(कथा) कान्छी – राजेश नतांश

(कथा) कान्छी – राजेश नतांश


कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा छानवीन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् । जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखाअगाडि यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ । साँच्चै, कान्छी गर्भवती बनेकी थिई । ऊ अविवाहित थिई । कसरी पेट बोक्न सक्छे ? चर्चा चल्नु स्वभाविक नै थियो तर कान्छीको आर्तनाद कसले बुझिदिने ?

“बिचरी ! यो लाटीलाई कुन पापीले यस्तो गरिदियो ?”
“आम्मै ! कुन चै पापी होला त्यो ?”
“लाटी त हरामी नै निस्की नि ! रातभरि लोग्नेमान्छेसँग सुत्दीरैछे । के माया गारि’रा यस्तालाई ?”
“त्यै त ! झिँगे । रातभरि चर्दै हिँड्दी रै’छे ।”
“बिचरीलाई के भनेको त्यस्तो रु अब कसरी बाँच्ली ?”
“कस्तो लाजमर्दो घटना देख्नुपर्छ यी आँखाले ।”
“ह्या ….. यस्ती भालुको हाम्लाई के चासो ?”

प्रश्नहरुका रास प्रतिदिन बढ्दो थियो । उनीहरुलाई केही हेक्का थिएन कि कान्छी कस्तो अवस्थामा गुज्रदै थिई भनेर । कान्छी गाउँलेहरुको कुटिल व्यवहार देखेर आश्चर्यमा पर्दै थिई । बिचरी, उसलाई पनि थाहा थिएन आफूमा कस्तो प्रकारको शारीरिक परिवर्तन भइरहेको छ ।

-०-०-०-

बाटुलो अनुहार, हिस्सी परेका चेहरा र लोभलाग्दो शरीरको बनावटले निक्कै राम्री देखिन्थी कान्छी । तर ऊ पूर्णरुपमा ठगिएकी थिई । ऊ बोल्न र सुन्न सक्तिन थिई । हाम्रो समाजमा यस्तो मान्छेलाई लाटालाटी भन्ने गर्छन् । ऊ हातको इशाराले आफूलाई संचार गराउथी । आफ्ना भावना र समवेदनाहरु हात र मुहारको माध्यमबाट सांकेतिक भाषामा व्यक्त गर्ने गर्दथी । यस कारण जो कोही उसको भाषा बुझ्न असमर्थ हुन्थ्यो । म उनको भाषा सहजै बुझ्न सक्थेँ किनकि यस्ता महिलाहरुसँग बसेर काम गरेको लामो अनुभव थियो ।

-०-०-०-

म श्रीमानसँगै एक सरकारी कार्यालयमा लेखापाल भएर काम गर्दै आइरहेकी थिएँ । हामी सहरजस्तो गाउँमा बसोबास गर्दथ्यौँ । हाम्री एउटी छोरी थिईन्-आस्था । उनी भर्खर ४ वर्ष लागेकी थिइन् । सरकारी कार्यालयको काम यस्तै हो हाम्रो इच्छाअनुसार केही हुँदैन थियो । सबै माथिकै आदेशअनुसार चल्नु पर्दथ्यो । यस्तै परिस्थितिले गर्दा हामी जहाँ सरुवा हुन्छ त्यहीं कोठा खोजेर बस्नु पर्ने बाध्यता थियो ।

यस्तो कुरा त सामान्य नै मान्नुपर्छ । यद्यपी यहाँ म अर्को सभ्यता उल्लेख गर्न गईरहेकी छु । मलाई त्यो गाउँ एकदमै उदेकको लाग्ने गर्दथ्यो । एउटा सानो कुरा चुहावट भयो भने सारा गाउँ नै फैलिसक्थ्यो । जसरी एउटा सेतो कपडामा मसी पोखिएर स्वरुप बिग्रन्छ । त्यो एकदमै गन्धा भएर बाहिर आउने गर्दथ्यो । अधिकांश लोग्नेमान्छेहरु कमाउन खाडीमुलक गएका थिए । गाउँका आइमाईहरु घरायसी काम गरेपश्चात फुर्सदिला हुन्थे र सबैजना एकै ठाउँ भेला भएर गफगाफमा रमाउने गर्दथे । अर्काको कुरा काट्नैमा हर्षित हुन्थे । कुराको सत्यता नापतौल नगरिकन हचुवाको भरमा आफ्नो समर्थन र विरोध जनाइहाल्थे ।

बेलाबेलामा बेतुकको राजनीतिक गफ पनि सुनिन पाइथ्यो । तर्क शक्तिमा बल नभएका उनीहरु अवास्तविक तथ्यमा कराई रहन्थे । यस्तो फजुल संवाद सुनेर मेरो कन्पारो तात्ने गर्दथ्यो । किनकि भान्साबाट ती कुराहरु सहजै कानमा पर्ने गर्दथे । मलाई थामिनसक्नुको हुन्थ्यो । कैयनचोटि श्रीमानलाई “कस्तो ठाउँमा सरुवा भयो । यहाँको समाजमा हाम्रा बालबच्चाहरु पनि बिग्रने भए” भनेर नमीठो पोख्थेँ । वहाँ पनि हैरान भैसक्नुभएको थियो । वहाँका साथीहरु घरमा भेट्न आएका बेलामा गाउँलेका तीनपाथी कोकशास्त्रका आमाचकारी शब्दहरु सुनेर फर्कन्थेँ । वहाँ निराश हुँदै भन्नुहुन्थ्यो, “सानु, यो विकट गाउँमा बस्नु मेरो पनि रहर होइन ? कर्मचारीहरुलाई शान्ति-सुरक्षाको प्रत्याभूति पनि छैन । यहाँबाट बर्हिगमन हुन हाकिमहरुलाई सेवाढोग गरिसकेँ तर पनि क्यै नहोला जस्तो छ । यहाँ शहर बस्दैछ । विस्तारै सबै ठीक होला नि ! धैर्य गर ।”

-०-०-०-

कान्छी हामी बसेको कोठा सम्मुख खण्डहर जस्तो घरमा बस्ने गर्दथी । त्यो घर खाली थियो । घरका मालिकहरु थिएनन् । ऊ त्यही आएर बस्न थालेकी थिई । जनयुद्धताका माओवादीको विध्वंसबाट आजित भएर उनीहरु बसार्इँ सरेका थिए । शान्तिसम्झौता भएपश्चात कब्जा गरिएको घरजग्गा फिर्ता हुने आशले घरमालिक एकचोटि देखा परेको थियो । तर त्यससमय कान्छीलाई आफ्नो घरमा देखेर पार्टीले राखेको हो कि भन्ने भ्रमले कुलेलम ठोकेको थियो ।

कान्छीलाई जीवन निर्वाहका लागि कुनै चिन्ता थिएन । ऊ नबोलेरै पीठो बिकाउन सक्षम थिई । हातको इशाराले, “म तपाईको भाँडा माझिदिन्छु, लुगा धोइदिन्छु । मलाई एकछाक खाना दिनुहोस्” भनेपछि नाइँ नभन्ने कोही पनि थिएनन् । ऊ गाउँभरिका चौरासी व्यञ्जनको स्वाद चाख्न पाई हाल्थी ।

-०-०-०-

एकविहान मलाई अफिस जान असाध्यै विलम्ब भैसकेको थियो । बाथरुममा एकआरी लुगाहरु भिजिरहेका थिए । जुठा भाडावर्तनहरु बाहिर घाममा कट्कटिएको थियो । लेखा प्रतिवेदन बनाउँदै थिएँ । छिट्टै तयार गरेर हाकिमलाई पेश गर्नुपर्ने थियो । उता श्रीमान सखारै उठेर अफिसतर्फ लाग्नुभएको थियो । फुर्सद भएको बेला मलाई भान्सामा सघाउनुहुन्थ्यो तर श्रीमान्ले काम गरेको देख्न मनैले मान्दैनथियो । केही अह्राउँदिन थिएँ वहाँले बुझेरै सहयोग गर्नुहुन्थ्यो । विगत महिनादेखि हाम्रो दैनिक क्रियाकलाप अस्तव्यस्त भएका थिए । मलाई अफिस भ्याउन असाध्यै ढिलो हुन्थ्यो । अझ छोरीलाई स्कूलको लागि तयार पार्दा ११ नै बज्ने गर्दथ्यो । म एक्लैले के-के पो भ्याउनु र ?

म बाहिर निस्किएको बेला उसले “म काम सघाइदिन्छु तपाई मलाई खाना दिनुहोस्” भनेर इशारा गरेकी थिई । मैले त्यो अनुरोधलाई सहर्ष स्वीकार गरेकी थिएँ । मलाई एकप्रकारको देउता मिलेको महसुस भएको थियो ।

ऊ सखारै उठेर मेरो घर आउँथी । म चिया बनाएर श्रीमान र उसलाई पिलाउथेँ । ऊ जुठा भाँडा, मैला परेका तन्ना, सिरक र सिरानीको खोल, हाम्रो मैँला लुगाफाटाहरु धुने काम सजिलै सम्पन्न गर्दथी । मैले खाना बनाई सक्दा ऊ सम्पूर्ण काम सकेर छोरीलाई स्कूल जानका लागि ‘रेडी’ बनाइसकेकी हुन्थी । मेरो चारवटा हात थपिएकोझैँ भएको थियो । उसको उपस्थितिले विहानीको अखबार पढ्नसमेत भ्याउन थालेकी थिएँ ।

कान्छीले हाम्रो मन जितेकी थिई । कान्छीको अनुपस्थितिमा हाम्रो घर शून्य हुन्थ्यो । हाम्रो घरको रुपाङ्कन स्वरुपहीन हुन्थ्यो । श्रीमानको पहलमा मैले उसलाई महिनाको ४ हजार तलब दिन थालेकी थिएँ । बेलामौकामा मेरा पुराना धोतीचोली, म्याक्सी र कुर्ता सुरुवालहरु पनि लगाउन दिने गर्दथेँ । हाम्रो सुक्ष्म सहयोगबाट ऊ हर्षित देखिन्थी ।

उसको दिमागको सराहना गर्नैपर्छ । हामीले मासिक दिएको रकमले उसले आफ्नो घरमा सामानहरु भर्न थाली । भाडावर्तन र कचौराका सेटहरु किनी ल्याउन थाली । क्रमागत रुपमा ऊ हाम्रो घरमा खाना खान पनि आउन छाडी । ऊ आफ्नै घरमा पकाएर मीठोमसिनो खाने गर्दथी । हाम्रा घरमा विशेष परिकार पाक्दाको समय उसलाई आमन्त्रण गर्ने गर्दथ्यौँ । घरमा आफ्नो लागि खाना नबनाउन र आज हामीसँगै खान आग्रह गर्दथ्यौँ ।

यसरी कान्छी जीवन सुखदुःख व्यतीत गर्दै आइरहेकी थिई । म एकदमै खुशी बनेकी थिएँ किनकी उसको मिजासिलो व्यवहार र सहयोगबाट हाम्रा टाउको दुखाइहरु सधैँका लागि मत्थर भएका थिए ।

-०-०-०-

म अचम्ममा पर्न थालेकी थिएँ । कान्छीको क्रियाकलापहरुप्रति शंका उब्जिन थालेको थियो । ऊ दिनानुदिन परिवर्तित हुदैँ गइरहेकी थिई । जसरी मौसम परिवर्तन हुन्छ । ऊ दुई औँलाको बीचमा अर्को औँलो छिराएर देखाउथी र “ही..ही..ही” शब्द उच्चारण गरेर अट्टहास रुपले हाँस्ने गर्दथी । यसको मतलब “तिम्रो श्रीमानसँगको सहवास कस्तो हुन्छ ?” भन्ने थियो । मैले पछि मात्र बुझेकी थिएँ । मलाई एकदमै हाँस उठेको थियो । धेरैपटक इशारामा सम्झाएकी थिएँ, “यस्तो गर्नु फोहारी काम हो । जसलाई पायो त्यसलाई यस्तो देखाउनु हुन्न । मान्छेले फटाही भन्छन् ।” तर ऊ खै कति बुझ्थी ? अझै पनि उसको क्रियाकलापमा परिवर्तन आएन । ममाथि एउटा डर सवार हुन्थ्यो, “कतै उहाँलाई त यस्तो संकेत गरिन ?” म घण्टौंघण्टा सोच्न बाध्य भएकी थिएँ । अखिर यसको मतलव के हो ? आखिर के भन्न चाहिरहेकी छे ऊ ? आफैँलाई लाज लागेर आउँथ्यो, “छ्या कान्छी ! के गरेकी त्यो ?”

-०-०-०-

कान्छीले पेट बोकेको खबरले गाउँमा झ्याली पिटेको थियो । अथवा, पिटाइएको थियो । सर्वत्र कान्छीकै चर्चा सुनिन्थ्यो । गाउँलेहरु मलाई भेट्नैबित्तिकै सोध्ने गर्दथे, “तिम्री कान्छीले त भूँडी बोकिछे नि ? उसको बिहे कहिले भयो ?”

बिस्तारै गाउँलेहरुले मलाई र कान्छीलाई जोडेर अनेकौं लाच्छनाहरु लगाउन थाले । मलाई बाटो हिँड्नै मुस्किल पर्न थाल्यो । कान्छी मेरो घरमा काम गर्ने केटी हो तर यसको मतलब म उसको ठेकेदार त होइन नि ? मान्छेहरुलाई केही चाहिदैन अरुको पतन गराउन । एउटा याम नै पर्खेर बसेका हुने रहेछन् । अनायासै मेरो दिमागले बौद्धिक तर्क गर्न थालेको थियो ।

मैले एनजीओ/आईएनजीओमा कार्यरत साथीहरुलाई खबर गरेँ । उनीहरु महिला तथा बालबालिकाका सवालमा रहेर काम गर्ने गर्दथे । तर पनि केही लागेन । हरेकपटकको सोधपूछमा ऊ चुप रहन्थी । उसलाई त्यस्तो प्रकारको सवालमा इशारा गर्न नै असम्भव थियो ।

-०-०-०-

कान्छीको बारेमा सोचिरहनाले मलाई निद्रा पर्न छोड्यो । श्रीमानले सम्झाउँदै भन्नुहुन्थ्यो, “सानु, कति मन खेलाको ? अब त सुत । क्यै हुन्न के !” कान्छीलाई आफ्नो ठाउँमा राखेर विश्लेषण गर्छु । हरपल पीडाबोध भइरहन्छ ।

“मैले प्रथम पटक बलिष्ठ पुरुषको बाहुपासमा समर्पित हुदाँ भएको सुखद पललाई इन्कार गर्न सकिनँ । मेरा अतृप्त यौनतृष्णा उत्तेजित भएर मूतिवत् भैदिएँ । मेरा असीम रहरहरुलाई उसले चलायमान गरिदियो । किनकि म पनि चलायमान हुन चाहन्थेँ । के मजस्ती लाटी वा शारीरिक अपाङ्गगता भएकाहरुले आफ्ना रहरहरु दबाएरै राख्नुपर्छ भन्ने नै छ र ? म र अरु स्वास्नीमान्छेमा के चाहिँ फरक छ र ? के म यौनको सुखभोग गर्न नपाउने ? तसर्थ मैले पोखिदिए जीवनका रङ्गीन रङ्गहरु । म स्वेच्छाले भँमराको कैदमा परेँ । ऊसँग समर्पित भएँ । चरम आनन्दको यानमा दौडिएँ । कसले के गर्छ ?” ममाथि कान्छी प्रकट हुन्थी । मेरा मनमस्तिष्कले यन्त्रवत् यी वाक्यांशरु अलाप्न थाल्थे । श्रीमानले म त्यसरी बेहोशीमा बर्बराएको सुनेर उठाउनु हुन्थ्यो । म पसिनैपसिनाले भिजेकी हुन्थेँ । त्यसपछि म निदाउँनै सक्दिन थिएँ ।

आखिर जे भएपनि यसरी उसको अशक्तताको फाइदा उठाउने अधिकार कुनै पनि पुरुषलाई छैन । को हो त्यो पुरुष ? जसले यस्तो चक्रब्यूहको रचना गर्‍यो ! को हो त्यो पुरुषले जसले कान्छीलाई कैदमा पार्‍यो ? मेरो हृदय रणभूमिमा परिणत भयो । पटक-पटक निदाउन प्रयास गरेँ । तर अहँ, आँखाहरु जार्गाम बसिरहे । हरपल यौटा अदृश्य नियतिले डसीरह्यो ।

-०-०-०-

बिस्तारै परिस्थिति सामान्य हुदैँ गयो जसरी तुफानपछि शान्त हुन्छ । मान्छेले नियतिलाई कहिले पो रोक्न सक्छ र ? जुन भएर छोड्छ । मैले पनि हल्का राहतको मुहसुस गरिरहेकी थिएँ । गाउँलेका मुखहरु चुप थिए । कतिञ्जेल धाँमी भएर बक्न सक्छन् र ! कान्छी दिन गनेर बसिरहेकी थिई । हामीले फेरि उसलाई सक्दो सहयोग गर्‍यौँ । वहाँले पनि मलाई हौस्याइरहनुभयो ।

मैले उसलाई काम लगाउन छोडेँ । उसलाई “यस्तो बेलामा काम गर्नुहुन्न । आराम गर्नुपर्छ” भनेर सम्झाएकी थिएँ । उसलाई निरन्तर सहयोग गरिरहेँ । घरमा पाकेका पोषिला भोजनहरु उसको घरमा पुर्‍याउने गर्दथेँ । गाउँका केही भद्र महिलाहरुले पनि उनलाई सहयोग गर्न थाले ।

-०-०-०-

एकरात बाहिर एकदमै चिसो थियो । चिसो हावा चलिरहेको कारण झ्याल ढोका लगाएर सुतिरहेकी थिएँ । बाहिर भयावह अन्धकार थियो । बाक्लो गरेर ढुस्से लागिरहेको थियो । मैले एउटा अनौठो चित्कार सुनिरहेकी थिएँ । रात ओसिलो भएकाले आवाज प्रष्टै चिनिन्थ्यो । कान्छी वेदनामिश्रित आवाजले कराइरहेकी थिई ।

उसलाई वेथा लागिरहेकोजस्तो देखिन्थ्यो । म तुरुन्तै उसको कटेरातर्फ हानिएकी थिएँ । उसले लगाएको म्याक्सी रगतपच्छे भएको थियो । मैले तुरुन्त अनुप्मा दिदीलाई फोन गरेँ । उहाँ आएर सबै समस्याको समाधान भयो । लामो समय नर्सिङ सेवा गरेको अनुभव थियो वहाँमा । गाउँका अरु महिलाहरु पनि ग्वारग्वार्ति उसको कटराभित्र पस्न थाले । करिब साढे २ घण्टापछि उसले एउटा छोरालाई जन्म दिई । छोरा एकदमै गहुँगोरो र मङ्गोलियन वर्णको थियो । गाउँमा “लाटीले छोरा पाई” भन्ने खबर कतिखेर फिजिएछ । उसको बच्चा हेर्नेको भीड थामिनसक्नुको भयो । कान्छी भित्तामा अडेस लागेर सेता दाँत देखाउँदै हाँसिरहेकी थिई । उसको अनुहारभरि वात्सल्य प्रेम र ओठभरी सन्तुष्टी पोतिएको थियो ।

-०-०-०-

ऊ कान्छी नै थिई ! म उसलाई कहाँ बिर्सिन सक्छु र ! अहँ सक्दिन ! हिजो बाटोमा उसको स्थिति एकदमै भयावह देखेँ । कपाल जथाभावी फिजारेर चिन्नै नसक्ने मुद्रामा देखिन्थी । उसको कुर्ता ठाउँठाउँमा च्यातिएका थिए ।

कान्छीको छोराभएको हप्तादिनपछि हामी त्यो ठाउँमा नबस्ने निधो गर्‍यौँ । राजनीतिक दललाई भनसुन गरेर सरुवा भइ पूर्वाञ्चलको शहर इटहरी आइपुग्यौँ । त्यसपछिका दिनमा कान्छी कसरी बसी हामीलाई थाहा भएन । नौलो ठाउँ र कामको व्यस्तताले त्यतातिर ध्यानै दिइएन । तर म बारम्बार कान्छीलाई सम्झीरहेकी हुन्थेँ । आजकल घरायसी काम गर्न एउटी दुःख पाकी केटीलाई राखेकी छु । ऊ विहानभरी मलाई काममा सघाउँछे र दिउँसो स्कूल जान्छे ।

अस्ति काम विशेषले कान्छीको गाउँ गएकी थिए । तर त्यहाँको सम्पूर्ण वातावरण परिवर्तित भइसकेछ । ऊ बस्ने घरमा ठूल्ठूला विल्डिङ्गहरु बनिसकेछन् । हामी बसेको त्यो सानो गाउँ यतिखेर शहर बनिसकेछन् । मान्छेहरु पनि शहरिया बनिसकेछन् । मलाई कसैले पनि चिन्न सकेनन् । त्यहाँका रैनाथे बासिन्दाहरु सबै बसाईँ सरिसकेछन् । कान्छीको बारेमा सोधपूछ गरे, उसको वतन पत्ता लगाउन सकिन । कसै-कसैले हामी हिँडेपछि बच्चासहित हिँडेको भन्ने कुरा मात्र थाहा पाएँ ।

ऊ उसलाई हेरिरहन्छु । ऊ चुपचाप बर्बराइरहन्छे । उसको काखमा छोरा थिएन । उसको छोरा खोई रु कसले खोसेर लग्यो रु अब यी प्रश्नका उत्तर कहिल्यै नआउने भए । उसको स्मृतिपटमा भएको ‘म’ पनि मेटिइसकेछु । मैले उसलाई एक पुरिया बिस्कुट र दूध किनेर दिएँ । उसले मेरो बिस्कुट हातबाट बाघले शिकार झम्टिए जसरी खोसेर खानथाली ।

दूध बिस्कुट एकै सासमा सकेपछि ऊ अर्को चटक देखाउ थाली । आफ्नो च्यातिएको कुर्ताबाट गुप्ताङ्ग देखाउँदै हातलाई कावा खुवाउन थाली । उसको गुप्ताङ्गले च्यातिएको लुगाबाट संसार हेर्दै थियो । केही पुरुषहरु उसको नजिक भएर बाटो काट्दै थिए । छड्के आँखाले केही देख्न सकिन्छ कि भनेर गर्वसाथ अन्जापनको ढोङ रच्दै हिँडेको अनुमान लगाउन सकिन्थ्यो । केही आइमाईहरु चाहिँ आफ्ना पुरुषहरुलाई ऊ भएतर्फ जान नदिई बाटो मोडाएर हिँडाउथे । मलाई यस्तो लाजमर्दो घटनाको साक्षी हुनुपर्दा लज्जाबोध भयो । मैले उसलाई आफूसँग भएको बर्को ओढाइदिएँ तर उसले त्यो बर्कोलाई तुरुन्तै हटाई । ऊ त्यो बर्कोले आफ्नो लाज ढाँक्न चाहन्न थिई । ऊ समाजलाई मौन व्यङग्य गर्दै थिई । उसले जीवन र लाजको परिभाषा दिदैँ गरेको प्रतीत हुन्थ्यो । देख्ने सुन्नेले धेरै तरिकाले बुझलान्, तर्क गर्लान् तर मैले यही आँखाले देखेकी छु कान्छीको जीवन र लाज । समाज विकासको शुरुवातदेखि यसरी नै निर्धाहरु पिल्सिरहेका छन् ।