राजधानी छनोटको विवादले प्रधानमन्त्रीको प्रदेशमा सल्कियो आगो

राजधानी छनोटको विवादले प्रधानमन्त्रीको प्रदेशमा सल्कियो आगो


प्रदेश राजधानीको विवाद साम्य हुनुको साटो बढेर जाने देखिएको छ । सरकारले सातै प्रदेशको अस्थायी राजधानी तोकेपछि सम्बन्धित प्रदेशका आमजनताबीच समर्थन र विरोधमा ध्रुवीकरण भएको छ । सरकारले अहिले तोकेको राजधानी कामचलाउका लागि मात्रै रहेको, पछि परिवर्तन गर्न सकिने प्रष्टिकरण दिए पनि अहिले तोकिएकै स्थानलाई स्थायी राजधानी तुल्याइने भ्रम आमनागरिकमा परेको बुझिन्छ ।

यसै क्रममा प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोक्ने प्रस्ताव गरेपछि दिपायलमा विरोध र प्रदर्शन सुरु भएको छ । दिपायल पहिले क्षेत्रीय सदरमुकाम रहेको थियो ।

दिपायलवासीले वुधबार विहानै यातायात बन्द गरी सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । बन्दको अवज्ञा गर्नेको सवारी साधनमा उनीहरुले आगो समेत झोसेका छन् । प्रदेश नम्बर ७ प्रधानमन्त्री देउवाको गृह प्रदेश समेत हो । यसरी आफ्नो प्रदेशमा भएको राजधानी-विवादले उनलाई तनाव दिएको बुझिएको छ ।

ज्ञात रहेस्, सरकारले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढीमा अस्थायी राजधानी तोकेको छ ।