पर्सा खुल्ला दिसामुक्त अभियान अधुरै

पर्सा खुल्ला दिसामुक्त अभियान अधुरै


पर्सा जिल्लालाई २०१७ डिसेम्बर अर्थात् पुस महिनाको अन्त्य सम्ममा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान पुनः ओझेलमा परेको छ । विगत ५ वर्षदेखि पर्सालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न अभियान चल्दैछ तर ५ वर्षमा जिल्लाको आधा भाग मात्र खुल्ला दिसामुक्त क्षेत्रा घोषणा भएको छ ।

घोषित स्थानहरू पनि अनुगमनको अभावमा पुरानै अवस्थामा फर्किरहेको देख्न सकिन्छ । हतार–हतार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेका स्थानहरूमा पुरानै प्रवृत्ति हाबी भएको देखिन्छ । मानिसहरू अहिले पनि सो क्षेत्रमा खुल्ला शौच गरिरहेका छन् । दाता तथा दातृसंस्थाले आनुदान सहयोग दिउन्जेल सबैथरी काम गर्ने र अनुदान रोकिएलगत्तै कुनै पनि काम नगर्ने प्रवृत्तिले गर्दा यस्ता धेरै अभियान संकटमा परेको देखिन्छ ।

जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पर्सामा ८३ प्रतिशत घरधुरीमा शौचालय बनेको छ । जिल्लामा रहेका ९७ हजार ४ सय ३० घरधुरीमध्ये १५ हजार ६ सय १० घरधुरीमा शौचालय बन्न बाँकी रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साका इन्जिनियर रामहित यादवले जानकारी दिए । ‘१४ वटा स्थानीय तह मध्ये २ वटा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका र बाँकी पनि अन्तिम चरणमा छन्’, इन्जिनियर यादवले भने, ‘गाउँपालिकाका ३० वटा वडा, महानगरपालिकाको ९ वटा वडा र तीनवटा नगरपालिकाका १४ वटा वडा खुल्ला दिसामुक्त क्षेत्र घोेषणा हुन बाँकी छ, तोकिएको समयमा हुन नसकेको भए पनि अन्तिम चरणमा पुगेका छौँ ।’

पर्सा जिल्लामा तत्कालिन ८२ गा.वि.स र १ उप महानगरपालिका रहँदा खुल्ला दिसामुक्त क्षेत्र अभियान सञ्चालन भएको थियो । पुरानै अवस्थामा नपा र गा.वि.स गरी केवल ४३ स्थानमा मात्र खुल्ला दिसामुक्त क्षेत्र घोषण भएको छ । सो अभियान अन्तर्गत युएन हेभिटाट र युनिसेफको ५ करोड रुपया भन्दा बढी लगानी भइसकेको छ । यसैगरी नेपाल सरकारको पनि यस क्षेत्रमा थप लगानी भएको छ । देशलाई नै ठुलो क्षति दिएको भुकम्प, मधेस आन्दोलन, नाकाबन्दी र हाल आएर स्थानीय निकायको तथा आमनिर्वाचनको कारण तोकिएको समयमा पर्सा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न नसकिएको विकाश नेपालका शिवनाथ यादवले बताए ।

अभियानको लागि २०१७ अन्तिम समय तोकिएको तर चुनावी माहोलले कारण ४ महिना पुनः समय थपिएपछि अभियान पुरा हुने यादवले जानकारी दिए । अहिले नयाँ जनप्रतिनिधिहरू पनि हौसिएका कारण नयाँ जोशका साथ केहि दिनभित्र अभियानका अधुरा काम अघि बढाउने यादवको भनाई छ । पर्सा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले यसमा नेपाल रेडक्रस सोसाइटी, विकास नेपाल, एनजिओसिसी, एवाइसी, डिवासी, ब्रिलेन्ट युवा क्लब, खानेपानी र सरसफाइ डिभिजन कार्यालय लगायत संस्थाले जिम्मेवारी लिएका छन् ।

यता, अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा आपसी शुभकामना आदानप्रदानका विभिन्न कार्यक्रम भइरहेका छन् । नयाँ वर्षको अवसरमा पर्सामा मासु व्यापारमा वृद्घि भएको पाइएको छ । पर्साको माछा–मासु पसलहरूमा नयाँ वर्षसँगै आज ग्रहकहरूको भिडभाड देखिएको छ ।

आपसी सुख समृद्धि सदभाव आदनप्रदान गरी मिठो परिकार खाने गरिन्छ । वीरगञ्जको माईस्थान, विर्ता, बसपार्क, मुर्ली, श्रीपुर, पावरहाउस, छपकैया लगायतका स्थानमा रहेको मासु पसलमा मासु किन्ने गर्ने ग्रहकहरूको घुइँचो लागेको देखिएको छ । सामान्यतया ब्यापार नहुने स्थान या मासुपसलमा पनि आजका दिन बिक्री वितरणमा बढोत्तरी भएको सम्बन्धित व्यापारीले बताए ।

वीरगंजका बजारमा अहिले खसीको मासु प्रतिकेजी ७ सय ५० देखि ८ सय सम्म रहेको छ भने कुखुराको मासु प्रतिकेजी २ सय देखि २ सय ४० रुपैँया रहेको छ । श्रीपुरमा रहेका दिलसाद मियाले दैनिकी मासु पसलमा ग्रहकको भिड खासै नभएको तर हिजोदेखि नयाँ वर्षको उपलक्ष्यमा ह्वात्तै मासुब्यापार बढेको छ ।

– प्रणय साह