(कथा)अनुहार -कृष्णपक्ष

(कथा)अनुहार -कृष्णपक्ष


साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गम्भीरता भरिन्थ्यो । नीलो आकाशको विराट क्षितिजतिर एकोहोरो कतै हराए झैं, केही खोजिरहे झैं, केही सोचिरहे झैं । उमेरको दोष पनि हुन सक्छ। आउँदा जादा पटक पटक देख्ने गर्छु उनलाई, बार्दलीको डिलमा अडेस लगाएर उभिरहेकी, बादलले छेकेको उदास जून जस्तो देखिन्थ्यो त्यो अनुहार ।

कहिलेककाँहि नारायण गोपालको पुरानो गीत बजिरहेको पनि सुनिन्थ्यो – एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा …..

पहिलो पटक हाम्रो भेट एउटा सांस्कृतिक कार्यक्रममा भएको थियो, नेपालबाट कलाकारहरु आएका थिए । कुनै अपरिचित व्यक्तिसंग भेट हुनु या नहुनुको के महत्व हुन्छ र ? यद्यपि त्यो व्यक्तिसँग म निकै घुलमिल भएझैं या त्यो अनुहारसँग म धेरैपहिले देखि परिचित थिएँ जस्तो लागिरह्यो । भेटेर एकै पटक धेरै प्रश्नहरु सोध्न मन थियो, त्यो दिन त्यतिकै थाँती रह्यो ।

अर्को पटक सुपर मार्केटमा फेरि उसै गरि भेट भयो, मैले बोलाएँ –
‘एक्सक्युज मि, यहाँको शुभनाम ?’
‘साधना।। साधना शर्मा । किन र महाशय ?’
हेर्दै नहेरी प्रश्न र जवाफ एकैपटक फर्काइन् ।

हैन त्यतिकै म अलि रातो भएँ, अल्लारे केटाकेटी जस्तो कुनै अपरिचितको पिछा गरेझैं भान भयो आफूलाई । विषय खोतल्दै मैले भनेँ – ‘हैन, मेरी एउटी मित्र थिईन्, कलेजकी सहपाठी … उनको अनुहार दुरुस्त तपाईंसँग मिल्ने भएर सोधेको । हाम्रो भेट नभएको पनि बर्षौं भयो ।

सायद उनलाई यो बहाना जस्तो लाग्यो कि, प्रसंग अगाडि बढेन । त्यसपछि पनि परिचयको कुनै उत्सुकता देखाइनन् उनले । घर फर्केपछि लाग्यो, संसारमा धेरै अनुहारहरु मिल्दाजुल्दा हुँदा रहेछन् ।

त्यसपछिको अर्को भेट ।
‘अनि उहाँको नामचाहि के थियो त ?’ मेरो हराएको साथीको बारेमा उनी आफैले जिज्ञासा राखिनँ ।
‘साधनाजी, उनको कथा अलि अनौठो छ… म भन्दै गएँ ।’

नाम श्वेता अधिकारी, श्वेताको सम्झना हुनासाथ म एकपटक पुराना याद्हरुको भीडमा हराउँछु ।
घन्टाघरको टिंग टिंग आवाज, पारिलो घाम र मुंगफली बदाम । त्रि चन्द्र क्याम्पसमा पढ्दाका ती दिनहरु हुने गर्थे, भित्र कक्षा चलिरहेको हुन्थ्यो । बाहिर हामी गफिइरहेका हुन्थ्यौं । अमृता लोकेन्द्र, बिरेन श्वेता र म … कहिलेकाही अरु पनि थपिन्थे तर हामी चाहि प्राय सँगै हुन्थ्यौं । कहिले त दिनभर एउटै पनि कक्षामा शामिल नभईकन बितेका उदाहरण कति थिए कति हामीसँग ।

‘यो समाज के हो ? समाजको डर वा समाजले उठाउने औंला भनेको कस्तो हुन्छ ? यसले कोर्ने परिधिको आकार कत्रो हो ?’ एकदिन कुरै कुरामा श्वेताले भनी ।

‘ल, श्वेताले के उपद्रो गर्न आँटी है केटा हो’, अमृतले प्वाक्क थप्यो -‘भने पछि चाला माला ठीक छैन ।’ सबै हाँसे ।

‘तल्लो जात या अमिल्दो खानदानको मान्छेसँग भाग्न खोज्यौ कि कसो ? तर ती त अब सामान्य भैसके है श्वेता । यस्ता बिषयहरुमा त हाम्रो समय र समाज आफै रुपान्तरण हुने अभ्यासमा छ ।’ बिरेन अलि गम्भीर थियो हाम्रो समूहमा ।

‘त्यस्तो केही हैन, बिहे नै गर्नु पर्ने, नारीले जन्मिएको घर भन्ने कुरा छाडेरै जानु पर्ने या नया घर बसाउनै पर्ने, म त यो नियमको बारेमा पो सोचिरहेकी छु । कहिलेदेखि र कसले बनायो होला है यो नियम ?’ लाग्यो, आज श्वेता धेरै कुरा भन्न गैरहेकी छ ।

‘कसरी बदल्छ्यौ ? बिहे नगरी बस्छ्यौरु त्यो पनि पाइन्छ तर तिमीले भनेजस्तो चेन्ज-सेन्जचाहि केही पनि हुदैन है ।’ अर्काले थप्यो, ‘तर अबको पाँच बर्षमा श्वेताले बिहे गरिनन् भने मलाई भन्नु, म बाजी राख्छु ।’

‘पाँच बर्षको कुरा छोडी देऊ, मैले त आजीवन बिहे नै नगरी बस्ने निर्णय गरेकी छु’ । अलि अलि उक्साउनु मात्र पर्थ्यो, भए नभएको कुरा गर्न थाल्थी ऊ । आज अलि धेरै नै हाउडे भई । ‘रह्यो घरजमको कुरा, मलाई छोराछोरी जन्माउन, एक्लै घर बसाउन कसले रोकेको हुन्छ ? ल, केटा हो बाजी राख, म यो पनि गरेर देखाइदिन्छु, बिहे नगरी ।’ फेरि एकपटक सबै हलल्ल हाँसे ।

ल ! योचाहि अति नै भयो, यस्तो भयो भने मेरो घरबार सबै श्वेतालाई ….. मैले पनि बाजी राखेँ ।

पश्चिमा समाज र संस्कृतिले यसलाई स्वीकार गरेको होला या यी कुराहरू सामान्य होलान्, तर बिनापुरूष कुनै स्त्री आमा हुने बाटो हिड्न हाम्रो समाजमा सजिलो छैन । या त उसले जीवनभर कलंकित भएरै जिउनु पर्छ या त जीन्दगीको यात्रा नै टुङ्ग्याउनु पर्छ ।

अब त यी सम्वादका सम्झनाहरू पनि धमिराले धूलो पारेको पुस्तक जस्तै निकै पुराना भइसके। थाहै नपाई समयले धेरै घुम्ती र जंघारहरू पार गराइसकेको छ, फर्केर हेर्दा कहाँबाट आएको हुँ, आफै हिडेर आएका ती गोरेटाहरू नै नदेखिने गरी । यो पराइ मुलुकमा गैर आवासीय नेपालीको रूपमा आफूलाई उभ्याएको पनि लगभग लगभग दुई दशक र केही बर्षहरू नाघिसकेको छ ।

साधनाजी श्वेताका यी प्रसंगहरू चुपचाप सुनिरहनु भएको थियो, उत्सुक हुँदै सोध्नुभयो, अनि त्यसपछि के भयो ? कहाँ कसरी छुटिनु भयो त ?

समयक्रममा श्वेतासँग मेरो सामिप्यता बढ्दै गयो । बारम्बार हामी एक अर्काको घर जान्थ्यौं । सिनेमा होस्, नाटक या संगीतका हरेक अनुभवहरूमा एउटा छायाँजस्तो यदि कसैको साथ मसँग हुन्थ्यो भने त्यो श्वेताको हुन्थ्यो, मेरो वरिपरि हरदम घुमिरहेको । कतिपटक केही कुरा भन्न चाहन्थेँ तर आवाज कतै अवरूद्ध भएझैँ लाग्थ्यो, यस्तो बेला केही नबोली घण्टौं रानीपोखरीको किनारमा नजर बिसाउनू वा अगम्य क्षितिजतिर टोलाउनू हाम्रो दिनचर्या हुन्थ्यो ।

त्यति नजिक भएर या दिनभर सँगै रहेर पनि अभिव्यक्त गर्न बाँकी कति कुराहरू हुन्थे मसँग । फर्केपछि जब उसलाई फोन गर्थेँ तर उसको आवाज सुनेपछि म निशब्द रहन्थेँ, त्यसपछि दुवैतिर कोही केही बोल्दैनथ्यो, एउटा अननौठो मौनता छाउँथ्यो ।
…..

अब त हाम्रो मनको सामीप्यता यति धेरै बढिसकेको थियो कि, तिमीलाई मन पराउछु, भन्नु टाढा भएको हुनु जस्तो लाग्न थालेको थियो । अर्थात् त्यो अभिव्यक्त गर्नुपर्ने दुरी या सिमानाहरू सबै आफसे आफ भत्किसकेका थिए । हामी एक अर्कामा हराइसकेका थियौं।

कति विहानहरू त म आफूलाई श्वेताको न्यानो अङ्गालोमा बाँधिएको पाउथेँ । झ्यालमाथि सूर्य मुस्काइरहेको हुन्थ्यो ।
….

कथा लेख्ने र मेट्ने आखिर समय नै रहेछ। समयले नै हामीलाई आ आफनो जीन्दगी जिउन सिकायो । कसरी टाढा भयौं, भन्न सक्तिनँ तर सम्पर्क टुटेपछिका धेरै समय उसको खोजीमा बिताएको छु तर त्यो खोजी जति तीव्र हुनुपर्थ्यो कार्यव्यस्तता या अन्य कारणले हुन सकेन होला, र त्यसमा आजसम्म पनि म आफुलाइ दोषी पाउँछु। म अरू कसैको भएँ, उनी पनि अरू कसैकी भइन होला ।

श्वेताको अतीतलाई, उनको छाँया वा माया सबैलाई अरू कसैमा अनुवाद गरेर जिउन अभ्यस्त हुदै गएँ, यसरी जिउने धेरै हुन्छन संसारमा, मन बुझाउथेँ ।

इन्द्रेणीको आकार जस्तै श्वेता मेरो जीवनमा उदाइन् र अस्ताइन् । श्वेता नामको इन्द्रेणी मेरो जीवनबाट अलप भएको पनि आज वर्षौं भइसकेको छ, समय कति छिटो बित्दोरहेछ । तर साधनाजीको अनुहार, कपाल, आँखा सबै सबैले मलाई श्वेताको सुन्दर यादहरूको चित्र कोर्न सघाइरहेका छन यतिखेर । श्वेता र साधनामा एउटै फरक थियो, साधनाजीको गम्भीरता। श्वेता धेरै चञ्चल थिइन्।
…..

भर्खरै छोरो पेरिसबाट घर फर्किएको छ, एउटा प्रदर्शनी थियो उसको । चित्रकारितामा असाध्यै दिलचस्पी राख्छ ऊ। घरभरि उसले कोरेका पेन्टिङ्हरू टाँगिएका छन् । आज उसले कोरेको एउटा पोट्रेटमा टक्क अडिन्छु म । हावामा उडिरहेको कपाल, नीलो आँखा, धेरै कुरा भन्न खोजिरहेझैँ चञ्चल अनुहार …. दुरूस्त श्वेता । २५ बर्ष अगाडिकी मेरी सहपाठी । कसरी उता-यो उसले मेरो छातिभित्र वर्षौं दबिएर बसेको सपनाजस्तो त्यो आकृति ? कहाँबाट भेट्यो उसले श्वेताको तस्वीर ?

‘बाबा, यो त सिमाको तस्वीर हो, राम्रो चित्रकार हुनुहुन्छ । हाम्रो आर्ट स्कूलमा एउटा क्लास उहाँको पनि छ । आज उहाँकै पोट्रेट बनाउने मूड चल्यो’ छोरो भन्दै थियो ।

कुनै कलाकारले कसैको मुहारको चित्र उतार्नु कुन ठूलो कुरा थियो ? तर अनुहार कस्तो श्वेतासँग मिलेको ? श्वेता, साधना, सीमा, आ…. संसारमा कति अनुहार मिल्दाजुल्दा हुन्छन् तिनको के हिसाबकिताब ?

धेरैदिन पछि आज अचानक साधनाजीसँग भेट भयो, कुराको क्रममा सोधेँ, अँ साँच्ची यहाँको परिवारका बिषयमा त सोध्नै बिर्सेको को को हुनुहुन्छ तपाइँहरू ?
‘एउटी छोरी छे, सीमा, चित्रकारिता गर्छे ।’

‘सीमा ?’ मेरो आँखाभरि त्यो पोट्रेट झल्झली नाच्न थाल्यो, कुतुहलता र छटपटीको चिरचिरे कमिला शरीरभरि कुदे्झैँ महशुस भयो ।

अनि तपाइँको श्रीमान ?
……
……

केही नबोली साधनाजी मतिर फर्किएर मुस्काइरहनु मात्र भयो ।
आँखा उस्तै नीला थिए,
कपाल हावामा तैरिइरहेको थियो,
र मैले पहिले कहिल्यै पढ्न नसकेका अक्षरहरू आज अनुहारमा स्पष्ट कोरिएका थिए ।

म पढ्दै गएँ,

‘यही प्रश्न धेरैले सोधेपछि त म यहाँ बसाइ आउनु परेको हो, आफनो नाम र परीचय सबै बदलेर । एक्लै जिउनु त कहाँ सजिलो हुँदोरहेछ र भनेजस्तो ….? तर यतिका बर्षसम्म त म यो राज लुकाएरै बाँचिरहेकी छु भने आज अर्कैको भइसकेका तिमीलाइ कसरी भनुँ मेरो श्रीमान तिमी नै हो भनेर …… जीवनमा हारेँ या जितेँ थाहा छैन यद्यपी मैले क्याम्पस पढ्दाको त्यो बाजीचाहि जितेको छु… देख्यौ त ?’
-इजरायल