प्राधिकरणमा जागिर लगाइदिने बहानामा ठगी

प्राधिकरणमा जागिर लगाइदिने बहानामा ठगी


विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै रकम ठगी गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कारवाही अघि बढाएको छ ।

नेपाल विद्युत प्राधिकरणबाट विभिन्न तहमा कर्मचारीहरु माग भएकोमा सिनियर मिटर रिडर पदमा आवेदन दिएका मध्य केही आवेदकसँग सप्तरी बलान विहुल घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले पीडितहरुसँग सम्पर्क गरी ठगी गरेका थिए । दासले आफु श्रम मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रभावमा पारेर आफूले विद्युत प्राधिकरणका जिएमलगायतका ठुला कर्मचारी चिनेको छु, खर्च गरेमा जागिर लगाई दिन सक्छु भनी आफ्नो बैंक खातामार्फत एक लाख ठगी गरी दुवैजना सम्पर्कविहीन भएका थिए ।

यस महाशाखाबाट खटिएको टोलीले उक्त ठगीजन्य कार्यमा संलग्न रहेका अशोककुमार मुखियालाई खोजतलासको क्रममा सिनामंगलबाट पक्राउ गरिएको र जयप्रकाश दासलाई गत १८ गते पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारवाहीको लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

दास र मुखियाले अन्य ४ जना व्यक्तिलाई समेत ठगी गरेको उजुरी प्राप्त भएको पनि प्रहरीले जानकारी दिएको छ । बताइएअनुसार मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।