(गीत) ‘हाँस्न जान्नै पर्छ’ – प्रकाश के.सी.

(गीत) ‘हाँस्न जान्नै पर्छ’ – प्रकाश के.सी.


कसले भन्छ -रमाउनलाई हाँस्न जान्नै पर्छ ।
-आँखाभित्र वहहरु साँच्न जान्नै पर्छ ।
मनको बाँधले धानिएको गहलाई रोक्न,
कसले भन्छ, एक्लै-एक्लै बाँच्न जान्नै पर्छ ।

जति ओँठ हाँसे पनि, नदेखिने खुशी बोकी
भ्रमको चौघेरामा मन नाच्न वाध्य हुन्छ ।
छलदायी पीडाहरु आँखाभरि कति कति ! !
तर पनि रमाएरै मन हाँस्न वाध्य हुन्छ ।
कसले भन्छ -पश्चातापमा जल्ने आँखा रुन्छ,
छातीभरि पीर बोकी बोल्ने ओँठ रुन्छ,
वेदनाको भुमरीमा जेलिएको मुटु
कसले भन्छ -एक्लै एक्लै खोल्ने आँत रुन्छ ।

नरोकिने वाढी हुन्छ, भोगाइविहिन जीवन
खडेरीको पिर हुन्छ, रहरविहिन जीवन,
साँझ ढल्दा दुख्ने आभास, निःसार हुन्छ
विहानीमा शुष्क हुन्छ, आशविहिन जीवन
कसले भन्छ -आँखा खोल्दा, उज्यालो नै देखिन्छ,
-विश्वास गर्न सके संसार नै भेटिन्छ
अन्धकारको गहिराइमा विलाइसक्यो सत्व
कसले भन्छ -समयको सत्य रुप फेरिन्छ ।