‘चुनाव हार्नु काङ्ग्रेसका लगि अवसर’

‘चुनाव हार्नु काङ्ग्रेसका लगि अवसर’


– रेजिना गौतम

नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको समय कांग्रेसका लागि सशक्त बन्ने र समयानुकुल नवीन कांग्रेस बनाउने अवसर भएको धारणा अघिसारेका छन् ।

प्रजातान्त्रिक योद्धा तुर्सा हेमरमको शालिक अनावरण गर्न आज झापा आइपुगेका थापाले चुनाव हारेर कांग्रेसलाई घाटा नभएको दाबी गर्दै उल्टै अवसर आइमिलेको बताएका हुन् ।

उनले तुर्सा हेमरम प्रजातान्त्रिक पृष्ठभूमिमा मात्र सीमित हुने योद्धा नभएको बताउँदै हेमरम जस्ता सादगी नेताकै कारण मुलुकमा प्रजातान्त्रिक बाटोबाट अघि बढ्ने मार्ग प्रशस्त भएको उल्लेख गरे ।

‘तुर्साको लगानी राजनीतिक समुदायलाई शुद्ध र पवित्र बनाउन खर्च भएको बताउँदै थापाले हेमरमलाई प्रजातन्त्रका लागि लड्ने नेताका रुपमा लिनुपर्ने धारणा राखे । पद र प्रतिष्ठाको विषय जोडियो भने तुर्साको योगदानको अनादर हुने थापाको भनाई थियो ।

नेपालमा अलौकिक रुपमा रहेको जातीय विविधतालाई जोगाएर राख्न नसके प्रजातन्त्र आएको अर्थ नहुने थापाको टिप्पणी थियो । कार्यक्रममा बोल्दै उनले गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट हरेक समुदायको प्रतिनिधित्वको ग्यारेन्टी भयो कि भएन समीक्षा गर्नुपर्ने पनि बताए ।

०६५ सालमा स्थापना भएको तुर्सा हेमरम स्मृति प्रतिष्ठानले ०६८ सालबाट विधिवत रुपमा काम सुरु गरेको हो । प्रतिष्ठान भवन, सन्थाल बालबालिकाका लागि अध्ययन गर्ने विद्यालय र तुर्सा हेमरम संग्रहालय निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए । लोपोन्मुख सन्थाल समुदायका व्यक्तिलाई पार्टीले अवसर नदिएकोमा उनले असन्तुष्टि समेत प्रकट गरे ।

कार्यक्रममा हेमरमको सहपाठी डिल्लीप्रसाद सिटौला, सुरेस बास्के, बडाराम हेमरम, निवर्तमान सांसद् सुधीरकुमार शिवाकोटीलगायतले बोलेका थिए । प्रतिष्ठान निर्माणका लागि मात्रिका सिटौला तथा उमा सिटौलाले जग्गा उपलब्ध गराएका हुन् ।