विदेशीले गरे दान, कुँवरको चल्यो रजाइँ

विदेशीले गरे दान, कुँवरको चल्यो रजाइँ


राजनीतिमा पैदा भएको भ्रष्टीकरणले मुलुकका हेरक क्षेत्रलाई विकृत तुल्याइदिएको छ । पहुँच हुनेले गलत क्रियाकलाप गर्दा पनि राजनीतिक संरक्षण प्राप्त गर्ने अराजक संस्कृति हुर्किएको कारण आज जुनसुकै निकायमा पनि भ्रष्टाचार, व्यभिचार, विकृति र विसङ्गति मौलाउन पुगेको छ । कर्मचारीतन्त्रदेखि सार्वजनिक सङ्घ–संस्था र निजी क्षेत्रसमेत भ्रष्ट क्रियाकलापमा लिप्त रहेको भेटिनु नेपालको वर्तमान सन्दर्भमा सामान्यजस्तै भएको छ ।

यसरी मौलाउँदो विकृतिबीच समाजसेवाको खोल ओढेर सेवाको नाममा ‘मेवा’ खान पल्केका पात्रको एक समाजघाती क्रियाकलापको खुलासा भएको छ । नेपालमा रहेका असहाय, अनाथ बालबालिका र वृद्धजनको दयनीय तथा कारुणिक स्थिति देखेर तिनको स्याहार–सम्भार एवम् सुविधाका निम्ति भन्दै विदेशका सत्जन–समाजसेवीले जुटाइदिएको सहयोगको यहाँ कथित समाजसेवी भनाउँदाले दुरुपयोग गरी व्यक्तिगत कमाइ खाने भाँडो बनाएको सन्दर्भको ढिलै भए पनि खुलासा भएको हो ।

प्राप्त जानकारीअनुसार होल्यान्ड नागरिक ड्रिक भ्यान उइलिङ्गार्डले काठमाडौंको सीतापाइला हाइटस्थित आदेश्वर महादेव मन्दिरनजिकै ९ रोपनी ११ आना जग्गामा चारवटा सुविधासम्पन्न भवन निर्माण गरिदिएर असहाय बालबालिका र परिवारबाट अपहेलित भएका वृद्धवृद्धा (ज्येष्ठ नागरिक)लाई खानासहित आवासको सुविधा उपलब्ध गराएका थिए । उइलिङ्गार्डले उक्त सेवाकर्म सञ्चालन तथा रेखदेखका लागि जनउद्धार सेवा समिति नामको संस्थालाई सम्पूर्ण भौतिक संरचना जिम्मा लगाएका थिए ।

तर, पैसा भनेपछि महादेवको पनि तीननेत्र खुल्छ भन्ने उक्तिलाई महादेवकै मन्दिरनजिक रहेका ती आलिशान भवनमा जनउद्दार सेवा समितिका अध्यक्ष राजकुमार कुँवरले प्रारम्भकालका दिनदेखि ¥याल काढ्न थालेका थिए । कुँवरनिकट स्रोतका अनुसार दाता विदेशी व्यक्तिले असहायहरूलाई सुविधा पुगोस् भन्ने उद्देश्यले आफ्नो मुलुकका नागरिकहरूबाट चन्दा सङ्कलन गरी अनेक प्रयासबाट निर्माण गरेको संस्थाको भवनलाई कुँवरले आफूखुसी भाडामा लगाउने गरेको जानकारी पाएपछि ती विदेशी दाता दुःखी बन्न पुगे । उनले कुँवरको मनपरीविरुद्ध कारबाही गरी संस्थालाई कानुनसम्मत ढङ्गले सञ्चालन गरिपाउनका लागि जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि निवेदन पनि दिएका थिए । तर, उक्त निवेदनमाथि कुनै सुनुवाइ नभएकोमा पनि ड्रिक म्यानले चित्त दुखाएका छन् । एक व्यक्तिले यसरी सामाजिक संस्थाको सम्पत्ति दुरुपयोग गरेको विषयलाई पनि नेपालको प्रशासनले किन आँखा चिम्लिएको होला भन्ने उनको दुःखमिश्रित जिज्ञासा छ ।

प्रशासनमा निवेदन दर्ता गर्न गएका बेला ती विदेशी नागरिक तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीसँग आफूले आफ्ना देशका विभिन्न सङ्घसंस्था र नागरिकसँग अनुनय गरेर सङ्कलन गरी नेपालमा असहायका लागि भनी निर्माण गरिदिएको करोडौँको भवनलाई राजकुमार कुँवरले कमाइखाने भाँडो बनाएको दुःखेसो सविस्तार बयान गरेका थिए । उनले आफू विदेशी भएका कारण व्यक्तिगत रूपले कुँवरसँग रस्साकस्सी गर्न नसकेको हुँदा कानुनको सहारा लिन आएको पनि बताएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त संस्थाका अध्यक्षले उद्देश्यबमोजिम काम गर्ने कसम खाए पनि उनले विश्वासघात गरेको बताउँदा प्रजिअले सुनुवाइ हुने आश्वासन दिएको ड्रिक भ्याननिकट सूत्र बताउँछ । तर, अहिलेसम्म कुँवरमाथि कुनै कारबाही भएको छैन । हाल पनि उक्त भवनमा सोह्रखुट्टेमा रहेको ह्वाइटफिल्ड आवासीय विद्यालयको विद्यार्थीका लागि आवासगृह सञ्चालनमा छ । मासिक एक लाख ३० हजार रुपैयाँमा भाडामा लगाइएको उक्त भवनबाट हुने आम्दानी राजकुमार कुँवरलगायतका व्यक्तिले हिनामिना गर्ने गरेको अभियोग ती विदेशी दाताले प्रमुख जिल्ला अधिकारीसमक्ष स्पष्टै व्यक्त गरेका थिए ।

ह्वाइट गुम्बा जाने उकालोको मुख्य सडकमै रहेको उक्त भवनका विषयमा स्थानीयवासीसँग जानकारी लिँदा शुरुमा केही वृद्ध र केटाकेटी त्यहाँ देखिने गरेका र वृद्धाश्रम भनेर चिनाइने गरिएको भए पनि हाल त्यहाँ निजी क्षेत्रको विद्यालयका विद्यार्थीलाई बसबाट ल्याएर राख्ने गरेको देखिएको बताए । एउटा विदेशी नागरिकको प्रयासले स्थानीय असहाय, दुःखी वृद्धवृद्धाका वैशाखी बन्दै गर्दा यसरी संस्थाको सम्पत्तिमा निजी विद्यालयको आवासगृह सञ्चालन भई केही व्यक्तिविशेषले व्यक्तिगत लाभ उठाएको जानकारी पाउँदासमेत गृहप्रशासन मौन रहनुका पछाडि के रहस्य लुकेको छ, स्थानीयवासीले नै औँला उठाउन थालेका छन् ।

गुम्बाको आडमा सरकारी जमिन कब्जा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नापी कार्यालयले सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण नगर्न दिएको आदेशविपरीत केही व्यक्तिले जग्गा कब्जा गरी बसेको पाइएको छ । प्राप्त जानकारीअनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिकाअन्तर्गत वडा नं. १३ मा अवस्थित एघार सय पच्चीस वर्गमिटर क्षेत्रफलको सरकारी जग्गा लोब्साङ बज्राचार्य, तेन्जिङ लामा र कार्साङनुर्बु शेर्पासमेत चारजनाले बलजफ्ती कम्पाउन्ड लगाई भोगचलन गरेका हुन् ।
यसरी सरकारी जग्गा कब्जा गर्न उनीहरूले सेल्कर छोयोदे घदेन लेकसेटलिङ नामक गुम्बालाई ढाल बनाएका छन् । यसरी सरकारी जग्गा कब्जा गरेको पाइएपछि अख्तियारले जेठ २१ गते (२०७४/२/२१) नापी कार्यालयलाई एक पत्र लेखी सो जग्गाको संरक्षण गर्न भनेको थियो । अख्तियारको पत्र प्राप्त भएपछि नापी कार्यालयले अनुसन्धान तथा फिल्ड अध्ययन गर्दा सार्वजनिक कुलो र बाटोसहित पूरै ११२५.५८ वर्गमिटर जग्गा अतिक्रमण भएको ठहर नापी कार्यालयद्वारा गठित कार्यदलले गरेको थियो । यसरी सरकारी निकायले सरकारी ठहर गरिसकेको जमिन गुम्बाको आडमा केही व्यक्तिले कब्जा गर्ने हिम्मत कसरी गर्न सकेका हुन् खोजीको विषय बनेको छ ।