वेवारिसे आशनको एक बोल-पत्र

वेवारिसे आशनको एक बोल-पत्र


– दाजु गुरुङ,
धेरै भयो यो आशन वेवारिसे भएको
धेरै भयो यो आशन अवशान पुगे जस्तो भएको
असनको साँढेले बाछी ओगटेको जस्तो
आशन ओगटी बस्ने
पर्वते कान्छो खसेदेखि
आशन बेवारिसे बनेको छ
आशन बोल-कबोलको लागि सडकमा आएको छ
आशन बिक्रीमा छ ।
सिङ्हासन भन्न मिल्दैन होला
मृगासन भन्न पनि मिल्दैन होला
किनकि हरियो बन मानचित्रमा मात्र सीमित छ
त्यसैले त हात थापेर ल्याएको
चर्मासन हो,
किनकि चर्मासन पवित्र हुन्छ
देवानुदेव महादेवलाई पनि
चर्मासन मन पर्छ रे
चर्मासनमा बसेपछि त्रि-नेत्र खुल्छ रे
यस्तो अदभूत जादुमय चर्मासन खाली छ
जो यसमा बस्छ, उसको
सात पुस्तासम्म हेर्ने नेत्र खुल्छ रे
विश्वास नलागे चन्द-सूर्जेलाइ सोधे हुन्छ
त्यसै पर्वते कान्छोले मरिहत्ते गरेको हैन ।
मरिहत्ते गर्दा पनि नपाइने जादुमय आशन
आज बेवारिसे छ
बिक्रीमा छ
बोल-पत्र भरे हुन्छ ।
आशन रातो छ
आशन तातो छ
देखेकै हो –
बनबासबाट शहर पसेका भिल्लहरु
रातो देखेर तातो खान खोज्दा
हाम फालेर भागेर थिए
अहिले पाए हुन्थ्यो भनेर ताउ लाउँदैछन्
तिरहुते जेठोले के गर्नु ?
उभिँदा आशनले छेलिने डर !
के गर्नु ? गोहीको आँशुले कति दिन थेग्छ र ?
बोकेको कुकुरले के शिकार गर्छ र ?
यसैले त आशन बेवारिसे छ
आशन बिक्रीमा छ ।
मनचिन्ते आशन खाली छ
आशन जाली छ
आशन पाउने मन भए
हात पनि चाहिन्छ,
साथ पनि चाहिन्छ
बोल-पत्र हाल्ने भए
कबोलनामा पढेकै हौला
भन हात कस्तो छ ?
साथ कस्तो छ ?
“दख्खिनको कालो हात कि उत्तरको रातो
पश्चिमको सेतो ”।
बस्नलाई साथ चाहिन्छ
उठ्नलाई हात चाहिन्छ
कालो फलाम हुन्छ
फलाम बलियो छ
रातो राम्रो देखिन्छ
के गर्ने ? “क्षितिज पारिको आकाशको फल”।।
त्यसैले त काला हातहरु नागले मणि ढाकेझैं
आशनलाई बिर्ता ठान्छ ।
बोल पत्रमा हेर्‍यो होला,
एक आशन अनेकौं हात
एक बास अनेकौं साथ,
अझ घोत्लिएर नियाली हेर
एक मतिए हात
दुर्इ मतिए साथ
तीन , चार ‘, दश….पन्ध्र ‘ पच्चीस मतिए बात
पाचौंपटकसम्म हराउने लात
मान्छेलाई उल्लु बनाउने
उल्लुलाई मान्छे बनाउने
आशनको गुनिलो बात
कति भनौं
यस्तो गुनिलो आशन खाली छ
पर्वते कान्छो खसेदेखि बेवारिसे छ ।
[email protected]