काङ्ग्रेसकोे ‘महापराजय’को जिम्मेवारी कसले लिने ?

काङ्ग्रेसकोे ‘महापराजय’को जिम्मेवारी कसले लिने ?


– डा. तिलक रावल

मार्ग १० र २१ गते प्रान्तीय र सङघीय संसद्का लागि भएका चुनाव समग्रमा सफलतापूर्वक सम्पन्न भए । ठूलो सङ्ख्यामा मतदान भयो । यो सम्पन्न हुन सकेकोमा धन्यवाद भन्नैपर्छ, हामीले नेपाल सरकार, खासगरी प्रमुख देउवाजीलाई र निर्वाचन आयोगलाई । आयोगका प्रमुख यादवजीले पनि उचित समयमा बोली र कार्यमा लचकता प्रदर्शन गर्दै सक्षमता प्रदर्शन गरेकै हो । हामी सबै खुसी हुनैपर्छ कि डर–त्रासको माझमा धेरै चर्चामा रहेका यी निर्वाचन सम्पन्न भए । देउवालगायत यस कार्यमा केही जश प्रचण्डले पनि पाउनुपर्छ, जसले सत्ता हस्तान्तरण गर्नुअघि सफलतापूर्वक स्थानीय तहको निर्वाचनको थालनी गरेका थिए ।

काङ्ग्रेसको नेतृत्वमा सम्पन्न निर्वाचनमा उक्त पार्टीले नै ठूलो हार व्यहोऱ्यो । केही मित्रहरूले यो हारलाई ‘महापराजय’को संज्ञा पनि दिएका छन् । सङ्घीय सदन र सबै प्रान्तमा नेकाले अति न्यून सङ्ख्यामा सिट प्राप्त गरेको छ र स्थिति यस्तो छ कि प्रत्यक्ष निर्वाचनकै मात्र कुरा गर्ने हो भने नेका प्रान्त र केन्द्रीय सदनमा समेत एउटा सशक्त प्रतिपक्षीको रूपमा पनि नरहन सक्ने स्थिति छ, निर्वाचनअघिको सबभन्दा ठूलो यस पार्टीले कतै सरकार बनाउने त कुरा नै छाडौँ । यो सबभन्दा ठूलो पार्टी केन्द्रीय सदनको १६५ स्थानमध्ये जम्मा २३ स्थानमा विजयी भएर तेस्रो स्थानमा खस्केको छ, किनकि ६०-४० को भागबन्डासहित लडेका एमाले र माओवादी केन्द्रले ८० र ३६ स्थानमा विजय हासिल गरेका छन् । उम्मेदवारी दिएकामध्ये करिब ८१ प्रतिशत सिट एमालेले जितेको छ भने माओवादी केन्द्रले ४८ प्रतिशत र काङ्ग्रेसले मात्र करिब १४ प्रतिशत ।

यहाँ उल्लेख गर्नुपर्छ कि नेका र वामपन्थी दुई पार्टीले अन्य पार्टीका उम्मेदवारका लागि पनि केही स्थान छाडेका छन्, तर नेकाले समर्थन गरेका प्रमुख व्यक्तित्वहरू जस्तै कमल थापा, पशुपतिशमशेरलगायतले हारेका छन् भने वामपन्थी गठबन्धनले सहयोग गरेका लिङ्देन, हृदेयश त्रिपाठीहरू विजयी भएका छन् । कुनै हालतमा पनि नहार्ने डा. बाबुराम भट्टराईलाई नेकाले गोरखामा समर्थन गरेर राम्रो ग¥यो भन्नैपर्छ धेरै नराम्रा निर्णयहरूका माझमा । धन्य हो समानुपातिक प्रणालीअन्तर्गत जनताले रूख चिह्नमा लगाएको छापले नेकाको इज्जत जोगाउँदै छ । एमालेले ३१,१७,३०० मतसहित ४१ सिट प्राप्त गर्दै छ, नेकाले ३१,२८,३८९ मतसहित ४० सिट प्राप्त गर्नेछ भने माओवादीले १३,०३,७२९ मतका आधारमा १७ सिट पाउनेछ । यस हिसाबले नेका सङ्घीय सदनमा दोस्रो प्रमुख पार्टी रहने स्थिति सिर्जना भएको छ । यसै पनि वामपन्थी दुई पार्टीको एकीकरणपछि नेकालाई दोस्रो पार्टी बन्ने मौका मिल्ने निश्चित नै थियो ।

यो ठूलो हार हो र पनि यो स्वीकार्न कसैले गाह्रो मान्नुपर्दैन, किनकि विगत र अहिलेका तथ्य–तथ्याङ्कहरूले देखाएकै छन् । हारको लागि नेकाभित्र कुनै एक व्यक्ति वा गुटलाई दोष लगाउन उचित नहोला भन्दाभन्दै यो हारलाई अस्वाभाविक र अनपेक्षित भन्न भने कदापि मिल्दैन । यदाकदा लेख्ने र बोल्ने हामीजस्ता नेकाका शुभचिन्तकहरूले त्रास व्यक्त गरेको नै हो । एमाले एक्लै पनि धेरै अघिदेखि राष्ट्रिय मुद्दामा खरो रूपमा प्रस्तुत भइराखेको थियो जुन प्रस्टता जनताले मन पराउन थाले । राष्ट्रियता, नागरिकता, भाषा, धर्मका सवालमा नेका मौन नै रह्यो भने एमालेका सम्बन्धित विचार प्रस्ट रूपमा प्रवाह हुन रोकिएनन् । काङ्ग्रेस तल पर्दै गएको तथ्य कसैबाट लुकेन । नेकालाई जनताले प्रस्ट दृष्टिकोण नभएको अवसरवादी पार्टीको रूपमा चिन्न थाले । वाम गठबन्धनको निर्माणपछि त नेका निरीह नै देखिन थाल्यो । प्रजातान्त्रिक गठबन्धनको निर्माणको कुरा कुरैमा रह्यो । दुई टुक्रा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकालाई न सहयोग गर्न सक्यो न सहकार्यबाट आफूले फाइदा लिनै सक्यो । मधेसकेन्द्रित पार्टी अलग नै रहे । नतिजा काङ्ग्रेसको महान् हार ।

यो हारका लागि धेरै पार्टी शुभचिन्तक नेकाका सभापति तथा प्रधानमन्त्री देउवाजीलाई पूर्णतया दोषी देख्छन्, तर यो जायज होइन भन्छु म । हामी सबलाई थाहा छ काङ्ग्रेसका धेरै माथिल्ला तहका नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा मात्र खुम्चिए भने देउवाले भने यो उमेरमा पनि सेनाको हेलिकोप्टर प्रयोग गरी अथक प्रयत्न नगरेको होइन । तर, विडम्बना यो भयो कि वामपन्थीहरू दिगो सरकार र आर्थिक समृद्घिका कुरा गर्थे भने देउवाजी बारम्बार वामपन्थीहरूले अधिनायकवाद स्थापना गर्ने र जनताले रुन पनि नपाउने कुरा गर्न थाल्नुभयो, जुन साधारण मानिसले पनि नपत्याएको मात्र होइन हास्यास्पद नै ठाने । यो स्तरहीन दोषारोपण गर्ने क्रम रोकिनुपर्थ्यो । सभापतिज्यूका भाषण करिबकरिब हाँस्न र मनोरञ्जनका लागि मात्र सुनिन थाले । जे–जसो भयो त्यसको सम्पूर्ण अपजश देउवा एक्लैलाई भने दिन नमिल्ला, किनकि देउवालाई विद्यार्थीकालदेखि नै वाक्पटुता, गम्भीर विचार र दूरदर्शिता भएको व्यक्तिका रूपमा कसैले चिनेका होइनन् र यो ठम्याइ हालसम्म धेरैमा कायमै छ । उहाँलाई साधारण परिवारको, ठाडो स्वभावको सङ्घर्षरत, निष्कपटी व्यक्तिका रूपमा हामी मन पराउँथ्यौँ ।

देउवाले यत्तिका दशकमा आफ्नो बौद्धिक क्षमता, वाकपटुता अभिवृद्धि किन गर्नुभएन, त्यो उहाँले नै जान्नुहोस्, तर यी कमजोरीका बाबजुत देउवा एक्लै किन होमिनुपऱ्यो युद्धमा, प्रखरवक्ता, कालोलाई तर्कसाथ सेतो हो भन्ने विश्वास दिलाउन सक्ने ओली र प्रचण्डसँग किन गम्भीर सीमिततासहितका देउवा मात्र भिडे ? किन वामपन्थीका आर्थिक समृद्धिका नारालाई माथ गर्ने गरी नयाँ नौला–नौला आर्थिक विकासका कुरा हाम्रा नेताहरूले राख्ने स्थिति सिर्जना भएन ? वरिष्ठ नेता पौडेलदेखि डा. महत, महेश आचार्यसम्म किन आफ्नै क्षेत्रमा खुम्चिनुपऱ्यो ? विश्वप्रकाश, गुरु घिमिरे, गगन थापा, चन्द्र भण्डारी, धनराजजस्ता व्यक्तिहरू किन व्यापक रूपमा परिचालित भएनन् ? कसले रोक्यो यी र अरू धेरै काङ्ग्रेसका शुभचिन्तकलाई परिचालित हुनबाट ? गहन सोचको विषय छ यो । यस्तो पनि लाग्छ काङ्ग्रेसले निर्वाचनअघि नै हार स्वीकार गरिसकेको थियो । कैयौँ निर्वाचन क्षेत्रमा काङ्ग्रेसका नेताहरू निर्वाचनमा भिड्न नचाहेको कुरासमेत सुनियो । टिकटका लागि कैयौँ स्थानमा कडा प्रतिस्पर्धा नै भएन । लाग्छ धेरैलाई प्राप्त हुने दुःखद परिणामको आभाष मिलिसकेको थियो । निर्वाचन परिणामपश्चात् अब काङ्ग्रेसले गम्भीर समीक्षा गरी कार्ययोजनासहित अघि बढ्नुपर्ने बेला आएको छ । काङ्ग्रेसका नेताहरू खासगरी सुदूरपश्चिममा जन्मेका सभापति देउवाले निम्न तथ्यमा पनि ध्यान दिनुहोला भन्ने आशा गरिएको छ ।

२०४८ को आमनिर्वाचन त्यसबेला काङ्ग्रेस सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सम्पन्न भयो । देशलाई नयाँ संविधान दिई, राजसंस्थालाई समेत यथोचित स्थानमा सम्मान दिई किशुनजीले साह्रै कठिन समयमा निर्वाचन सम्पन्न गराउनुभो, सम्बन्धित सबैको सहयोगका साथ । आफू हार्नुभो, तर काङ्ग्रेस बहुमतका साथ विजय भयो र सरकार बन्यो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा । अहिले २०७४ सालमा निर्वाचन हुँदा काङ्ग्रेसले ठूलो हार व्यहोरेको छ, ठूलाठूला नेता हारेका छन्, काङ्ग्रेस तेस्रो स्थानमा थन्किएको छ । धन्य हो काङ्ग्रेस पार्टी हारे पनि सभापति देउवाजी सुदूरपश्चिमको डडेलधुराबाट विजयी हुनुभो । हामी याद गरौँ बहुदलको पुनर्स्थापनापछि भएको २०४८ सालको आमनिर्वाचनमा सुदूरपश्चिममा १९ निर्वाचन क्षेत्र थिए र १८ स्थानमा नेका विजय भएको थियो ।

स्वतन्त्र उम्मेदवार अकबरबहादुर सिंह मात्र काङ्ग्रेसबाहिरबाट निर्वाचत हुनुभयो भने आज २०७४ मा निर्वाचन हुँदा यो क्षेत्रका १६ स्थानमध्ये मात्र १ स्थानमा देउवा जिते र १५ स्थान काङ्ग्रेसले गुमायो । २०४८ को एक मात्र हार २०७४ को एक मात्र जितमा किन परिणत भयो यहाँ जुन ठाउँले देउवालाई २०४८ को निर्वाचनमार्फत राष्ट्रिय स्तरमा स्थापित गऱ्यो ? यस्तो कठिन बेलामा पनि देउवाको शीर्ष व्यक्तित्वले गर्दा मात्र एक्लै भए पनि निर्वाचित हुन सक्षम भए भन्ने तर्क पनि नाजायज नहोला । तर, यो तर्कले देउवाको चित्त बुझ्ला ? यो रातारात विकसित घटनाक्रमले दिएको आश्चर्यलाग्दो परिणाम भने कदापि होइन, यो त काङ्ग्रेसले क्रमिक रूपमा आफ्नोे पकड गुमाउँदै गएको तीतो तथ्यको उजागर मात्र हो । यी २६ वर्ष (२०४८/७४) मा के–कस्ता परिवर्तन आए देउवा र सुदूरपश्चिमका जनतामा, किन र कसरी पार्टीको यो हाल भो देशभरि, देउवाजीले गम्भीर समीक्षा गर्ने बेला भएन र ?

देउवालगायत हामी धेरै निराश भने भइनहालौँ किनकि प्रत्यक्षतर्फको सर्मनाक हारका बाबजुद समानुपातिकतर्फको मतले काङ्ग्रेसको लाज बचाएको छ । जनताले रूखलाई मत हाले आफ्ना श्रद्धेय नेताहरू बीपी कोइराला, गणेशमान सिंह र किशुनजीलाई सम्झेर । यो भोट काङ्ग्रेसका शुभचिन्तकहरूले आफ्ना महान् नेताहरूलाई अर्पण गरेको श्रद्धाञ्जली हो । तर, प्रश्न छ– श्रद्धेय नेताहरूले गरेको लगानीको ब्याज खाएर मात्र हालका नेता कति दिन बाँच्ने ? अवश्य पनि एक–अर्कालाई हिलो नछ्यापी आत्मालोचना गर्ने समय आएको छ ।

पार्टीभित्र केही तरुना जुझारु नेताहरूले उमेर बढी भएका नेताहरूलाई शीर्ष तहमा क्रियाशील नरहन आग्रह गरिराखेका छन् । स्वाभाविक छ यो आग्रह ७२/७४ वर्षका सभापति देउवाजीततर्फ बढी तेर्सिएको छ । काङ्ग्रेसलाई पुनः देशको ठूलो पार्टी बनाउन चाहने यी ऊर्जावान् नेताहरूको माग नाजायज होइन, तर यसको कार्यान्वयन कठिन हुन सक्छ । पार्टी पराजयका सम्पूर्ण जिम्मेवारी आफूले लिँदै पार्टीलाई शीर्ष स्थानमा पुऱ्याउने प्रण सभापति आफैँले गर्न पनि सक्छन् किनकि विगतमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले यसो नगरेका होइनन् । कोइराला भाग्यमानी थिए कि गिरेको साख काङ्ग्रेसले पुनः प्राप्त गऱ्यो । किशुनजीजस्ता सन्तनेताका नामको सदुपयोग र सन्तनेताका सहयोगको साथमा त्यो सम्भव भयो ।

प्रश्न छ– के देउवालाई परिस्थितिले साथ देला वा उहासँग समयको सुविधा छ ? एकैपटक सबै बुढा नेतालाई निष्क्रिय बनाउन गगन थापा र मित्रहरू कति सफल होलान् भन्न सकिन्न, किनकि अझै धेरैको प्रधानमन्त्री, सभापति बन्ने आशा कायम नै छ र वृद्ध हुँदै गएका नेताहरूमा पद, पैसा र परिवारप्रतिको आशक्ति बढ्दै जाने कुरा घामजत्तिकै छर्लङ्ग भइसकेको छ । गगनहरूले यो पनि नबिर्सिऊन् कि पत्नीको प्रभावमा शासन चलाउँदै आएका ९३ वर्षीय जिम्बाबेका रोबर्ट मुगावेलाई गलहत्याउन सेनाको हस्तक्षेपपछि मात्र उनको आफ्नैै पार्टी सफल भएको थियो ।