एम.पी.को भनाइप्रति चरणवद्ध आपत्ति

एम.पी.को भनाइप्रति चरणवद्ध आपत्ति


फार्नबोरोह, रशमोर । हिजो रशमोर बोरोहका नेपालीहरुको तर्फबाट एक प्रतिनिधि मण्डलले गत जनवरीको अट्ठाइस तारिख उक्त बोरोहबाट राज्यसभामा प्रतिनिधित्व गर्ने सभासद जेराल्ड हावार्थको आपत्तिजनक भनाइप्रति स्थानीय निकायप्रमुखसमक्ष पहिलो चरणको रुपमा सामुदायिक आपत्ति तथा खेद प्रकट गर्दै त्यसको गम्भीरताको ध्यानाकर्षण गराएका छन् ।
रशमोर नेपलिज कम्युनिटिको तत्वावधानमा आयोजित सो प्रतिनिधिमण्डलमा रशमोर युवा क्लव र रशमोर महिला समूहको सहभागिता रहेको थियो । रशमोर नेपलिज कम्युनिटिका तर्फबाट मेजर डम्बर घले र टेकेन्द्र देवान राईको अगुवाइमा गएको सो प्रतिनिधिमण्डलमा युवा क्लवका तर्फबाट राजेन्द्र गुरुङ र महिला समूहको तर्फबाट छवी पुनको सक्रिय सहभागिता रहेको थियो ।
माथिको कार्यको लागि फार्नबोरोह अनि अल्डरसटमा तीनपटक रशमोर बोरोह नेपलिज कम्युनिटिका अगुवाइमा मिटिङहरु गरिएका थिए । हुन त एम.पी. हावार्थले स्थानीयलगायतका विविध पत्रिकाहरुमा स्पष्टिकरण दिइसकेका छन् तथापि सोही बोरोहका नेपाली कम्युनिटिले स्थानीय सामुदायिक सदभावलाई एम.पी.का भनाइले गर्दा प्रतिकुल असर पर्न सक्ने आशंका गरी सोविरुद्ध आफ्नो असहमति जनाउन जायज सम्झेको बताइएको छ । आपत्ति जनाउने क्रमको प्रथम चरणमा सिभिल सर्भेन्ट चिफ एक्जेक्युटिभलाई ध्यानाकर्षण गराएपछि माथिल्लो चरणमा प्रवेश गर्ने तय भएको छ र सोको विस्तृत जानकारी भोलि बेलुका फार्नबोरोहस्थित सिटिजन एडभाइस व्यूरोको अफिसअगाडि भेला भएर मेजर डम्बर गुरुङद्वारा दिइने कार्यक्रम रहेको छ ।
एम.पी. हावार्थबाट आफ्नो क्षेत्रकै एक समुदाय(नेपाली)लाई पक्षपातपूर्ण समझदारी राखिएको हुँदा त्यस क्षेत्रकै बासीको हैसियतले नेपाली समुदायबाट आपत्ति जनाउनु पर्ने मेरो यूके डट कमको सम्पादकीयमा पनि लेखिएको थियो ।
-याम, मेस