जनताद्वारा चुनिएका जनप्रतिनिधि नै निर्वाचित न्यायाधीश : प्रधानन्यायाधीश पराजुली

जनताद्वारा चुनिएका जनप्रतिनिधि नै निर्वाचित न्यायाधीश : प्रधानन्यायाधीश पराजुली


प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सावधानी, संवेदनशील र होसियारीपूर्वक जनतालाई न्याय दिन न्यायिक समितिलाई आग्रह गर्नुभएको छ । सर्वोच्च अदालतले शुक्रबार धुलिखेलमा आयोजना गरेको ‘न्यायमा सहज पहुँचका लागि न्यायिक समितिको भूमिका’ विषयक दुईदिने अन्तरक्रियामा उहाँले आर्थिक, सामाजिक विभेदमा परेका, रुपान्तरण हुन नसकेका, पिछडिएका र दबिएका जनतालाई न्याय दिनुपर्ने धारणा अघिसार्नुभयो ।

प्रधानन्यायाधीश पराजुलीले पार्टीबाट निर्वाचित भए पनि निष्पक्ष भएर न्याय प्रदान गर्न जनप्रतिनिधिलाई अनुरोध गर्दै कानून मान्ने संस्कारको विकास हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यदि तपाईले न्याय दिने क्रममा निष्पक्षताका लागि मानव मष्तिस्कको प्रयोग गर्नुभएन भने यो व्यवस्था अन्त्य भएर जान्छ ।’

प्रधानन्यायाधीश पराजुलीले जनताद्वारा चुनिएका जनप्रतिनिधि नै निर्वाचित न्यायाधीश भएका बताउँदै न्यायिक समितिलाई प्रदान गरिएको अधिकार न्यायको जग बसाल्ने आधारशीला भएको बताउनुभयो । ‘अब निर्वाचित जनप्रतिनिधिले न्यायाधीश हुनका लागि निष्पक्ष काम गरेर प्रमाणित गर्नुपर्छ’– उहाँले भन्नुभयो ।

महान्यायाधिवक्ता वसन्तराम भण्डारीले जनप्रतिनिधिबाटै न्यायिक काम छिटोछरितो र यथार्थ हुनुपर्नेमा जोड दिँदै मेलमिलापको विषय पनि प्राथमिकतामा परेको बताउनुभयो । पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले कानूनी ज्ञानको पूर्वाधार विकास हुनुपर्ने उल्लेख गर्दै अदालतले अपनाएको कार्यविधि न्यायिक समितिमा पनि लागू गर्नुपर्ने बताउनुभयो ।

काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा, रामेछाप र सिन्धुपाल्चोकको स्थानीय न्यायिक समितिका पदाधिकारी अन्तरक्रियमा सहभागी रहेका छन् ।

तस्बिर रासस