामी कल्पना गरेर त्यसलाई प्राप्त गर्ने आशामा नयाँ चाहाना जन्माउँछौ । यही कल्पना गरेको सुन्दर वस्तुको प्राप्ति गर्नका लागि हाम्रो ईच्छाहरु सलबलाउन थाल्छन् । ईच्छाहरुले खेद्दै जाँदा चाहेको कुरा प्राप्त गर्नको लागि हामी संसार चाहाछौ । संसार चाहारी सके पनि हाम्रो चाहानाहरु सकिएको हुँदैन । ईच्छाहरु जीवनको अन्तिम घडिसम्म पनि पल्लवित भएर जीवित रहन्छ । त्यसैकारण जबसम्म सास तबसम्म आश भन्ने हाम्रो उखान छ ।

कल्पनाको कुरा गर्दा देश सुब्बाको भयवादलाई पनि सम्झन्छु । भय, त्रास, आतंकित र तर्सनु भन्ने अनुभूतिको प्रसँगमा कल्पनाले डोर्‍याएको मनमस्तिष्कमा सिर्जित भयमय छवि, आकृति अथवा अनुभूतिलाई बुझाउँछ, तर, यो भय र त्रासलाई ईच्छाले रोजेको हुँदैन । यो त आकस्मिक दैविक प्रकोप, कुनै नचिताएको, अकस्मात परिआउने विपद, मान्छे जब कमजोर र निरीह बन्दछ, आफूलाई असहाय ठान्दछ तब कुनै ठूलो शक्तिबाट शोषित हुने पीडा, आफ्नो अस्तित्वको खतरा, मरिन्छ कि भन्ने डर, भूतप्रेत र अदृष्य शक्तिको डर इत्यादि पनि मान्छेको जीवन र कल्पनाको पाटो हो । मान्छे वंशानुगत तथा मानसिक हिसाबले सृष्टिदेखि नै कुनै अदृष्य भयले लघारी रहेको कुरालाई हामी नकार्न सक्दैनौं । यिनै अदृष्य भयबाट मुक्त हुनको कल्पना गर्दै, अभिलाषा बोक्दै बिभिन्न परिस्थितिमा उब्जिएका ईच्छाहरुले डोर्‍यादै लैजाने नै जीवन हो ।

जीवनका नकारात्मक कल्पनाहरु मान्छेले नसोचे पनि भईपरि आउने घटनाहरु हुन् । यसरी यस्ता कुराहरु घट्दा विस्मय, आश्चर्य र आतंकित हुन पुग्छ । हामीले राम्रोको सट्टा भयभित हुने कल्पनाहरुलाई निम्त्याउँछौं । अन्तमा कल्पना एउटा मस्तिष्कको खोज हो जसलाई ईच्छा अथवा अनिच्छाले जन्माएको हुन्छ र जीवनलाई डोर्‍याउदै लैजाने अनिश्चित गन्तव्य हो जसले हामीलाई मृत्यु जस्तो शब्दले बिट मारेको हुन्छ । पाठक महानुभावहरुलाई निवेदन गर्न चाहान्छु म कुनै दार्शनिक होइन तर जीवनले दिएको अनुभूति हजुरहरुसँग बाँडेको मात्र हुँ । प्रत्येक मान्छेको आ-आफ्नो सोचाइ र हेराइ हुन्छन् ।

[email protected]