‘मधेशी पुत्र २’ को सेन्सर पास गर्नुपर्ने भन्दै मधेशी कलाकार आन्दोलित

‘मधेशी पुत्र २’ को सेन्सर पास गर्नुपर्ने भन्दै मधेशी कलाकार आन्दोलित


मधेशका घटना तथा मधेश आन्दोलनमा आधारित ‘मधेशी पुत्र २’ को सेन्सर पास गर्न माग गर्नुपर्ने भन्दै मधेशी कलाकारहरु आन्दोलनमा उत्रिएका छन् ।

‘मधेशी पुत्र २’ चलचित्रमा आन्दोलनका दृष्यहरु र स्वतन्त्र मधेशको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका डा.सीके राउतको भूमिका राखेको भन्दै सेन्सर बोर्डले ती दृष्यहरु र डा.राउतको भूमिका हटाउन निर्देशन दिएको छ । सो चलचित्रलाई पास गराउनुपर्ने माग राख्दै सडकमा उत्रिएका कलाकारलाई स्थानियले पनि साथ दिएका छन् ।

हजारौंको संख्यामा आएका सर्वसाधारणहरुले यो चलचित्र सेन्सर बोर्डले पास गर्नुपर्ने माग गरेका छन् । राजविराजमा निकालिएको विरोध प्रदर्शनमा सोही चलचित्रका कलाकारहरु, अन्य कलाकार र स्थानीयहरुको उल्लेख्य सहभागिता थियो ।

आयोजित कोणसभामा फिल्मका निर्माता उदितनारायण साह, सँगीतकार तथा कलाकार कमल मण्डल, कलाकारहरु रुकेश साह, देवेन्द्र यादव, दीपनारायण साह लगायतले सम्बोधन गरेका थिए ।

यता, निर्माता समूहले ‘मधेशी पुत्र २’ मा सामाजिक सद्भाव खल्बल्याउने खालका कुनै किसिमको दृष्य वा कथा नरहेको भन्दै यो एउटा राजनीतिक घटनाको आधारमा तयार पारिएको चलचित्र रहेको दावी गरेका छन् ।