कानूनको विधार्थीद्वारा बाबुको हत्या

कानूनको विधार्थीद्वारा बाबुको हत्या


लण्डन । एकजना कानूनको विधार्थीलाई हिजो आफ्नै बुवालाई मारेको अपराध अदालतले साबित गरेको छ । बुवाले सानैदेखि कडा नियन्त्रण गरेर धेरै कुराहरुमा प्रतिबन्ध गरेकाले आफ्नै हिसाबले स्वतन्त्र भएर जीवन जिउने अभिलाशामा बुवालाई मारेर जमीनमा गाडेको अपराध गरेको समाचार प्रकाशमा आएको छ । आफ्नो बुवाको कडा प्रतिबन्धबाट वाक्क भएर बुवाको प्रभावबाट उम्केर आफ्नै शैलीमा जीवन जिउनको लागि २२ वर्षीय मार्क अल्याकजेण्डरले ७० वर्षीय बुवा स्यामुयल अल्याक्जेण्डरलाई मारेर प्लास्टिकको थैलोमा हालेर घरको गार्डेनमा गाडेर सिमेन्टको कंक्रिट गरेका थिए । लासलाई गाड्नुअघि उनले जलाउने प्रयास गरेका थिए ।
स्यामुयल अल्याक्जेण्डर सेवा निवृत भएको विश्वविधालयका लेक्चरर थिए । छिमेकीहरुले अल्याक्जेण्डर हराएको उजुरीको अधारमा प्रहरीले उनको लासलाई विगत फरवरी महिनामा घरको गार्डेनबाट खनेर निकालिएको थियो । तर, प्रहरीहरुका अनुसार लाशलाई पोहोर अगस्त महिनातिर नै मारेर गाडेको आशंका गरेका छन् । मार्क अल्याक्जेण्डर लण्डनको किंग्स कलेजमा कानून र फ्रेन्च भाषा अध्यायन गरिरहेका थिए । फरवरी महिनाभन्दा अघि आफ्नो अपराधलाई लुकाउनको लागि आफ्नो बुवाको नामबाट क्रिसमसताका आफन्त इष्टमित्रहरुलाई ग्रिटिंग कार्डहरुमा बुवाको हस्ताक्षर गरेर पठाएको कुरा थाहा हुनआएको छ । छिमेकीहरुले बुवाको बारेमा सोधपुछ गर्दा उनको कुराहरु शंकास्पद भएकोले छिमेकीहरुले प्रहरीलाई अल्याक्जेण्डर हराएको खबर गरिदिएका थिए । स्यामुयल अल्याक्जेण्डरलाई चिन्ने व्यक्तिहरुका अनुसार उनी झग्डालु प्रवृतिको साथै छोराको विषयमा ठूलो महत्वाकांक्षी बनेका थिए । बुवाले आमासँग धेरै पहिले पारपाचुके गरेका थिए र आमा कहाँछिन् भन्ने पनि मार्कलाई थाहा थिएन । बुवाको संरक्षण र नियन्त्रणमा सानैबाट थिचिएर बसेको अनुभूति मार्कलाई भइरहन्थ्यो भन्ने कुरा अनुसन्धानबाट थाहा हुन आएको छ । स्यामुयलले विश्वविधालय पढेका छोरालाई उनको परिक्षाको नतिजाबारे एकदमै सोधपुछ गर्ने गर्दथे । छोरालाई गर्ल फ्रैण्डहरुसँग भेट्ने अनुमति दिँदैनथ्यो, एक प्रकारले कडा नियन्त्रणमा राखेर उनलाई थिचेर राखेका थिए । पोहोर जुलाइमा फ्रान्समा छोरालाई त्यहाँको विश्वविधालयमा थप पढाइका लागि भर्ना गर्न लिएर गएका थिए र उनलाई एकजना फ्रेन्च परिवारको घरमा सँगै बस्ने बन्दोबस्त गरेर फर्केका थिए । तर, मार्कको योजना अर्कै रहेको र आफ्नै हिसाबमा स्वतन्त्र भएर रहने थियो । उनले आफ्नो केटीसाथी सन्ता नजरबेकोवासँग संगै बस्ने योजना बनाएका थिए ।
“मार्क अल्याक्जेण्डरले बुवालाई मारेर गाडेपछि ड्रेटन पार्सलो, बकिंघमको आफ्नो घर छाडेर मार्क लण्डनमा आएर आफ्नै शैलीमा आफ्नो केटीसाथीसँग बस्न थालेका थिए जो कदापि पनि उनको बुवाले यसरी बस्ने अनुमति दिने थिएनन्” भनेर वकील जोहन प्राइसले अदालतमा भनेका थिए । ६ जना साक्षीहरुको बयानको आधारमा अल्याक्जेण्डरलाई १३ घण्टा लामो बहसपछि दोषी साबित गरिएको थियो । तर, अल्याजेण्डरले बुवालाई हत्या गरेको स्वीकारेका छैनन् र भोलि यस कुराको सुनवाइ हुदैछ । श्रोत – नेट, सुमल, मेस ।