(गीत) पर्खी बसे हुन्छ -दाजु गुरुङ

(गीत) पर्खी बसे हुन्छ -दाजु गुरुङ


बिहानीको किरणसँगै नौलो आशा खुल्छ,
भरे साँझ फर्की आउँछु पर्खी बसे हुन्छ ।

मुटुभरि साँची राख्नू मीठा-मीठा बात,
सधैं नौलो कति न्यानो पिरतीको काख,
लाज लाग्यो आम् कि नआम्, तिम्रो दिलको छेऊ,
अजम्बरी फूल हो माया, फुलिरहन देऊ ।
मायालुको साथ पाए, ईन्द्रकमल फुल्छ
भरे साँझ फर्की आउँछु, पर्खी बसे हुन्छ ।

पहिलो प्रेम, पहिलो मिलन पूर्णिमाको रात,
अविरल बगी रहोस् जीवन गंगा साथ,
प्यास लाग्यो, खाम् कि नखाम्, रानी बनको पानी,
जति खाए तिर्खा बढ्ने, यो मनै त हो नि ।
चोखो माया जून जस्तै सधै शीतल हुन्छ,
भरे साँझ फर्की आउँछु, पर्खी बसे हुन्छ ।