‘सेलाएको घाम’ कविता सङ्ग्रह प्रकाशित

‘सेलाएको घाम’ कविता सङ्ग्रह प्रकाशित


काठमाण्डौं । २०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादकसमेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको सेलाएको घाम नामक कविता सङ्ग्रह बी.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । वीपी घिमिरेको नामबाट विभिन्न पत्रपत्रिकाहरूमा समसामयिक राजनीतिक चिन्तन र अध्यात्मिक लेखहरू लेख्दै आएका घिमिरेको प्रस्तुत कविता सङ्ग्रहमा विषयगत विविधता रहनुका साथै वर्तमान युगीन राष्ट्रिय र मानव जनजीवनसँग सम्बन्धित ४१ वटा कविता रहेका छन् । सामाजिक विशृङ्खलता निम्त्याउने र समाजलाई अधोगतितफ धकेल्ने प्रकृतिका साहित्यलाई निरूत्साहित गर्नुपर्ने र समाजलाई समुन्नततर्फ उठाउनुपर्ने विचारका पक्षमा उभिने घिमिरेका रचनामा सामाजिक सद्भाव र अग्रगतिकै स्वर मुखरित छ ।
विसङ्गत वर्तमान परिवेशको चित्रण, जीवनयात्राको अभिव्यक्ति, वर्तमान विसङ्गत परिस्थितिप्रति चिन्ता, विधवाको दुर्दशाको चित्रण, जीवनको कारूणिकताको वर्णन, युगीन याथार्थको प्रस्तुतिको अभिव्यञ्जना पाइने यस सङ्ग्रहका कविताहरूमा राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्यसमेत प्रहार गरिएको छ । कतिपय कवितामा आक्रोश, व्यङ्ग्य, विद्रोह र सहानुभूतिको स्वरसमेत मुखरित छन् । घुमाउरो पाराले अध्यात्मिक चेतनाको अभिव्यञ्जना भेटिने घिमिरेका कतिपय कवितामा युगीन राष्ट्रिय सन्दर्भअनुरूप सकारात्मकभन्दा नकारात्मक बहुल वातावरणको प्रस्तुति भेटिन्छ भने अधिकांश कविताले जीवनका विविध पाटासँग सम्बन्धित यथार्थको प्रकटीकरण बोकेका छन् । राजनीति सापेक्ष नभई राजनीति निरपेक्ष रहेका यिनका कवितामा अभिव्यञ्जित विचार कुनै राजनीतिक वादविशेषमा केन्द्रित नभई मानवीय संवेदनामा केन्द्रित छन् ।
सरल र स्वाभाविक भाषा प्रयुक्त रहेको यस सेलाएको घाम कविता सङ्ग्रहका कविताहरूमा प्राय मानक एवं परिनिष्ठित भाषा शैलीय विन्यास पाइन्छ भने कथ्यमिश्रति भाषाले कवितामा मिठास थपिदिएको आभास हुन्छ । प्राकृतिक बिम्बको प्रचुर प्रयोग रहेका यी कविताहरू लयात्मक गुणले आतप्रोत छन् ।
विषयवस्तु विविधता, स्वच्छन्द प्रेमप्रणयमूलकता, राष्ट्रवादिता, भाषिक सरलता आदि विशेषता बोकेका कवि विद्याप्रसाद घिमिरेको यस कविता सङ्ग्रहका कविताहरू क्लिष्ट र जटिल नभई सरल र बोधगम्य छन् । यिनै विविध गुण तथा विशेषताहरूले गर्दा सेलाएको घाम कविता सङ्ग्रह निकै परिष्कृत, परिमार्जित र स्तरीय कविताको सँगालो बन्न पुगेको छ । -सुवी सुधा, मेस, काठमाण्डौं