राजनीतिक सहमतिको प्रयास असफल

राजनीतिक सहमतिको प्रयास असफल


लन्डन । राष्ट्रपति डा. रामबरण यादवले सुरु गरेको राजनीतिक सहमतिको प्रयास असफल भएको छ । आज विहान आफ्नै कार्यालय शितल निबासमा मुख्य तीन दलका नेताहरुलाई बोलाई राष्ट्रपतिले गरेको सहमतिको आग्रह दलहरुको अडानले निर्थरक भएको हो ।

दुई घण्टा लामो छलफलमा राष्ट्रपतिले राजनीतिक दलहरुको असहमतिले देश दुर्घटना तर्फ जाने भन्दै नेताहरुलाई गम्भीर भई राष्ट्रिय हितमा लाग्न आग्रह गर्नुभएको थियो । उहाँले नयाँ सरकार गठनको अन्यौलता, शान्ति प्रक्रिया तथा संविधान लेखनमा भइरहेको ढिलाइ, सरकार गठन नहुँदा उत्पन्न हुने वित्तिय संकट, शान्ति सुरक्षामा परेको असरलगायत विषयमा दलहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

छलफलपछि सन्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रचण्ड र कोइरालाबीच गतिरोध निम्तनुमा एक अर्का दोषी भएको भन्दै आरोप प्रत्यारोप भएको जानकारी दिनुभयो । उहाँले माओवादी र काङ्ग्रेस बहुमतीय खेलमा लागेकोले गतिरोध अन्त्य हुन नसकेको दावी गर्दै राष्ट्रिय सहमतिबाटै निकास निकाल्नुको विकल्प नभएको बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्ड र काङ्ग्रेस कार्यबाहक सभापति कोइराला भने सन्चारकर्मीलाई कुनै प्रतिकृया नदिई बाहिरिनु भएको थियो ।

-मेस काठमान्डौ ।