नेता आफैंलेले हटाए चुनावी प्रचार सामग्री

नेता आफैंलेले हटाए चुनावी प्रचार सामग्री


प्रतिनिधि र प्रदेश सभाको चुनावमा निर्वाचित सांसदहरूको आफ्नै सक्रियतामा चुनावी प्रचार सामग्री हटाएका छन् । सोमबार चौतारा बजार सरसफाइ कार्यक्रम गरेर उनीहरूले प्रचार सामग्री हटाएका हुन् ।

जिल्ला सदरमुकाम चौताराको बसपार्कदेखि टुँडीखेलसम्मको प्रचार सामग्री नेता, कार्यकर्ता तथा सामाजिक अभियन्ताहरूले निकालेर बजारलाई व्यवस्थित बनाउन सहयोग गरेका छन् । निर्वाचित सांसदहरूले आफ्ना प्रतिद्वन्द्वीका प्रचार सामग्रीसमेत हटाए ।

चौतारा बजारमा रहेका घर तथा सार्वजनिक स्थलमा झन्डा, पर्चाहरू रहेर फोहोर देखिएको थियो । ‘यो हामी आफ्नै काम हो भनेर सबै मिलेर प्रचार सामग्री हटाउन आएका हौँ,’ प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा १ का सांसद युवराज दुलालले भने, ‘जुन दल वा उम्मेदवारद्वारा सामग्री टाँसिएको हो सोही पक्षले प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरे पनि हामीले सबै दल र स्वतन्त्र उम्मेदवारले गरेको प्रचार हटाएका छौँ ।’ उनले चौतारा बजारको सकेर अन्य स्थानमा गरेको चुनावी प्रचार सामग्री निकाल्ने अभियानमा लाग्ने बताए ।

अन्यत्र नहटाउँदा कुरूप देखियो बजार
चौतारा बजारमा मात्रै प्रचार सामग्री हटाइएकाले विभिन्न राजनीतिक दलले प्रयोग गरेका प्रचार सामग्री अन्य स्थानमा नहटाउँदा बजारक्षेत्रमा फोहोर देखिएको छ । निर्वाचनको क्रममा बजारक्षेत्र रङ्गीबिरङ्गी हुने गरी टाँसेका प्रचार सामग्री दलहरूले अझै नहटाएका हुन् ।

बाह्रबिसे, खाडीचौर, सुकुटे, बलेफी, जलवीरे बजारसम्म टाँसिएका प्रचार सामग्री नहटाइँदा कुरूप बन्दै गएको हो । व्यापारिक नगर मेलम्चीमा समेत थोत्रा पर्चा र दलका ध्वजाले शोभा घटाउँदै लगेको स्थानीय बताउँछन् । झन्डा, चुनाव चिह्नअङ्कित सामग्री छरपस्ट अवस्थामा अझै झुन्डिरहेका छन् ।
जुन दल वा उम्मेदवारद्वरा सामग्री टाँसिएको हो सोही पक्षले प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । तर, दल र उम्मेदवारले टाँसेका चुनावी सामग्री हटाउन कुनै चासो दिएका छैनन् । ‘चुनावको बेला कष्ट झेलेर मिहिनेतसाथ सामग्री झुन्ड्याएका थिए, हटाउनेतिर कसैको ध्यान गएको छैन,’ बाह्रबिसे बजारका व्यवसायी दिल्ली तिमिल्सनाले भने, ‘हावाहुरी र शीतले सबै सामग्री भिजेर फोहोर बन्दै गएका छन् ।’ तिमल्सिनाले दललाई निर्वाचन आयोगले जिम्मेवार बनाउनुपर्ने सुनाए ।

चुनाव जितेका दल अझै विजयोत्सव मनाउन व्यस्त देखिन्छन् भने पराजित दल त्यसको कारण खोज्दै चुनावी समीक्षामा जुटिरहेका छन् । मुख्य निर्वाचन अधिकृत दीपक खनालले सामग्री राख्नेवाला जो छ सोही उम्मेदवार या दलले सामग्री हटाउनुपर्ने व्यवस्था आयोगले गरेको बताए । ‘दलले प्रचार सामग्री नहटाए आचारसंहिता उल्लङ्घनमा कारबाही गर्ने निर्वाचन आयोगको व्यवस्था छ,’ उनले भने, ‘आचारसंहिताअनुसार दल या उम्मेदवार चल्नैपर्दछ ।’ जिल्लामा आचारसंहिता अनुगमन संहिता भए पनि समितिको अझै यसतर्फ ध्यान जान सकेको छैन ।

– किशोर बुढाथोकी