अवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा नष्ट


अवैध रुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले बरामद गरेको मदिरा विदुरमा बुधबार नष्ट गरिएको छ ।

सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीमा एक हजार १५० लि घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

ककनी प्रहरी चौकीले नियन्त्रणमा लिएको ४०० लि मदिरा पनि नष्ट गरिने प्रहरीले जनाएको छ । सदरमुकाम क्षेत्रमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पाइएपछि प्रहरीले मदिरा उत्पादन गरिने ग्रामीण क्षेत्रमा कडाइ गर्दै मदिरा बरामद गर्न थालेको हो ।

अवैध र अस्वस्थ रुपमा उत्पादन भएका रक्सीले मानव स्वास्थ्यलाई असर गर्ने भएकाले प्रहरीले सदरमुकाममा रक्सी नियन्त्रण गर्ने अभियानअन्तर्गत निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।