पपस्टार धिरजले नयाँ इतिहास ब्रुनाईमा रचे

पपस्टार धिरजले नयाँ इतिहास ब्रुनाईमा रचे


सेरिया, ब्रुनाई । गत १२ फेब्रुवरीका दिन नेपालका सदावहार पपगायक धिरज राईलाई ब्रुनाईमा राजसम्मान प्रदान गरियो । कार्यक्रमको शुभारम्भमा धिरजको आगमन हुने बाटोमा रातो कार्पेट विछ्याइएको थियो । उद्घोषकले कार्यक्रम शुरु भएको जानकारी दिँदै गर्दा धिरज सानदार मोटर बाइकमा आफ्ना अघिपछि रक्षकहरुको साथ स्टेजमा प्रवेश गरेका थिए । उनका पछिपछि आधा दर्जन फोटोग्राफरहरुले पिछा गरिरहेका थिए । मोटरबाइकबाट उत्रिएर उनले सबैलाई अभिवादन गरे र सबैलाई सम्झे । त्यसपछि उनले तिम्रो नजर तिम्रो नयन बोलको गीतबाट आफ्नो प्रस्तुति शुरु गरे । स्टेज तताउन नम्बर वन मानिएका धिरजले सबैलाई उफारे । गीतमा स्वर जति दिए त्यति नै उनको प्रस्तुति कलाले गर्दा दर्शकहरु तातिएका थिए ।
लाहुरघरमा सर्वोत्कृष्ट उद्घोषक मानिएको महेश वनेम र छुल्ठिम गुरुङको संचालन कार्यक्रम रोचक हुनुको अर्को पक्ष थियो । पपस्टार धिरजले उनका पुराना लोकप्रिय गीत र नयाँ गीतहरु प्रस्तुत गरेका थिए । धिरजलाई वान्स मोरको अनुरोधले बेलाबेला निक्कै अप्ठ्यारो परेको थियो । उनको गीतमा देखिएको हुटिङ र दर्शकहरु उफ्रेका देख्दा लाग्थ्यो धिरजको विकल्पमा अझै अन्य पपगायक उदाएका छैनन् ।
गोर्खा मेजर यामबहादुर रानाबाट पानसमा बत्ती बालेपछि शुरु भएको कार्यक्रमको प्रथम प्रस्तुति चाइनिज लायन डान्स रहेको थियो । त्यस्तै गरि फिलिपिनी कलाकारहरुद्धारा बलडान्स र चर्चित डान्सर छुल्ठीम गुरुङ र केही लाहुरे दिदी-बहिनीहरुले नेपाली, भोजपुरी तथा हिन्दी गीतमा नृत्य प्रस्तुत गरेकाथिए । कार्यक्रमको उत्तरार्धमा डाउनलोड ब्याण्डबाट विभिन्न आधा दर्जन अग्रेजी गीतहरुको प्रस्तुतिले कार्यक्रममा नौलो आयाम दिएको थियो ।
सेरिया नजिक रहेको मोमोङ स्पोरेट कम्प्रेल्क्सको मुख्य हलमा सम्पन्न कार्यक्रममा लगभग १२ सयको संख्यामा उपस्थिति रहेको थियो । प्रबेश शुल्क प्रतिब्यक्ति ब्रुनाई डलर १५ कायम राखिएको थियो भने दर्शकहरुलाई ओसार्नको लागि विभिन्न ठाँउमा बस सेवा उपलब्ध गराइएको थियो । कार्यक्रमलाई नेपालीसमाचार डटकम र साहित्यघर डटकमले अनलाइनमार्फत प्रत्येक्ष प्रसारण गरेको थियो ।
धेरै गोर्खालीहरु अफगानिस्तान जान लागेकाले उनीहरुको कार्यसफलताको कामना गर्दै सकुसल फिर्तीको लागि शुभकामना दिन प्रि डिप्ल्यायमेन्ट नाइट नाम दिइएको थियो । गायकको गायन तथा प्रस्तुति, उद्घोषण उत्कृष्टता, चाइनिज, मले लगायतको नौलो नृत्यहरु र कार्यक्रम स्थल अत्यन्तै राम्रो हुनु पनि एतिहासिक कार्यक्रम बन्न सहयोग भएको कुरा दर्शकहरुले बताए । सम्भवतः थोरै कलाकारले सबैभन्दा धेरै मनोरन्जन दिएको यो नै पहिलो अवसर हो । उक्त कार्यक्रमका मुख्य संयोजक मिलन चाम्स रहेका थिए ।-तिगेला