विद्यार्थीद्वारा विज्ञान विषयक प्रदर्शनी

विद्यार्थीद्वारा विज्ञान विषयक प्रदर्शनी


राजधानीको बाफलस्थित हार्टल्याण्ड एकेडेमीका विद्यार्थीहरूको सक्रियतामा विद्यालय परिसरमै शुक्रबार एक दिवसीय साइन्स प्रदर्शनी सम्पन्न भएको छ ।

सो एकेडेमीका कक्षा एकदेखि दशसम्मका विद्यार्थीले विविध वैज्ञानिक प्रयोग गरी प्रदर्शनी अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई त्यस बारेमा जानकारी गराएका थिए । साइन्स प्रदर्शनीमा विज्ञान प्रविधिका विविध विषयलाई प्रयोग गर्दै उनीहरूले आफ्नो क्षमता प्रदर्शन गरे ।

विद्युतीय उत्पादन, वातावरणीय प्रभाव, फ्याँक्नुपर्ने सामानहरूको पुनःप्रयोग, सोलार पद्दतीको प्रयोगलगायत विषयलाई प्रदर्शनीमा विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान पनि हासिल होस् भन्नका लागि यस किसिमका प्राक्टिकल कार्यहरू गराउँदै आएको स्कुल कोअर्डिनेटर भिमसेन साउदले बताए । केही समय अघिदेखि नै यसको तयारी गरिएको बताउँदै यस किसिमको प्रदर्शनीबाट विद्यार्थीहरुमा उत्साह र उर्जा थपिएको उनको भनाई थियो ।

हार्टल्याण्ड स्कुलका विद्यार्थीद्वारा संचालीत सो प्रदर्शनीको अवलोकनका लागि वरपरका करिब एक दर्जन विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रदर्शनीले आफूहरुलाई उर्जा दिएको विद्यार्थीहरु बताउँदै थिए भने एकेडेमीका प्रिन्सिपल करणसिंह गोयला विद्यार्थीहरुको कामले आफूलाई गर्व महसुस भएको बताए ।