संयुक्त टोलीद्वारा सीमा सर्भेक्षण शुरु

संयुक्त टोलीद्वारा सीमा सर्भेक्षण शुरु


नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले कञ्चनपुरमा सीमा सर्भेक्षण गर्न थालेको छ । कन्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य आजबाट थालेको हो ।

संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए । राससले जनाएअनुसार गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौँ बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेबमोजिम टोलीले सर्भेक्षणको कार्य अगाडि बढाएको हो ।

नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा नेपाली टोलीमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्टसहित सातजना छन् । नेपाली टोलीसँगै भारतबाट पनि सर्भे अफ इन्डियाका अधिकारी आरसी भट्टको नेतृत्वको टोली खटिएको छ ।

टोलीले सीमास्तम्भको हालको अवस्था, मर्मत गर्नुपर्ने र हराएका सीमास्तम्भको विवरण संकलन गर्नेछ । विवरण संकलनपछि सीमास्तम्भको मर्मत सम्भार र हराएका ठाउँमा दुवै देशको सहमतिमा नयाँ सीमा स्तम्भ राखिने छ ।