यसकारण बढ्दो छ निजामती सेवाप्रति आकर्षण

यसकारण बढ्दो छ निजामती सेवाप्रति आकर्षण


पछिल्लो समयमा निजामती सेवामा आकर्षण बढ्दै गएको सम्बन्धित निकायको भनाई छ । निजामतीका आकर्षण बढ्दै गएपछि लोकसेवा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पनि वर्षेनी बढेको छ ।

दश वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पाँच गुणा बढेको पाइएको छ । आयोगका उपसचिव देवीप्रसाद सुवेदीका अनुसार आर्थिक वर्ष ०६४÷/५ देखि आव ०७३/७४ सम्म आयोगमा दर्खास्त दिने आवेदनको सङ्ख्या पाँच गुणा बढेको छ । यो सङ्ख्या निजामतीतर्फको स्वास्थ्यसहितको हो ।

सुवेदीका अनुसार ०६४/६५ मा कूल एक लाख ७५ हजार १२१ जनाले आवेदन दिएकामा गत आव ०७३/७४ मा आठ लाख ४४ हजार २९७ सङ्ख्या पुगको छ । आव ०७२/७३ भन्दा गत आवमा दुई लाख ४९ हजार २६६ जनाले बढीले दर्खास्त आवेदन दिएका थिए । आव ०७२÷७३ मा पाँच लाख ९५ हजार ३१ जनाले दर्खास्त आवेदन दिएका छन् ।

निजामती सेवाको लोकप्रियता देखेर अहिले दर्खास्त दिनेको सङ्ख्या बढेको उनको भनाई छ । आव ०६५/६६ मा ८६ हजार १८६, आव ०६६/६७ मा तीन लाख ४६३, आव ०६७/६८ मा दुई लाख ५१ हजार ६५१ र आव ०६८/६९ मा दुई लाख ७१ हजार ५७७ जनाले दर्खास्त आवेदन दिएको पाइएको छ ।
यसैगरी आव ०६९/७० मा तीन लाख ६८ हजार ८०५, आव ०७०/७१ मा पाँच लाख ६० हजार ९१५ र आव ०७१/७२ मा पाँच लाख ९९ हजार ६६८ दर्खास्त आवेदन दिएका थिए ।

पूर्वप्रशासक विमल कोइरालाले अन्य ठाउँमा रोजगारको अवसर नहुँदा बाध्य भएर निजामती सेवामा प्रवेश गर्नको सङ्ख्या वर्षेनी वृद्धि भएको तर्क गरे । ‘रोजगारीको सम्भावना कतै छैन । अनि आफ्नो कोही नभएकाले जाने एक मात्र ठाउँ नै लोक सेवा आयोग हो’, कोइरालालाई उद्धृत गर्दै रासस भन्छ, ‘परीक्षा स्वच्छ हुन्छ भनेर नै धेरैले त्यहाँको परीक्षामा सामेल हुन थालेका छन् ।’ तर, सङ्ख्यात्मक हिसाबले बढे पनि गुणस्तर भने नबढेको पूर्वप्रशासक कोइरालाले बताए ।