दिनमा दुर्इ प्याकेट सिगरेट पिउने बालक

दिनमा दुर्इ प्याकेट सिगरेट पिउने बालक


लण्डन । गत मई महिनामा एकजना बालकले दिनमा दुर्इ प्याकेट सिगरेट पिउने कुरा विश्वका मुख्य समाचारहरुमा प्रकाशित भएको थियो । इण्डोनेसियाको सुमात्रा प्रान्तको दक्षिणमा पर्ने एउटा माछा मार्ने माझीहरुको गाउँ मुसिबान्युसिनमा जन्मेका अर्दी रिजाल नाम गरेको बालकले दुर्इ प्याकेट सिगरेट एकै दिनमा पिएको कुराले मिडिया जगतमार्फत समाचारहरुमा शीर्षास्थान प्राप्त गरेको थियो । आफ्नो उमेरको सामान्य तौलभन्दा बढी भएको त्यस बालकले सिगरेट पिउन नपाए ह्रिंस्रक भएर जे पायो त्यही फाली उद्धण्ड मचाउथे । त्यसपछि सरकारको ध्यान त्यस विषयमा केन्द्रित भएको थियो । इण्डोनेसियाको नेशनल कमिसन फर चाइल्ड प्रोटेक्सनका अधिकारीहरुले अहिले त्यस बालकले सिगरेट छाडिसकेको कुरा मिडियालाई बताएका छन् ।
गत जुलाई महिनामा उनलाई उपचारको लागि राजधानी जाकार्तामा लगिएको थियो । चाइल्ड प्रोटेक्सनको सचिव अरिस्त मर्डेका सिराइतले जनाएअनुसार त्यस बालकलाई पूरा एक महिनाको मनोचिकित्सा पद्धतिबाट उपचार गराइएको थियो । उसको ध्यान खेलकुदतर्फ आकर्षित गरेर आफ्नो उमेर बराबरका साथीहरुसँग खेलकुदमा व्यस्त बनाइएको थियो । झण्डै दुर्इ महिनाको उपचारमा उनले सिगरेट छोडिसकेका थिए । अर्दीको समाचारले इण्डोनेसिया जस्तो विकाशशील राष्ट्रहरुमा तम्बाकु उद्योगपतिहरुले व्यावसाय फस्टाउनको लागि आइमाई र बच्चाहरुलाई तम्बाकु सेवन गर्न अति प्रभावित गरेको तथ्य प्रकाशमा आएको छ । यस्ता राष्ट्रहरुमा सिगरेट जन्य वस्तुहरुबारे कमजोर कानून तथा बहुसंख्यक जनतालाई समेत सिगरेट जस्तो खतरनाक स्वास्थ्यलाई हानी पुर्‍याउने वस्तुबारे उस्तो वास्ता नभएको अनुसन्धानले देखाएको छ । इण्डोनेसियाको सेन्ट्रल स्टेस्टिकल एजेन्सीको तथ्यांकअनुसार इण्डोनेसियाको प्रत्येक चार बच्चामध्ये एकजना (३ वर्षदेखि १५ वर्षभित्रका बच्चाहरु) ले सिगरेट सेवन गरेको पुष्टि भएको छ । ती बच्चाहरुमध्ये ३ दशमलव २ प्रतिशत बच्चाहरु सिगरेटको भोगी भइसकेका तथ्यांकले बताएको छ । श्रोत – नेट, सुमल, मेस ।