कतिपल्ट जन्मिने हो नयाँ नेपाल ?

कतिपल्ट जन्मिने हो नयाँ नेपाल ?


-सुमल कुमार गुरुङ
यतिबेला देशको स्थितिलाई देख्दा मलाई मात्र होइन, देशका बहुसंख्यक जनतालाई एक प्रकारको अनिश्चितताको शिकार भएको अनुभूति भइरहेको छ । किन नेपालले विकासको बाटो पाइरहेको छैन ? हिजो यी नै अहिलेका नेताहरुले देशको इतिहासलाई गाली गरे, देशको गरीबीको कारण शासकवर्गलाई दोष दिएर ठूला-ठूला भाषण गरे, अन्दोलन गरे, यो केही हदसम्म सत्य हुनसक्छ, तर, अहिले जुन हालतको सिर्जना भएको छ र देश विकासको लागि एउटा सिन्को भाँचेका छैन, यसको जिम्मेवार को हुनसक्छ ? जनताबीच फुट गर्ने आफ्नो राजनैतिक स्वार्थको लागि, देशमा ठूलो रक्तपात गरायो, हजारौं शहीद भए र नयाँ गणतान्त्रिक नेपालको उदय भएको घोषणा भयो । समय बितेर जान केहीबेर लाग्दैन । जुन स्थितिबाट देश गुज्रिरहेको छ , यही चाल रहने होभने वर्षौंसम्म झगडा र राजनीतिक अमेल रहिरहनेछ र यो देशले विकासको लागि निकास कहिल्यै पाउने छैन । पृथ्वी नारायाण शाहले एकीकरण गरेको नेपाल तीन पल्टसम्म नयाँ नेपाल बनेर जन्मियो । २००७ सालमा, २०४६ सालमा र २०६३ सालमा नयाँ नेपाल बन्दै जन्मिएको नेताहरुले घोषणा गरे । जनता मक्ख भएर अब देश विकास हुने सपना देखेर रमाउन थाल्छन् । तर, यो देशलाई दिशा दिने नेपाल आमाको साँचो सपुत नेतृत्व गर्नलाई नजन्मने हो त ? यसरी देशको भाँडभैलो देख्दा म छिमेकी राष्ट्रहरुलाई देखेर ईर्ष्या गर्छु । भारत र चीनको वैभव र समृद्धि देख्दा आफूलाई खिन्न लाग्छ । म अहिले विदेशमा छु, संसारको लोकतन्त्रको जननी बेलायतमा । यहाँका समाचारहरुमा यहाँको सिस्टमले अझ पनि ४ जनामा एकजना बच्चा गरीबीको मुनि जीवन निर्वाह गरीरहेका छन् भनेर प्रकाश पार्छन । तर, ती गरीबीका रेखामुनि जीवन बिताइरहेका बच्चाहरु कहिल्यै भोका हुँदैनन् । भरपेट खाना र लाउन सरकारले दिएको छ । यसलाई तुलना गर्दा साँझ बिहान खाना नपाएर भोकभोकै मरेका मेरो देशका बच्चाहरुको हालतले मलाई कहिल्येकहीं सोच्न बाध्य गर्छन् । हामी विभिन्न परिवेश र अवस्थाले गर्दा विवश छौं र विवशतालाई आफ्नो भाग्य ठान्छौं । देशको संस्कार बलियो बनाउन सबै पक्षबाट सहयोग चाहिन्छ र त्यो स्ंस्कार बलियो बनाउने संयोजनको अवश्यकता आज चाहिएको छ । विभिन्न पार्टीहरुको शक्ति संघर्षले गर्दा देशको स्थिति बिग्रिरहेको छ । देशको रजश्वको दुरुपयोग र स्वार्थको खेती फल्दोफुल्दो रहेको छ । अहिले तीनदलको कुरा सर्वसाधरणको मुखमा झुण्डिएको छ । एकपटक यी तीन दलका नेताहरुले एकआपसमा दोषारोपण नगरी सहमतिमा किन आउन सक्दैनन् ? यिनको नेतृत्वलाई देख्दा अचम्भ लाग्छ । नशा नशामा यिनका स्वार्थ र डरको रगत बगिरहेको छ भन्ने मलाई लाग्छ । किन बुझ्दैनन यिनले ? अहिले सत्ता संघर्षको समय होइन, अहिले त सबै मिलेर संविधान बनाउने हो । हाम्रो परम्परामा आफु खुस्किने डर सधैं हावी भएको देखिन्छ । सधै अन्दोलनको धम्की दिँदै बन्दको आहृवान गरेर नेपालले गिनिज बुक अफ वाल्ड रेकर्ड कायम गरिसकेको छ । यसले कसलाई कति फायदा भएको छ ? मार खेप्नु पर्ने निम्नस्तरको जीवन गुजारा गर्ने बहुसंख्यक नेपाली नै हुन् ।

यही महिनाको १५ अगस्तको दिनमा भारतले स्वतन्त्रता दिवस मनायो । स्वतन्त्र भएको ६३ वर्षभित्र देश धेरै अघि बढिसकेको त्यसदिन नई दिल्लीमा भएको समारोहलाई हेर्दा प्रतीत हुन्थ्यो । समारोहको झाँकीले भारतको शान र गौरव बढाइरहेको थियो, तर, लाजमर्दो नेपालमा एकजना प्रधानमन्त्री चुन्न नसकेर जगहसाइ भइरहँदा पनि यिनका विवेकले काम गरेका छैनन् । राजनीतिको च्याँखे थाप्दै जनतालाई दाउबनाउने नेताहरुको सहमतिको प्रतीक्षामा अहिले जनता आतुर भएर पर्खिरहेका छन् । राणशासनको पञ्जाबाट देश मुक्त भएको पनि ६ दशक बितिसक्यो, तर, नेपालको विकासले गति लिन सकेको छैन । यसरी देशको लागि त्याग र महान बलिदान दिने नेतृत्वको खाँचो नेपाललाई सधैं खट्केको छ । धेरै नेपालआमाका सपुतहरु देशको गौरव बढाउन जन्मे र देशको सेवा गर्दागर्दै शहीद भए । राजनीतिक फाँट पनि नजन्मेका होइनन्, तर ती सबै राजनीतिक पार्टीको दायराभित्र सीमित रहन पुगे । ती सबै केही काम लाग्ने नेपालका नेताहरु राजनीतिक स्वार्थको साँचोमा कैद भए । अर्को खट्केको कुरा आ-आफ्ना पार्टीले आफ्नो नेतालाई मात्र महान भन्ने चलनको विकास हुँदै गयो नेपालमा । यसै पार्टी स्वार्थको कारणले गर्दा यो देश उभो लागेको छैन ।

भारतका राष्टपिता मोहनदास करमचन्द गान्धी बेलायतबाट ब्यारिस्टर पास गरेर आएपछि संक्षिप्त समयका लागि भारतमा कानूनी पेशाको अभ्यास गरेका थिए । सन् १८९३ सालमा उनी पेशागत कामको सिलसिलामा अफि्रका गएका थिए । उनले द.अफि्रकामा आफ्नो जीवनको ऊर्जाशील २० वर्षे सेवाकालमा अदभूत नेतृत्व कौशल देखाएका थिए । सत्य, अहिंसा र अधिकार प्राप्त गर्ने एउटा नविनतम शैली विश्वलाई देखाएर सत्याग्रह आन्दोलनको प्रतिपादन गरेका थिए । उनी आफ्नो जीवनकालभरि मानव अधिकारको लागि लडे र अन्तमा वलिदान हुनु पर्यो । बृद्धा अवस्थामा उनले स्वदेशमा उत्पादित घरबुना साल र एउटा धोती लगाएर आफ्नो सत्यता र सादा जीवनको पर्याय बनाएका थिए । सम्पूर्ण जीवन भारतवासीलाई दासत्वबाट मुक्ति दिलाउने अभियानमा बिताए । यस पछाडि उनको जीवनमा कहिल्यै नबिर्सने एउटा घट्ना प्रेरणदायी बनेर उदय भएको थियो । एकदिन उनी प्रिटोरियाको लागि प्रथम श्रेणीको टिकट काटेर रेलयात्र गरिरहेका थिए । उनलाई बाटोमा एकजना गोराले प्रथम श्रेणीको डब्बामा चढेको देखेर प्रथम श्रेणीको डब्बाबाट निकालेर तेश्रो श्रेणीको डब्बामा एकजना अधिकारीको मदद्बाट जानलाई बाध्य बनाएको थियो । त्यसबेला प्रथम श्रेणीको डब्बामा केवल गोराहरुबाहेक अरु जातीलाई चढन प्रतिवन्धित थियो । यस घटनाले उनलाई ठूलो प्रभाव पार्यो र उनले त्यतिबेला नै जातीय विभेद, मानव अधिकार हनन र कमजोरलाई शोषन तथा दमनकेा विरुद्ध लड्ने दृढसंकल्प गरे । उनको एसियाली अनुहार र शरीरको रंग भएको कारणले जुन व्यवहार त्यस गोराले उनीप्रति गर्यो त्यसले उनलाई सत्यता र मानव अधिकारको लागि वकालत गर्ने महान आत्मा भएको शिखर पुरुषको रुपमा उभ्याइदियो । महान आत्मा भएकै कारण उनलाई महात्मा गान्धी भनेर चिनिए र मान्न थाले ।

भारतको राजनीति, समाज, धर्म, संस्कार र प्रत्येक मान्छेका लागि सत्यताको प्रयोग गरेर सत्यमाथि विजयी प्राप्त गरे र उनको प्रभावको उज्यालो सारा संसारमा फैलियो । प्रत्येक राष्ट्रको निर्माणमा कुनै न कुनै युग पुरुष जन्मेको हुन्छ । भारतको इतिहासमा सम्राट अशोक र अकबरलाई ऐतिहासिक स्तम्भको रुपमा लिन सकिन्छ । तर, आधुनिक भारतको निर्माणमा महात्मा गान्धी भारतको लागि युगपुरुष भएर जन्मेका थिए । त्यसकारण उनलाई राष्ट्रपिता अथवा बापु भनेर श्रद्धाले भारतीयहरुले सम्बोधन गर्छन् । उनमा जातीय भेदभाव किंचित लेस मात्र मनमा थिएन । उनको संकल्प केवल भारतलाई स्वतन्त्रता र भारतवासीलाई एउटा नयाँ भारत दिने कुरामा दृढ संकल्पित थिए । उनले फिरोज खान र इन्दिरा प्रियदर्शीनी नेहरुको मायाप्रेमको बारेमा थाहा थियो । जवाहरलाल नेहरु यो विवाहको पक्षमा थिएनन्, तर, उनले फिरोज खान र इन्दिराको विवाह गरिदिएका थिए । यस विवाहले देशलाई उल्टो दिशा नदिओस् भन्ने विचारले अथवा सम्प्रदायिकताको सदभाव बनिरहोस भन्ने विचारले आफ्नो थर गान्धी दिनको लागि फिरोज खानलाई धर्मपुत्र बनाएर गान्धी उनको नामको पछाडि झुण्ड्याएर देशलाई एउटा जातीय सौहार्द्धर्ताको नमुना आजभन्दा ७० वर्ष पहिल्ये नै दिएका थिए । हामी जति नै फलाक्छौं मुखले अब नयाँ नेपालमा कुनै जातीय शोषण र दमन हुने छैन, गरीब र शोषितका लागि कानुन बनाएर देशवासीलाई मुलधारमा लानेछौ, तर, कानुन बनाउने समुहको मनभित्रबाट कहिल्यै जातीय मैलो सफा हुन नसकेको एउटा दुर्भाग्य हामीले ब्योहोर्नु परेको छ । नेपाललाई दिशा दिने एउटा महात्मा गान्धी जस्ता युगपुरुषको खाँचो छ । संस्कारले एउटा यस्तो परम्पराको सृजना भएको छ कि हामी एकआपसमा एकअर्कालाई विश्वास गर्दैनौ । छिमेकी राष्ट्र चीनमा डाक्टर सन यात सेनको उदयले चीनको चिंग वंशको साम्राज्य उखालेर फ्याँकियो र गणतंत्रिक चीनको स्थापना भयो । उनलाई पनि चीनियाहरुले आधुनिक चीनको राष्ट्रपिताको रुपमा मान्दछन् । चीनलाई पछि माओत्से तुंगको नेतृत्वमा विकास बनाउँदै डेङ जियापिङको पालासम्म विकासको दिशामा तीव्रता दिएको पाइन्छ । अहिले विश्वमा चीन आर्थिक हिसाबमा सबल भएर विश्व शक्तिको रुपमा उभिएको छ ।

नेपाल र।ष्ट्र निर्माणमा हामीले पनि युगपुरुषको रुपमा पृथ्व निारायण शाहलाई पायौं । यदि उनले एकीकरण नगरेको भए आज मेचीदेखि महाकालीसम्मको अस्तित्व बोकेको नेपाल रहने थिएन । नेपालको इतिहासमा निर्माताको रुपमा उनको नाम स्वर्ण अक्षरमा अंकित भइरहने छ । यो ध्रुब सत्य कसैले नकार्न सक्दैन । फेरि पनि हामी उनलाई राष्ट्रपिताको रुपमा मान्न हिचकिचाउँछौं । सबैको आ-आफ्नै तर्क हुन्छ । कति नेपालीले उनको शालिक तोडेर अरुको शालिक त्यस ठाउ“मा स्थापित गरिसकेका छ्न् । शालिक राख्नु परे पनि अर्को ठाउँमा स्थापित गर्दा हुनेथियो । कुनै शहीदलाई सम्मान गर्दा मैले यस लेखमार्फत त्यसलाई विरोध जनाएको होइन, ननै म २१औं शताब्दिमा पनि राजाले शासन गर्नुपर्छ भन्ने पक्षमा छु । पृथ्वी नारायण शाहको शालिकलाई जनताले रिस पोखाउनु भनेको पंगु-हिँजडा नेताहरुको कमजोरी हो । पृथ्वी नारायण शाहको देनलाई हामीले भुल्न हुँदैन, ननै इतिहासमा उनको स्थान कसैले ओगट्न सक्छ ।

पृथ्वी नारायण शाह पछिका शासकहरुको कमजोरी र अदूरदर्शिताको कारण देश भाँडखालोमा जाकिँदै गयो । कसले के गरे इतिहासमा प्रष्ट छ । दरबारभित्र बसेर जनताले खुनपसिना बगाएर कमाएको तीरो, कर र विभिन्न राष्ट्रिय सम्पदालाई आफ्नो भोगविलासको साधन मानेर मोजमस्ति गर्ने कमजोर शासकहरुको रवैयाले गर्दा देश १०४ वर्षसम्म जहानिया शासनको हातमा जान्छ । यहींबाट नेपालको दुर्भाग्यको शुरु हुन्छ । अहिलेसम्म त्यो प्रवृति हावी भएको पाइन्छ । धेरै पर किन जानुपर्‍यो । गिरिजाको पुत्री-मोह र पारिवारिक स्वार्थको कारणले गर्दा कांग्रेस कमजोर भएको हो । २०१७ सालमा नेपाली कांग्रसले अत्याधिक बहुमत ल्याएको सरकारलाई राजा महेन्द्रले सजिलै कु गरेको पछाडि पनि पारिवारिक वैमनश्यताको कारण रहेको पाइन्छ । २००७ सालपछि मिलिजुली सरकार बनाउने क्रममा विश्वेसर र मातृकाको मिलाप राम्रो थिएन । कांग्रेसको त्यतिबेलादेखि नै पार्टीभित्र विभेद र फुटको शुरुआत भइसकेको थियो । वामपञ्थी शक्तिहरु त्यतिबेला बलियो थिएन । देशलाई परिवर्तन ल्याउने क्रममा वामपंथी शक्तिले ठूलो योगदान पुयाएको छ, तर, यी दलहरुमा पनि विभाजन र फुटको रोग लागिसकेको छ । र भन्नुपर्दा नेपालका वामपंथीहरु नामको मात्र वामपन्थी हुन थालेका छन् । साम्यवादको प्रवर्तक मार्क्स, लेनिन र माओलाई नेपाली कम्युनिष्टहरुले गिज्याएको झै लाग्छ । नेपाल देशमा कम्युनिज्म विचारको जन्म बुद्धकालमा नै जन्मेको थियो । भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि २५०० वर्ष पहिले नै साम्यवाद जन्मिसकेको थियो । बुद्धमंत्र संघम शरणम् गच्छामीको मुल अभिसार नै हामी साम्य भएर जिउनुपर्छ र हामी सबै समान हौं भनेर बुद्ध भगवानले चेतना दिएका थिए ।

राणाहरुको शासनकालमा देशबाट धेरै नेपालीहरु पलायन भए । एकतन्त्र शासनमा पिल्सिनुभन्दा बेलायतीको सेवा गरे दुनो सोजिने एकहोरो विचारले लाहुरे संस्कारको शुरुआत हुन्छ । जंगेको सन्तानले कुइरेहरुसित मित्रता गाँसेको बदलामा बख्सिस्, रोयल्टी र गाँठ पाउन थाले । सीधासादा पहाडीयाहरु विभिन्न युद्धहरुमा नहाकमा एकमुटि्ठ गाँसको लागि तातोगोली अर्काको लागि लड्दै छाती थाप्दै हिँडे । यो वेदना उसैलाई थाहा छ, जसको सिन्दुर पुछिएको थियो र काख रित्तो भएको थियो । विगत २०० वर्ष देखिको यो सिलसिला जारी छ । अहिले त यस्तो वातावरण सिर्जना भएको छ कि लाखौं पैसा खर्च गरेर देशबाट पेटको लागि गतिलो गन्तव्य भएको देशमा अर्थात बेलायत, अमेरिका, जापान र कोरिया जस्ता देशहरुमा पलायन भएर जान चहान्छन् । त्यसको लागि आफूसँग पैसा हुनु पर्‍यो र असल एजेण्टमार्फत एजेण्टलाई पोस्याएर मात्र विदेश जान पाउने वातावरण बन्दछ । अहिलेका युवाहरुको सपना नै विदेश गएर पैसा कमाउने रहेको देखिन्छ । देश छाडेर जान मानिसहरु ललायित हुन्छन् । यी सबै बाध्यताको पछाडि एउटै कारण हुन आउछ त्यो हो कमजोर नेतृत्व र देशको कमजोर व्यवास्थापन । नेपाल नयाँ बन्दै जति पल्ट जन्मेपनि स्याहर सुसारको कमजोरीले रोगी बन्दै जानेछिन् । संसारभरि छरेर बसेका नेपालीहरु सबैले आफूलाई नेपाली हौ भनेर गौरव गर्ने बाटोको सिर्जना हामीले नै गर्नु पर्छ । हाम्रो पालाको ईतिहास हामीले नै लेख्ने हो । पछिको सन्ततिलाई बाटो खुला गर्ने शुरुआत हामीले नै गर्नुपर्छ । हामी अलोचनामा मात्र नभुलौ, प्रत्येक क्षेत्रबाट सहयोग गरौ, केही न केही गरौ । अब यी नेताहरुलाई प्रत्येक क्षेत्रबाट दवाब दिएर देश बनाउनेतर्फ लागौ । जय देश नेपाल ! जय नेपाली जनता ! हिक्मत नहारौं ।