नेपाली चित्रकलाबारे विदेशमा अध्ययन हुने

नेपाली चित्रकलाबारे विदेशमा अध्ययन हुने


–साहिँला तामाङ

नेपालको चित्रकलाले छुट्टै महत्व बोकेको सरोकार भएकाहरुले बताएका छन् ।

ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा फिलिपिन्सको दगुपान पाङ्गासिनान, मंगलदान नेशनल हाइस्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी सो स्कुलका प्रधानाध्यापक लियो इ ब्लाकिरले नेपाली चित्रकलाले समुदायलाई आकर्षण गर्नसक्ने विश्वास व्यक्त गरे ।

मंगलबारदेखि शुरु भएको प्रदर्शनीको अन्तिम दिन शुक्रबार उनले आफ्ना विद्यार्थीलाई समेत नेपालको चित्रकला विषय अध्ययन गराउन पहल गरिने आश्वासन दिए । प्रदर्शनीमा राखिएका चित्रले नेपालका हिमाली क्षेत्रलगायत मानिसको जनजीवनलाई उतारेको उनको भनाइ थियो । सो स्कुलमा अध्ययन गरिरहेका सात हजार ५०० विद्यार्थीमध्ये चित्रकलामा रुचि राख्ने विद्यार्थीलाई नेपाली चित्रकलासँग जोड्नका लागि आवश्यक पहल गरिने उहाँले बताए ।

सञ्चारकर्मी लिवे मानानतान प्यारागिउरीले प्रदर्शनीमा राखिएका नेपालका चित्रले थप चित्रकार उत्पादन गर्नमा हौसला मिल्न सक्ने औँल्याए । सुशान भाल्देज यादाओले नेपालको राजधानीलगायत विभिन्न क्षेत्रमा अवस्थित मठमन्दिर तथा चैत्यगुम्बाले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा देशको नाम राख्न सक्ने उनले औँल्याए ।

चित्रकार जेन मेरी ग्रेस किलोपले चित्रले नेपालमा परम्परागत रुपमा मानिँदै आएको संस्कृति र मौलिक पहिचानलाई जोगाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उक्त प्रदर्शनीमा नेपालको संस्कृति, परम्परा, जातजाति, बौद्धधर्म, वेशभूषालगायत झल्कने खालका चित्र राखिएको योङ पिकासोका प्रबन्ध निर्देशक अजय देशारले बताए । प्रदर्शनीका लागि उक्त संस्थाको प्रतिनिधित्व गर्दै देशार र चित्रकार किशोर नकर्मी यहाँ आएका थिए । प्रदर्शनीमा देशार, नकर्मी, विपना महर्जन र सीतु मास्केद्वारा सिर्जना गरिएका चित्र राखिएको थियो ।