गाउँमा सूचनाको पहुँच पुऱ्याउने प्रतिबद्धता

गाउँमा सूचनाको पहुँच पुऱ्याउने प्रतिबद्धता


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

विकट गाउँबाट वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने क्रम बढेपछि सूचनाका हकका अभियन्ताहरू विभिन्न बस्तीमा जाने भएका छन् । सूचना अभावकै कारण गाउँका महिला बेचबिखनमा पर्न थालेपछि चेतना अभिवृद्धिका लागि उनीहरूले गाउँ जाने प्रतिबद्धता जनाएका हुन् ।

वैदेशिक रोजगारीसँगै कागजी रूपमै मानव बेचबिखन हुन थालेपछि त्यसको न्यूनीकरणका लागि तालिमप्राप्त सूचनाको हकका अभियन्ताहरू विभिन्न गाउँ जानेछन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले दिएको तीनदिने विपत्पछिको असुरक्षित वैदेशिक रोजगारी र मानव बेचबिखन न्यूनीकरणमा सूचनाको हकको प्रयोगबारे तालिम लिएपछि अभियन्ताहरू गाउँमा अभिमुखीकरणका लागि जाने भएका हुन् ।

म्यागले पहिलो चरण दश तालिम प्राप्त अभियन्ता पठाउन लागेको छ । अभियन्ताले विभिन्न गाउँमा गई त्यहाँका स्थानीयलाई सूचनाको हकको प्रयोगबारे जानकारी दिनेछन् । ‘वैदेशिक रोजगारीमा किन जोखिम बढेको छ भन्नेबारे हामीलाई अहिले थाहा भएको छ,’ तालिमपछि उत्साहित रहेकी आशारानी तामाङले भनिन्, ‘हामीले गाउँमा गएर आफूले सिकेका ज्ञान बाँड्नु जरुरी छ ।’ उनले सूचनाको महत्व धेरै भएकाले गाउँमा यसबारे चेतना जगाउनु आवश्यक भएकोसमेत बताइन् । वैदेशिक रोजगारीबाट फिरेका किशोरीसहित दशनालाई तालिम दिएर अभिमुखीकरणका लागि विभिन्न स्थानमा सूचनाको हकका अभियन्ता बनाई सुरक्षित वैदेशिक रोजगारीका साथै मानव बेचबिखन रोकथाम गर्ने उद्देश्यले जिल्लामा कार्यक्रम सुरुवात गरिएको म्यागले जनाएको छ ।

महिला भएर दुःख पाउनुभन्दा उनीहरूमा सूचनाको पहुँच राम्रो नभएकै कारण दुःख भोग्ने गरेको देखिएको राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिना बताउँछिन् । ‘अभियन्ताहरूले समुदायस्तरमा पुगेर वैदेशिक रोजगारीबारे सूचना प्रवाह गरी चेलीलाई सुरक्षित तवरले विदेश जान सक्ने बनाउनेछन्,’ तिम्सिना भन्छिन्, ‘सूचनाका अभियन्तालाई वैदेशिक रोजगारीमा जानुपूर्व के–कस्ता सूचनाका विधिहरू प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी दिइएको छ ।’ उनका अनुसार अभियन्ताहरूले सिकेका ज्ञान गाउँ तहसम्म पुग्दा निकै प्रभावकारी हुनेछ । अभियन्ताहरूलाई तालिममा वैदेशिक रोजगारी मात्रै नभई सूचना प्रयोग गर्ने विधि, समय र निकायबारे समेत प्रयोगात्मक रूपमा जानकारी दिइएको बताइन् ।

समुदायस्तरमा विदेशमा हुने जोखिमबारे युवती तथा महिलालाई जानकारी नहुने हुँदा यो कार्यक्रमको शुभारम्भ गरिएको म्यागले जनाएको छ । जिल्लामा सीपको क्षमता विकास नगरी विदेश जाने महिला प्रसस्त छन् । जसकारण खाडी मुलुकसहित विभिन्न देशमा पुगेर जोखिममा पर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार कुलमध्ये ४० प्रतिशतभन्दा बढी महिला हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।